प्रस्थान 3 - नेपाली नयाँ संशोधित संस्करणमोशा र जलिरहेको पोथ्रा 1 मोशाले आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्थानको पारितिर परमेश्वरको पर्वत, अर्थात् होरेबसम्मै लगे। 2 त्यहाँ एउटा जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे। त्यो पोथ्रा जलिरहेको थियो— तापनि भस्म हुँदैनथ्यो। 3 मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदोरहेनछ?” 4 जब हेर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राको बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो। अनि तिनले भने “म यहीँ छु।” 5 तब परमेश्वरले भन्नुभयो, “यता नजिक नआइज। तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।” 6 उहाँले अझै भन्नुभयो, “म तेरा पिता-पुर्खाका परमेश्वर हुँ। अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।” तब मोशाले आफ्नो मुख ढाके, किनकि तिनी परमेश्वरलाई हेर्न डराए। 7 तब परमप्रभुले भन्नुभयो, “मिश्रमा भएका मेरा प्रजाको दु:ख मैले देखेको छु, र कामदारहरूको अत्याचारमा तिनीहरूले पुकारा गरेका मैले सुनेको छु। तिनीहरूको दु:ख मलाई थाहा छ। 8 यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात् दूध र मह बग्ने देश— कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूका देशमा ल्याउनलाई म ओर्लिएको छु। 9 अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्याचार मैले देखेको छु। 10 यसकारण अब जा, मेरा प्रजा, अर्थात् इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फारोकहाँ पठाउँदैछु।” 11 तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?” 12 अनि परमेश्वरले भन्नुभयो, “म तँसित हुनेछु, र मैले तँलाई पठाएको हुँ भन्ने कुराको चिन्ह तँलाई यो हुनेछ: जब तैंले ती मानिसहरूलाई मिश्रबाट निकालेर ल्याउनेछस्, तब तिमीहरूले यही पर्वतमा परमेश्वरको आराधना गर्नेछौ।” 13 मोशाले परमेश्वरलाई भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो,’ तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने?” 14 तब परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ।” फेरि उहाँले भन्नुभयो, इस्राएलीहरूलाई तैंले यसो भन्नू, “म हुँ” भन्नेले तिमीहरूकहाँ मलाई पठाउनुभएको हो। 15 परमेश्वरले मोशालाई यो पनि भन्नुभयो, “इस्राएलीहरूलाई भन्, परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो। मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। 16 “जा, गएर इस्राएलका धर्म-गुरुहरूलाई जम्मा गरेर तिनीहरूलाई भन्: ‘परमप्रभु, तिमीहरूका पिता-पुर्खाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर मकहाँ प्रकट भएर भन्नुभयो, मैले तिमीहरूको हेर-विचार गरेको छु र मिश्रमा तिमीहरूले जे भोग्दैछौ सो मैले देखेको छु। 17 मैले तिमीहरूलाई मिश्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश, एउटा दूध र मह बग्ने देशमा लैजाने निश्चय गरेको छु’।” 18 “इस्राएलका धर्म-गुरुहरूले तेरो कुरा सुन्नेछन्। तब तँ र इस्राएलका ती धर्म-गुरुहरू मिश्रका राजाकहाँ जानेछौ, र तिमीहरूले त्यसलाई भन्नेछौ, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभएको छ, र अब हामी बिन्ती गर्दछौं, कि परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि चढ़ाउनलाई उजाड़-स्थानमा हामीलाई तीन दिनको यात्रामा जाने अनुमति दिनुहोस्।’ 19 तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ। 20 यसकारण म मेरो हात उठाएर त्यहाँ तिनीहरूका बीचमा मेरा सारा आश्चर्यकर्महरूद्वारा मिश्रीहरूलाई प्रहार गर्नेछु, र त्यसपछि उनले तिमीहरूलाई जान दिनेछन्। 21 “म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ। 22 हरेक स्त्रीले आफ्नो छिमेकी र त्यसको घरमा बस्ने स्त्रीलाई सुन र चाँदीका गहनाहरू र लुगाफाटाहरू माग्नेछ, र तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society