प्रस्थान 11 - नेपाली नयाँ संशोधित संस्करणअन्तिम विपत्तिको सूचना 1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अझै एउटा विपत्ति म फारो र मिश्रमाथि ल्याउनेछु। त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ, र त्यसो गर्दा तिमीहरूलाई यहाँबाट पूर्ण रूपले निकालिदिनेछ। 2 अब मानिसहरूलाई भन्, कि तिनीहरू हरेक पुरुष र स्त्रीले आ-आफ्ना छिमेकीसित सुन र चाँदीका गरगहना मागोस्।” 3 (अनि परमप्रभुले मिश्रीहरूलाई ती मानिसहरूप्रति कृपालु बनाइदिनुभयो। त्यसबाहेक मोशा मिश्रदेशमा फारोका अधिकारीहरू र समाजका दृष्टिमा महान् ठानिए।) 4 यसैले मोशाले भने, “परमप्रभु यसो भन्नुहुन्छ: ‘मध्यराततिर म मिश्रको बीचबाट भएर जानेछु। 5 सिंहासनमा बस्ने फारोको जेठो छोरादेखि लिएर जाँतो पिँध्ने कमारीको जेठो छोरासम्म, गाईबस्तुका सबै पहिले बियाएका समेत, मिश्रका पहिले जन्मेका सबै मर्नेछन्। 6 सारा मिश्रभरि अघि कहिल्यै नसुनिएको क्रन्दन सुनिनेछ, जो फेरि सुनिनेछैन। 7 तर पशुको विरुद्धमा होस् वा मान्छेको विरुद्धमा होस् इस्राएलीहरूका बीचमा एउटा कुकुर पनि भुक्नेछैन’। तब तिमीहरूले थाहा पाउनेछौ कि परमप्रभुले मिश्रीहरू र इस्राएलीहरूमा भेद राख्नुहुन्छ। 8 अनि तेरा यी सबै अधिकारीहरू मकहाँ आएर मलाई दण्डवत् गरेर भन्नेछन्, ‘तपाईंका पछि लाग्ने सारा मानिसहरूसमेत तपाईं निस्किजानुहोस्।’ त्यसपछि म निस्किजानेछु।” तब मोशा अत्यन्त क्रोधित भएर फारोकहाँबाट गइहाले। 9 परमप्रभुले मोशालाई भन्नुभएको थियो, “मिश्रमा मेरा आश्चर्यका कामहरू अझ बढ्दैजाऊन् भनेर फारोले तेरो कुरा सुन्नेछैन।” 10 मोशा र हारूनले यी सबै आश्चर्यका कामहरू फारोको सामु गरे। तर परमप्रभुले फारोको हृदय कठोर गराइदिनुभयो, र उनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society