प्रस्थान 6 - नेपाली नयाँ संशोधित संस्करण1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “म फारोलाई के गर्नेछु, अब तैंले देख्नेछस्। त्यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्नो देशबाट त्यसले धपाउनेछ।” 2 अनि परमेश्वरले मोशालाई भन्नुभयो, “म परमप्रभु हुँ”। 3 अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ। 4 तिनीहरू प्रवास गरेको देश, अर्थात् कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु। 5 यसबाहेक मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूका कष्टको सुस्केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्झना भएको छ। 6 “यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्नेछु, र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर तिनीहरूलाई ठूलो दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। 7 म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ। 8 अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।” 9 तब मोशाले इस्राएलीहरूलाई त्यसै भनेर सुनाए, तर कठोर दासत्व र नैराश्यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्। 10 अनि परमप्रभुले मोशालाई भन्नुभयो, 11 “जा, मिश्रको राजा फारोलाई त्यसले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस् भन्।” 12 तर मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले मेरो कुरा सुनेनन् भने, म बोल्नै नजान्ने मानिसको कुरा फारोले झन् कसरी सुन्लान् र?” मोशा र हारूनको पुर्ख्यौली 13 तब इस्राएलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोशा र हारूनसित बोल्नुभयो, र इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्याउने आज्ञा तिनीहरूलाई दिनुभयो। 14 तिनीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू यी नै हुन्: इस्राएलका पहिले जन्मेका रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्। 15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन सोहोर र कनानी स्त्रीका छोरा शौल थिए। शिमियोनका वंशहरू यी नै हुन्। 16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार यी नै हुन्: गेर्शोन, कहात र मरारी। लेवी एक सय वर्षसम्म बाँचे। 17 गेर्शोनका छोराहरू तिनका वंशअनुसार लिब्नी र शिमी थिए। 18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्म बाँचे। 19 मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनका पुस्ताअनुसार यी नै हुन्। 20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्माइन्। अम्राम एक सय सैँतीस वर्षसम्म बाँचे। 21 यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए। 22 उज्जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए। 23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्। 24 कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै हुन्। 25 हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एउटीलाई विवाह गरे, र तिनले उनीबाट पीनहासलाई जन्माइन्। लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंश-वंशअनुसार यी नै हुन्। 26 यी तिनै हारून र मोशा हुन्, जसलाई परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका दल-दलअनुसार मिश्रबाट निकालेर ल्याउनू भनी भन्नुभएको थियो। 27 यी तिनै हुन्, जसले मिश्रका राजा फारोसित इस्राएलीहरूलाई मिश्रबाट ल्याउनलाई कुरा गरेका थिए। ती मोशा र हारून यी नै हुन्। हारून मोशाका प्रवक्ता 28 जुन दिन परमप्रभुले मिश्रमा मोशासित कुरा गर्नुभयो, 29 त्यसै दिन यसो भन्नुभयो, “म परमप्रभु हुँ। मैले तँलाई जे-जे कुरा भन्न लागेको छु, ती सबै मिश्रको राजा फारोलाई भन,” 30 तर मोशाले परमप्रभुलाई भने, “म बोल्न जान्दिनँ। फारोले कसरी मेरो कुरा खालान् र?” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society