Online Bible

- Reklamy -

प्रस्थान 5 - नेपाली नयाँ संशोधित संस्करण


परालविनाका इँट

1 त्‍यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘उजाड़-स्‍थानमा मेरो निम्‍ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।”

2 फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्‍दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्‍नँ।”

3 तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट गर्नुभएको छ। बिन्‍ती छ, उजाड़-स्‍थानमा तीन दिनको बाटो गएर हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउन हामीलाई जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढ़ी वा तरवारले प्रहार गर्नुहुनेछ।”

4 तब मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून, तिमीहरू मानिसहरूका काममा किन बाधा गर्छौ? तिमीहरू आफ्‍ना काममा लाग।”

5 फारोले फेरि भने, “हेर, देशका मानिसहरू अब धेरै भएका छन्, र तिमीहरूचाहिँ तिनीहरूलाई काम गर्नबाट रोक्‍न चाहन्‍छौ!”

6 त्‍यही दिन फारोले कामदारहरू र तिनका नाइकेहरूलाई यस्‍तो हुकुम दिए:

7 “इँट बनाउनलाई अहिलेसम्‍म दिने गरेको पराल अब तिनीहरूलाई नदिनू। तिनीहरू आफै गएर आफ्‍ना निम्‍ति पराल बटुलून्‌।

8 तर इँट भने तिनीहरूले अझसम्‍म जति बनाउँदैआएका छन्‌ तिमीहरूले त्‍यति नै बनाउन लगाओ। तिनको संख्‍या कत्ति पनि नघटाओ, किनकि तिनीहरू अल्‍छे भएका छन्‌। यसैले त तिनीहरू ‘हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई जान दिनुहोस्‌’ भन्‍दै कराउँछन्‌।

9 यी मानिसहरूमाथि अझ चर्को काम हालिदेओ, र तिनीहरूले त्‍यसमा परिश्रम गरून्, र झूटा कुरातिर ध्‍यान नदेऊन्।”

10 तब कामदारहरू र नाइकेहरूले गएर मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्‍छ: ‘म तिमीहरूलाई पराल दिन्‍नँ।

11 तिमीहरू आफै गएर जहाँ पाउँछौ त्‍यहीँबाट पराल खोजेर ल्‍याओ। तर तिमीहरूको कामचाहिँ अलिकता पनि घटाइनेछैन’।”

12 यसैले मानिसहरू मिश्रभरि परालका टुक्राटाक्रीहरू बटुल्‍नलाई तितरबितर भएर फिँजिए।

13 ती कामदारहरूले तिनीहरूलाई यसो भन्‍दै आतुरी लाए, “पराल दिँदा दिनमा जति काम गर्थ्‍यौ त्‍यति नै पूरा गर।”

14 इस्राएलीहरूमाथि नियुक्त भएका इस्राएली नाइकेहरूलाई फारोका कामदारहरूले पिटे, र तिनीहरूलाई यसो भनेर सोधे, “अघिझैँ इँट नबनाएर हिजो र आज आफ्‍नो काम किन पूरा गरेनौ?”

15 तब इस्राएली नाइकेहरूले फारोकहाँ गएर बिन्‍ती चढ़ाए, “हजूरका दासहरूप्रति हजूरले किन यस्‍तो व्‍यवहार गर्नुहुन्‍छ?

16 तिनीहरूले हजूरका दासहरूलाई पराल पनि दिँदैनन्, तर तिनीहरू हामीलाई ‘इँट बनाओ’ पनि भन्‍छन्‌। हामी हजूरका दासहरू कुटाइ खाँदैछौं, तर कसूर त हजूरकै मानिसहरूको छ।”

17 तर फारोले भने, “तिमीहरू अल्‍छे छौ, अल्‍छे! यसैकारण तिमीहरू भन्‍छौ, ‘हामीलाई परमप्रभुको निम्‍ति बलि चढ़ाउन जान दिनुहोस्‌।’

18 अब गएर काम गर। परालचाहिँ तिमीहरूलाई दिइनेछैन, तापनि इँटको तोकेको संख्‍या तिमीहरूले दिनैपर्छ।”

19 “दिनहुँ दिनुपर्ने इँटको संख्‍या कम हुनु हुँदैन” भनेको सुनेर इस्राएली नाइकेहरूले सङ्कष्‍टमा परेका थाहा पाए।

20 जब तिनीहरू फारोकहाँबाट निस्‍के तब तिनीहरूले मोशा र हारूनलाई बाटैमा पर्खिरहेका भेट्टाए।

21 तिनीहरूले भने, “परमप्रभुले तपाईंहरूको इन्‍साफ गरून्, किनभने तपाईंहरूले फारो र उनका चाकरहरूको दृष्‍टिमा हामीलाई तिरस्‍कृत तुल्‍याउनुभएको छ, र हामीलाई काट्‌न उनीहरूका हातमा तरवारै दिनुभएको छ।”


परमेश्‍वरले छुटकाराको प्रतिज्ञा गर्नुभएको

22 तब मोशा परमप्रभुकहाँ फर्केर गए, र भने, “हे प्रभु, तपाईंले यी मानिसहरूमा किन सङ्कष्‍ट ल्‍याउनुभएको छ? यसैको लागि मलाई पठाउनुभएको हो?

23 म तपाईंको नाउँमा बोल्‍नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्‌। तर तपाईंले आफ्‍ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy