Online Bible

- Reklamy -

प्रस्थान 35 - नेपाली नयाँ संशोधित संस्करण


शबाथ-दिनको विधि

1 मोशाले इस्राएलीहरूका सारा समुदायलाई भेला गराएर तिनीहरूलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएका तिमीहरूले गर्नुपर्ने कुरा यी नै हुन्‌:

2 छ दिनसम्‍म काम गरिओस्, तर सातौँचाहिँ दिन तिमीहरूका निम्‍ति पवित्र हो। त्‍यो परमप्रभुको निम्‍ति शबाथ हो। कसैले त्‍यस दिन काम गर्‍यो भने त्‍यो मारिओस्‌।

3 तिमीहरूका कुनै घरमा पनि शबाथमा आगो नफुक्‍नू।”


पवित्र वासस्‍थानको लागि सामग्री

4 मोशाले इस्राएलीहरूका सारा समुदायलाई यसो भने, परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो:

5 आफ्‍ना बीचबाट परमप्रभुको निम्‍ति भेटी ल्‍याओ। राजीखुशीसँग दिन चाहनेले परमप्रभुका भेटीको रूपमा यी कुरा ल्‍याओस्‌: सुन, चाँदी र काँसा,

6 नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा, र बाख्राको भुत्‍ला,

7 रातो रङ्गले रङ्गाएको भेड़ाका छाला, सीलका छाला, र बबुल काठ,

8 प्रकाशको निम्‍ति तेल, र अभिषेक गर्ने तेलको निम्‍ति र सुगन्‍धित धूपको निम्‍ति मसला,

9 एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू।

10 “तिमीहरूमध्‍येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्‌:

11 पवित्र वासस्‍थान र त्‍यसको पाल, पालका छत, अङ्‌कुसेहरू, फल्‍याकहरू, बारहरू, खम्‍बाहरू र आधारहरू,

12 सन्‍दूक र त्‍यसका डन्‍डाहरू, कृपा-आसन र छेक्‍ने पर्दा,

13 टेबिल र त्‍यसका डन्‍डाहरू र त्‍यसका सबै पात्रहरू र उपस्‍थितिको रोटी,

14 बत्तीको निम्‍ति सामदान र त्‍यसका दियाहरू, र बत्तीको निम्‍ति तेल,

15 धूपको वेदी र त्‍यसका डन्‍डाहरू, अभिषेक गर्ने तेल, सुगन्‍धित धूप, पवित्र वासस्‍थानको ढोकाका पर्दा,

16 होमबलिको वेदी र त्‍यसका काँसाको जाली, त्‍यसका डन्‍डाहरू र सबै पात्रहरू, काँसाको धुने बाटा, त्‍यसका खुट्टासमेत,

17 चोकका पर्दाहरू र त्‍यसका खम्‍बाहरू र त्‍यसका आधारहरू, चोकको मूल ढोकाको निम्‍ति पर्दा,

18 पवित्र वासस्‍थान र चोकका कीलाहरू र तिनका डोरीहरू,

19 पवित्रस्‍थानमा सेवा गर्नका निम्‍ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”

20 तब इस्राएलका सारा समुदाय मोशाका सामुबाट बिदा भए।

21 जस-जसका हृदय प्रेरणाले भरिए र जसका मन इच्‍छुक भए, तिनीहरूले भेट हुने पालको काम, त्‍यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्‍ति परमप्रभुको लागि भेटी ल्‍याए।

22 राजीखुशी मन भएका पुरुष र स्‍त्री दुवैले सबै किसिमका सुनका गहना ल्‍याए: पीन, कुण्‍डल, औँठी र सिङ्गारका सामानहरू। तिनीहरूले आफ्‍ना सुन परमप्रभुलाई डोलाउने भेटीको रूपमा चढ़ाए।

23 जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्‍ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्‍याए।

24 चाँदी र काँसाका भेटी चढ़ाउने सबैले परमप्रभुको निम्‍ति भेटीको रूपमा ल्‍याए। जस-जसकहाँ सेवाको कुनै कामको निम्‍ति बबुल काठ थियो, त्‍यो तिनीहरूले ल्‍याए।

25 आफ्‍ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्‍त्रीहरूले ती ल्‍याए।

26 राजीखुशीसँग गर्न चाहने र दक्षता भएका स्‍त्रीहरूले बाख्राका भुत्‍ला काते।

27 नायकहरूले एपोद र छाती-पातामा जड्‌नका निम्‍ति आनिक्‍स र अरू मणिहरू ल्‍याए।

28 बत्ती, अभिषेक गर्ने तेल र सुगन्‍धित धूपको निम्‍ति मसला र तेल ल्‍याए।

29 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्‍ति मनमा इच्‍छुक भएका इस्राएलीहरूका हरेक स्‍त्री र पुरुषले राजीखुशीका भेटी ल्‍याए।

30 तब मोशाले इस्राएलीहरूलाई भने, “हेर, परमप्रभुले यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेललाई बोलाउनुभएको छ।

31 उहाँले तिनलाई परमेश्‍वरका आत्‍माले, सीप, दक्षता र सबै किसिमका कारीगरीको ज्ञानले परिपूर्ण पार्नुभएको छ।

32 तिनले सुन, चाँदी, काँसामा कलापूर्ण आकार कोर्ने,

33 र पत्‍थर काट्‌ने र जड्‌ने, काठ खोप्‍ने र सबै किसिमका कारीगरीका काम गरून्‌ भन्‍ने ध्‍येयले हो।

34 तिनले र दानका कुलका अहीसामाकका छोरा ओहोलीआबले अरूहरूलाई सिकाऊन्‌ भनेर उहाँले तिनीहरूलाई प्रेरणा दिनुभएको छ।

35 तिनीहरूले सबै किसिमका शिल्‍पकारी, चित्र बनाउने काम, नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्ने र बुन्‍ने काममा, सबै किसिमका शिल्‍पकारी र कलाकारका निपुण काम गरून्‌ भनी तिनीहरूलाई उहाँले दक्षताले परिपूर्ण पार्नुभएको छ।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy