Online Bible

- Reklamy -

प्रस्थान 1 - नेपाली नयाँ संशोधित संस्करण


मिश्रमा इस्राएलीहरूमाथि अत्याचार

1 आ-आफ्‍नो परिवार लिएर याकूबसित मिश्रमा आउने इस्राएलका छोराहरूका नाउँ यी नै हुन्‌:

2 रूबेन, शिमियोन, लेवी र यहूदा,

3 इस्‍साखार, जबूलून, र बेन्‍यामीन,

4 दान, नप्‍ताली, गाद र आशेर।

5 याकूबका सन्‍तानमा जम्‍मा सत्तरी जना थिए। योसेफचाहिँ अघिबाटै मिश्रमा थिए।

6 योसेफ र तिनका सबै दाजुभाइहरू र त्‍यस पुस्‍ताका सबै जना मरे।

7 तर इस्राएलका सन्‍तान फल्‍दै-फुल्‍दै र संख्‍यामा अति धेरै हुँदैगए, यहाँसम्‍म कि सारा देश तिनीहरूद्वारा भरियो।

8 तब मिश्रमा योसेफलाई नचिन्‍ने एक जना नयाँ राजाले शासन गर्न थाले।

9 उनले आफ्‍ना प्रजालाई भने, “हेर, इस्राएलीहरू संख्‍यामा हामीभन्‍दा अति धेरै र अति शक्तिशाली भएका छन्‌।

10 अब हामीले तिनीहरूसित बुद्धिले काम लिनुपर्छ, नत्रता तिनीहरू संख्‍यामा अझ बढ्‌दैजानेछन्, र यदि युद्ध भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हाम्रै विरुद्धमा लड़ाइँ गर्नेछन्‌ र देश छाड़ेर जानेछन्‌।”

11 यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए।

12 तर जति-जति उनीहरूले तिनीहरूलाई सताए उति-उति तिनीहरूको संख्‍या बढ्‌न लाग्‍यो, र तिनीहरू झन्‌-झन्‌ फैलिँदैगए। यसैले इस्राएली जातिसँग उनीहरू डराउन लागे।

13 यसकारण मिश्रीहरूले इस्राएली जातिलाई निर्दयपूर्वक काममा लगाए,

14 अनि मसला र इँटको र खेतका सबै किसिमका कठोर काम गर्न लगाएर तिनीहरूको जीवनै तीतो बनाइदिए।

15 तब मिश्रका राजाले शिप्रा र पूआ नाउँ भएका हिब्रू सुँड़ेनीहरूलाई बोलाएर भने,

16 “जब हिब्रू स्‍त्रीहरूले बच्‍चा जन्‍माउँछन्‌ र उनीहरूलाई जन्‍माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्‍यसलाई मार। तर छोरी रहिछ भने त्‍यसलाई जिउँदै राख।”

17 तर सुँड़ेनीहरू परमेश्‍वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे।

18 यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्‍यौ?”

19 सुँड़ेनीहरूले फारोलाई भने, “हिब्रू स्‍त्रीहरू मिश्री स्‍त्रीहरूजस्‍ता छैनन्‌। तिनीहरू हट्टाकट्टा छन्, र सुँड़ेनी पुग्‍नुभन्‍दा अघि नै बच्‍चा जन्‍माइसकेका हुन्‍छन्‌।”

20 अनि परमेश्‍वरले सुँड़ेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्‍यामा झन्‌ बढ्‌दैगए र शक्तिशाली भए।

21 सुँड़ेनीहरूले परमेश्‍वरको डर मानेका हुनाले उहाँले तिनीहरूलाई सन्‍तान दिनुभयो।

22 तब फारोले आफ्‍ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्‍मन्‍छन्‌ तिनीहरू सबैलाई नील नदीमा फालिदिनू, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्‍नू।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy