प्रस्थान 12 - नेपाली नयाँ संशोधित संस्करणनिस्तार-चाडको स्थापना 1 मिश्रदेशमा परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, 2 “यो महिनाचाहिँ तिमीहरूका निम्ति महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। 3 इस्राएलका सारा समुदायलाई यसो भन, कि महिनाको दशौँ दिनमा तिनीहरू हरेकले आ-आफ्नो परिवारको निम्ति, हरेक घरानाअनुसार एउटा-एउटा पाठो ल्याएर राखोस्। 4 कसैको घरानामा एउटा पाठाको लागि मानिस थोरै भए त्यसले आफ्नो घरका नजिकको छिमेकीसँग मानिसहरूको गन्तीअनुसार मिलोस्। हरेक मानिसको खुवाइअनुसार पाठोको गन्ती गर्नू। 5 तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू। 6 त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून्। 7 तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन्। 8 तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्। तीतो सागसित तिनीहरूले त्यो खाऊन्। 9 त्यो काँचै नखाओ, पानीमा उमालेर पनि होइन, तर आगोमा पोलेर त्यसका शिर, खुट्टाहरू र भित्री भागहरूसमेत खाओ। 10 त्यसबाट केही पनि बिहानसम्म नउबार्नू, तर केही बिहानसम्म रह्यो भने त्यो आगोमा जलाइदिनू। 11 पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू। यो परमप्रभुको निस्तार-चाड़ हो। 12 “त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु। म परमप्रभु हुँ। 13 तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ। जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोड़िदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन। 14 “त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड़ मनाउनेछौ। तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू। 15 सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू। पहिलो दिनमा नै तिमीहरूले आ-आफ्नो घरबाट खमिर निकाल्नू, किनभने जसले पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाला त्यो मानिस इस्राएलबाट बहिष्कृत हुनेछ। 16 पहिलो दिनमा तिमीहरूले एउटा पवित्र सभा राख्नू, सातौँ दिनमा अर्को। ती दिनमा कुनै किसिमको काम नगर्नू, केवल हरेक मानिसले खानका निम्ति जति गर्नुपर्छ त्यति मात्र गर्नू। 17 “तिमीहरूले अखमिरी रोटीको चाड़ मान्नू, किनकि यही दिनमा नै मैले तिमीहरूका दल-दललाई मिश्रबाट ल्याएको हुँ। यसकारण त्यो दिन तिमीहरूले पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू। 18 पहिलो महिनाको चौधौँ दिनको बेलुकीदेखि एक्काईसौँ दिनको बेलुकासम्म खमिर नहालेको रोटी खानू। 19 सात दिनसम्म तिमीहरूका घरमा केही खमिर नहोस्। कसैले खमिर भएको केही खायो भने त्यो चाहे प्रवासी होस्, चाहे स्वदेशी होस्, त्यो इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ। 20 तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरू जहाँ बसे पनि खमिर नहालेको रोटी खानू।” 21 तब मोशाले इस्राएलका सबै धर्म-गुरुहरूलाई बोलाउन पठाएर तिनीहरूलाई भने, “गएर आ-आफ्नो परिवारअनुसार एउटा-एउटा थुमा निकाल, र निस्तार-चाड़का बलिको निम्ति मार। 22 हिसपको झुप्पा भाँड़ाको रगतमा चोपेर ढोकाको चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा छ्याप्नू। तिमीहरूमध्ये कोही पनि बिहानसम्म घरको ढोकाबाहिर ननिस्कनू। 23 जब परमप्रभु मिश्रीहरूलाई प्रहार गर्न देश भएर जानुहुनेछ, तब उहाँले चौकोसको माथिल्लो भाग र दुवैतिरका खम्बामा रगत देख्नुहुनेछ, र त्यस ढोकालाई छोड़ेर, निस्तार गरी, विनाश पार्नेलाई तिमीहरूका घरमा तिमीहरूलाई मार्न पस्न दिनुहुन्न। 24 “तिमीहरूले यी कुरा सदाको निम्ति एक रहिरहने विधि स्वरूप आफू र आफ्ना भावी सन्तानका लागि मान्नू। 25 जब तिमीहरू परमप्रभुले प्रतिज्ञा गरेर दिनुभएको देशमा पस्नेछौ, तब तिमीहरूले यो चाड़ मान्नू। 26 जब तिमीहरूका छोराछोरीले यस चाड़को अर्थ के हो भनी सोध्छन्, 27 तब तिमीहरूले भन्नू, ‘यो परमप्रभुको निस्तार-चाड़को बलिदान हो। उहाँ मिश्रमा इस्राएलीहरूका घरहरूबाट भएर जानुभयो, र उहाँले मिश्रीहरूलाई प्रहार गर्नुहुँदा हामीहरूका घरचाहिँ उहाँले छोड्नुभएको थियो’।” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। 28 अनि इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ गरे। 29 मध्यरातमा सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर झ्यालखानमा हुने कैदीको जेठो छोरासम्म, सबै गाईबस्तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्मेकाहरू परमप्रभुले मार्नुभयो। 30 फारो, उनका सबै अधिकारीहरू, र सारा मिश्रीहरू राती नै उठे। मिश्रमा ठूलो रुवाबासी भयो, किनकि त्यहाँ एउटा नमरेको कुनै घर थिएन। प्रस्थान 31 फारोले राती नै मोशा र हारूनलाई बोलाउन पठाएर भने, “तिमीहरू र सबै इस्राएलीहरू मेरा प्रजाका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भनेबमोजिम परमप्रभुको आराधना गर। 32 तिमीहरूले भनेबमोजिम आ-आफ्ना भेड़ाबाख्रा र गाईबस्तु लिएर गइहाल। मलाई पनि आशीर्वाद देओ।” 33 मिश्रीहरूले इस्राएलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौं।” 34 यसैले इस्राएलीहरूले आ-आफ्नो मुछेको पीठो खमिर हाल्न अघि नै उठाए, र तिनीहरूले आ-आफ्नो मुछ्ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले। 35 मोशाले भनेबमोजिम इस्राएलीहरूले गरे, र तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे। 36 परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूप्रति कृपालु बनाइदिनुभएको थियो, र मिश्रीहरूले तिनीहरूलाई मागेअनुसार सबै दिए। यसरी तिनीहरूले मिश्रीहरूलाई लुटे। 37 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए। 38 तिनीहरूका साथमा अरू मानिसहरू र थुप्रै भेड़ाबाख्रा र गाईबस्तु पनि लगे। 39 तिनीहरूले आफूसाथ मिश्रबाट ल्याएको, मुछेको पीठोको अखमिरी रोटी बनाए। त्यो खमिरा भएको थिएन, किनभने तिनीहरू मिश्रबाट धपाइँदा आफ्ना निम्ति भोजन बनाउने पनि तिनीहरूले समय पाएका थिएनन्। 40 इस्राएलीहरू मिश्रमा प्रवास गरेका चार सय तीस वर्ष भएको थियो। 41 चार सय तीस वर्ष बितेकै दिन परमप्रभुका सम्पूर्ण दलहरू मिश्रबाट निस्के। 42 तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउन त्यस रात परमप्रभु जागरण बस्नुभएकोले, इस्राएलीहरूले पनि त्यही रात जागरण बसी पुस्तौँसम्म परमप्रभुलाई आदर गरून्। निषेधक कुरा 43 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “निस्तार-चाड़का विधिहरू यी नै हुन्: “कोही विदेशीले त्यसबाट नखाओस्। 44 तर किनिएको हरेक कमाराले खतना गरेपछि मात्र खाओस्, 45 तर परदेशी र ज्यालादारी नोकरले त्यो नखाओस्। 46 “त्यो एउटै घरमा खाइनेछ। त्यसको मासुबाट केही पनि घरबाट बाहिर नलैजानू, न त त्यसका कुनै हाड़ भाँच्नू। 47 इस्राएलको सारा समुदायले त्यो पालन गरोस्। 48 “तँसित प्रवास गर्ने कोही परदेशी छ, र परमप्रभुको निस्तार-चाड़ मनाउन त्यसले इच्छा गर्छ भने, त्यसको घरका सबै पुरुषको खतना होस्। तब त्यसले त्यो देशमै जन्मेको जस्तो गरी सो चाड़मा भाग लिन सक्छ। खतना नभएको कुनै मानिसले त्यो नखाओस्। 49 स्वदेशी र तिमीहरूका बीचमा प्रवास गर्ने परदेशीको निम्ति समान नियम हुनेछ।” 50 परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार सारा इस्राएलीहरूले गरे। 51 ठीक त्यही दिन इस्राएलीहरूलाई तिनीहरूका दल-दल गरी परमप्रभुले मिश्रबाट निकालेर ल्याउनुभयो। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society