प्रस्थान 4 - नेपाली नयाँ संशोधित संस्करणमोशाको लागि चिन्हहरू 1 मोशाले भने, “यदि तिनीहरूले मलाई पत्याएनन् र मेरा कुरा नसुनी ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन’ भनेर जवाफ दिए भने, के गर्ने?” 2 तब परमप्रभुले तिनलाई भन्नुभयो, “तेरो हातमा के छ?” तिनले भने, “लट्ठी।” 3 परमप्रभुले भन्नुभयो, “त्यो भूइँमा फाल्।” मोशाले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो, र मोशा त्यसदेखि डराएर भागे। 4 तब परमेश्वरले मोशालाई भन्नुभयो, “तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्।” अनि मोशाले हात लम्काएर समाते, र त्यो तिनको हातमा फेरि लट्ठी नै भइहाल्यो। 5 परमप्रभुले भन्नुभयो, “तिनीहरूले तिनीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भनी तिनीहरूले यही कामबाट पत्याऊन्।” 6 तब परमप्रभुले तिनलाई अझै यसो भन्नुभयो, “तेरो हात आफ्नो खास्टोभित्र हाल्।” तिनले आफ्नो हात खास्टोभित्र हाले, र जब तिनले त्यो बाहिर निकाले, तब त्यो कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ। 7 उहाँले तिनलाई भन्नुभयो, “तेरो हात फेरि खास्टोभित्र हाल्।” तिनले फेरि आफ्नो हात खास्टोभित्र हाले, र जब फेरि निकाले, तब त्यो आफ्नो शरीरको अरू मासुजस्तै भइहाल्यो। 8 तब परमेश्वरले भन्नुभयो, “तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने, शायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्। 9 तर तिनीहरूले यी दुवै चिन्हहरू पनि पत्याएनन् र तेरा कुरा पनि सुनेनन् भने, नील नदीका केही पानी लिएर सुक्खा जमिनमा खन्याइदे। तैंले नील नदीबाट लिएको त्यो पानी जमिनमा रगत हुनेछ।” 10 त्यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्नमा उस्तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्नमा र जिब्रो चलाउनमा ढिलो छु।” 11 परमप्रभुले तिनलाई भन्नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्ने वा अन्धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र? 12 अब जा, म तँलाई बोल्न सहायता गर्नेछु, र तैंले के-के बोल्नुपर्ने हो सो सिकाउनेछु।” 13 तर मोशाले भने, “हे प्रभु, बिन्ती छ, अरू कसैलाई नै पठाउनुहोस्।” 14 तब परमप्रभुको क्रोध मोशामाथि उठ्यो, र उहाँले भन्नुभयो, “के लेवी हारून तेरो दाजु छैन र? मलाई थाहा छ कि त्यो राम्ररी बोल्न सक्छ। त्यो तँलाई भेट्न आउँदैछ, र तँलाई देखेर त्यो खुशी हुनेछ। 15 त्यसैसँग कुरा गर् र त्यसले भन्नुपर्ने कुरा तैंले बता, र म तिमीहरू दुवैसँग हुनेछु र तिमीहरूले के गर्नुपर्ने हो सो बताउनेछु। 16 त्योचाहिँ तेरो निम्ति मानिसहरूसित बोल्नेछ, र तेरो मुखझैँ हुनेछ, र तँचाहिँ त्यसको निम्ति ईश्वरतुल्य हुनेछस्। 17 तर यो लट्ठी तेरो हातैमा लैजा। त्यसद्वारा तैंले यी आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्।” मोशा मिश्रदेशमा फर्केका 18 त्यसपछि मोशा फर्केर आफ्ना ससुरा यित्रोकहाँ आएर तिनलाई भने, “बिन्ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन् कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्।” यित्रोले मोशालाई भने, “हुन्छ, कुशलसित जाऊ।” 19 परमप्रभुले मिद्यान देशमा मोशालाई भन्नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्यान लिन खोज्नेहरू सबै मरिसके।” 20 यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए। 21 तब परमप्रभुले मोशालाई भन्नुभयो, “जब तँ मिश्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्ने गर्। तर म त्यसको हृदय कठोर गरिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। 22 तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: इस्राएल मेरो जेठो छोरो हो। 23 मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्यसले मेरो सेवा गरोस्।” तर तैंले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।” 24 अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो। 25 तर सिप्पोराले एउटा चकमकको कर्द लिएर आफ्नो छोराको खलड़ी च्वाट्टै काटेर मोशाको खुट्टामा छुवाइन्, अनि तिनले भनिन्, “तपाईं मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ।” 26 यसैले परमप्रभुले तिनलाई छोड़िदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, “तपाईं रगतको दुलहा हुनुहुन्छ।” 27 परमप्रभुले हारूनलाई भन्नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्थानतिर जा।” तब उनी परमेश्वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्वाइँ खाए। 28 अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोशाले हारूनलाई बताए। 29 तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्मै धर्म-गुरुहरूलाई जम्मा गरे। 30 अनि परमेश्वरले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए, 31 र मानिसहरूले पत्याए। परमप्रभु इस्राएलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवत् गरी आराधना गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society