प्रस्थान 38 - नेपाली नयाँ संशोधित संस्करणहोमबलिको वेदी 1 तिनले बबुल काठको होम-वेदी बनाए। त्यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्यसको उचाइ तीन हातको थियो। 2 त्यसका चारै कुनामा तिनले सीङहरू बनाए। ती सीङ र वेदी त्यही एउटै टुक्राका थिए, र तिनले त्यो काँसाले मोहोरे। 3 तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू— काँसाका बनाए। 4 वेदीको निम्ति त्यसको मुन्तिर चारैतिर बिटमुनि त्यसको बीचसम्मै पुग्ने काँसाका जालीको एउटा झिँजा तिनले बनाए। 5 त्यस काँसाको झिँजाका चार कुनाका निम्ति डन्डाहरूको घर हुनलाई तिनले चार वटा मुन्द्रा ढाले। 6 डण्डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे। 7 ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा त्यो बोक्नलाई हाले। तिनले ती फल्याकबाट त्यो खोक्रो बनाए। 8 तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्यसका खुट्टा बनाए। चोक 9 तब तिनले चोक बनाए। त्यसको दक्षिण भागको लमाइ एक सय हातको थियो, र त्यसको मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू थिए। 10 तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका थिए। खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए। 11 उत्तरका भागको निम्ति पनि सय हातका पर्दाहरू, र तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै थिए, सबै काँसाका। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। 12 पश्चिमतर्फको निम्ति पचास हातका पर्दाहरू थिए। तिनका खम्बाहरू दश वटा र आधारहरू दश वटै थिए, तर खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए। 13 पूर्व वा सूर्योदयतर्फको चौड़ाइ पचास हातको थियो। 14 मूल ढोकाको एकातर्फको निम्ति पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै थिए। 15 अर्को तर्फको निम्ति यस्तै थियो। चोकको ढोकाको दायाँ र बायाँ पन्ध्र-पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र तिनका आधारहरू तीन वटै थिए। 16 चोकका चारैपट्टि सबै पर्दाहरू मसिनो गरी बाटेका सूती कपड़ाका थिए। 17 खम्बाका आधारहरू काँसाका थिए, तर खम्बाका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। तिनका टुप्पाहरू चाँदीले मोहोरिएका थिए। चोकका सबै खम्बाहरूका फित्ताहरू चाँदीका थिए। 18 चोकको मूल ढोकाको पर्दा बुट्टा हाल्नेको काम भएको नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनिएको थियो। त्यसको लमाइ बीस हात र उचाइ चोकका पर्दाको बराबर पाँच हातको थियो। 19 तिनका खम्बाहरू चार वटा र तिनका काँसाका आधारहरू चार वटै थिए। तिनका अङ्कुसे र फित्ताहरू चाँदीका थिए, र तिनका टुप्पाहरू पनि चाँदीले मोहोरिएका थिए। 20 पवित्र वासस्थान र त्यसको वरिपरिको चोकका सबै कीलाहरू काँसाका थिए। निर्माणको निम्ति सामानहरू 21 पवित्र वासस्थान, अर्थात् गवाहीका मण्डपको निम्ति चलाइएका सामानको जुन गन्ती मोशाको आज्ञाबमोजिम हारून पूजाहारीका छोरा ईतामारद्वारा लेवीहरूले गरेका थिए, त्यसको वर्णन यही हो। 22 (परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले सबै थोक बनाए। 23 तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।) 24 पवित्रस्थानका सबै कामका निम्ति डोलाउने बलिको जम्मै सुन, पवित्रस्थानको शेकेलको हिसाबअनुसार २९ तोड़ा र ७३० शेकेलको थियो। 25 समुदायमा गन्ती भएका मानिसहरूका चाँदी पवित्रस्थानको शेकेलको हिसाबअनुसार एक सय तोड़ा र सत्र सय पचहत्तर शेकेलको थियो— 26 जति जना बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका मानिसहरूमा गनिएका थिए, ती छ लाख तीन हजार पाँच सय पचास मानिसहरू हरेकबाट एक-एक बेका, अर्थात् पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल थियो। 27 एक सय तोड़ाचाहिँ पवित्रस्थान र पर्दाका आधारहरू ढाल्नका निम्ति थियो। सब आधारहरूमा सय तोड़ा थियो— एक आधारको निम्ति एक तोड़ा। 28 ती सत्र सय पचहत्तर शेकेलबाट तिनीहरूले टुप्पाहरूका निम्ति अङ्कुसे बनाए, तिनका टुप्पाहरू मोहोरे र तिनका निम्ति फित्ताहरू बनाए। 29 डोलाइने बलिको काँसो सत्तरी तोड़ा र दुई हजार चार सय शेकेलको थियो। 30 तिनैबाट तिनीहरूले भेट हुने पालको ढोकाको निम्ति आधारहरू, काँसाको वेदी र त्यसका काँसाको झिँजा र वेदीका सबै सामान, 31 र चारैतर्फको चोकका आधारहरू र चोकको मूल ढोकाका आधारहरू, र पवित्र वासस्थानका सबै कीलाहरू र चोकका चारैतर्फका सबै कीलाहरू बनाए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society