प्रस्थान 15 - नेपाली नयाँ संशोधित संस्करणमोशाले गाएको स्तुति 1 तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्तुति गाए: “म परमप्रभुको स्तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ। 2 परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ, र उहाँ मेरो मुक्ति हुनुभएको छ। उहाँ मेरा परमेश्वर हुनुहुन्छ, म उहाँको स्तुति गर्नेछु। मेरा पिता-पुर्खाका परमेश्वर, म उहाँको नाउँ उच्च पार्नेछु। 3 परमप्रभु नै योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो। 4 फारोका रथहरू र उनका सेनालाई समेत उहाँले समुद्रमा फालिदिनुभएको छ। फारोका सर्वश्रेष्ठ अधिकृतहरू लाल समुद्रमा डुबे। 5 गहिरा पानीले उनीहरूलाई छोपे। उनीहरू ढुङ्गाझैँ गहिराइमा डुबे। 6 हे परमप्रभु, तपाईंको दाहिने बाहुली शक्तिमा प्रतापी थियो, हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुहरूलाई चकनाचूर पार्यो। 7 तपाईंका विरुद्धमा उठ्नेहरूलाई तपाईंका गौरवको उच्चतामा तपाईंले तल झार्नुभयो। तपाईंले आफ्नो जल्दो क्रोध प्रकट गर्नुभयो, र त्यसले उनीहरूलाई ठोसाझैँ भस्म पार्यो। 8 तपाईंका नाकको सासले पानीको थुप्रो लाग्यो, उर्लिंदो पानी एकै थुप्रो भई पर्खालजस्तो स्थिर भई उभियो, गहिरो पानी समुद्रको बीचमा जम्यो। 9 “शत्रुले धाक लगायो, ‘म तिनीहरूलाई खेदेर भेट्टाउनेछु, लुटिएका मालहरू म बाँड्नेछु। तिनीहरूमा म टन्न भोज गर्नेछु। म मेरो तरवार थुत्नेछु, र मेरो हातले तिनीहरूलाई नष्ट पार्नेछु।’ 10 तर तपाईंले आफ्नो सास फुक्नुभयो, र समुद्रले उनीहरूलाई छोप्यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे। 11 हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र? 12 तपाईंले आफ्नो दाहिने बाहुली पसार्नुभयो, र पृथ्वीले उनीहरूलाई निलिहाल्यो। 13 “तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्नो नचुक्ने प्रेममा डोर्याउनुहुनेछ। तपाईंले आफ्नो शक्तिद्वारै तिनीहरूलाई आफ्नो पवित्र वासस्थानमा अगुवाइ गर्नुहुनेछ। 14 जातिहरूले सुन्नेछन् र काम्नेछन्। पलिश्त देशमा वास गर्नेहरूलाई पीडाले पक्रनेछ। 15 एदोमका अधिपतिहरू भयभीत हुनेछन्, मोआबका नेताहरूलाई कम्पले पक्रनेछ। कनानका सारा बासिन्दाहरू पग्लनेछन्, डर र त्रास उनीहरूमाथि पर्नेछ। 16 हे प्रभु, तपाईंका प्रजा पार नहोउञ्जेल, तपाईंले किन्नुभएका प्रजा पार नहोउञ्जेल तपाईंका पाखुराको शक्तिले उनीहरू पत्थरझैँ अचल रहनेछन्। 17 तपाईंले तिनीहरूलाई ल्याएर तपाईंको आफ्नो उत्तराधिकारको पर्वतमा रोप्नुहुनेछ— त्यसै ठाउँमा, हे परमप्रभु, जो तपाईंले आफ्नो वासको निम्ति बनाउनुभयो, त्यही पवित्रस्थानमा, हे परमप्रभु, जो तपाईंका बाहुलीहरूले स्थापना गरे। 18 परमप्रभुले सदासर्वदै राज्य गर्नुहुनेछ।” 19 जब फारोका घोड़ाहरू र उनका रथहरू र घोड़चढ़ीहरू समुद्रमा परे, तब परमप्रभुले उनीहरूमाथि समुद्रको पानी फर्काएर ल्याउनुभयो, तर इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। मिरियमको स्तुतिगान 20 तब हारूनकी दिदी, मिरियम अगमवादिनीले हातमा खैँजड़ी लिइन्, र सबै स्त्रीहरू पनि खैँजड़ी लिएर नाच्दै तिनका पछिपछि निस्के। 21 मिरियम यसो भन्दै गाउन लागिन्: “परमप्रभुको स्तुति गाओ, किनभने उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।” मारा र एलीमका पानी 22 तब मोशाले इस्राएलीहरूलाई लाल समुद्रबाट अगि डोराएर लगे, र तिनीहरू शूरको उजाड़-स्थानतिर लागे। उजाड़-स्थानमा हिँड्दा तीन दिनसम्म तिनीहरूले पानी पाएनन्। 23 अनि मारा भन्ने ठाउँमा आएपछि माराको पानी तिनीहरूले खान सकेनन्, किनकि त्यो तीतो थियो। (यसैले त्यसको नाउँ मारा भयो।) 24 यसकारण मानिसहरू “हामीले के पिउने?” भनेर मोशासित गनगनाउन लागे। 25 तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्यो पानीमा हाल्दा पानी मीठो भयो। त्यहीँ नै परमप्रभुले तिनीहरूका निम्ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो। 26 र उहाँले भन्नुभयो, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरका कुरा ध्यानसित सुन्यौ, उहाँको दृष्टिमा जे ठीक छ सो गर्यौ, र उहाँका आज्ञाहरूमा ध्यान लगायौ, र उहाँका सबै विधिहरू मान्यौ भने, जुन रोगहरू मैले मिश्रीहरूमाथि ल्याएको थिएँ, तीमध्ये एउटै पनि तिमीहरूमाथि ल्याउनेछैनँ, किनकि तिमीहरूलाई निको पार्ने म परमप्रभु हुँ।” 27 अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका बोटहरू थिए। तिनीहरूले त्यही पानीनेर पाल टाँगे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society