Online Bible

- Reklamy -

एस्‍तर 7 - नेपाली नयाँ संशोधित संस्करण


हामानको फाँसी भएको

1 तब राजा र हामान रानी एस्‍तरसित भोजन गर्न गए।

2 त्‍यस दिन पनि दाखमद्य पिउँदै राजाले फेरि भने, “रानी एस्‍तर, तिम्रो बिन्‍ती के हो? मलाई भन। मेरो आधा राज्‍यसम्‍म मागे तापनि त्‍यो पूरा गरिदिनेछु।”

3 तब रानी एस्‍तरले जवाफ दिइन्, “यदि मैले महाराजाको निगाह प्राप्‍त गरेकी छु, र हे राजा, यदि महाराजाको मर्जी भए बिन्‍ती यही छ कि मेरो आफ्‍नो ज्‍यान र मेरो जातिको ज्‍यान जोगाइबक्‍सिओस्‌।

4 किनभने म र मेरो जाति नाश गरिन, मारिन र नाउँनिशानै मेटिनलाई बेचिएका छौं। यदि हामी, पुरुष र स्‍त्री सबैलाई दासत्‍वमा बेच्‍ने कुरो मात्र भएको भए त म चूपै लागिरहनेथिएँ। किनभने त्‍यति मात्र कुराले त महाराजालाई झिजो गर्नु न्‍यायसङ्गत हुनेथिएन।”

5 राजा अहासूरसले एस्‍तर रानीलाई भने, “यस्‍तो काम गर्न आँट गर्ने मानिस कहाँ छ? त्‍यो को हो?”

6 एस्‍तरले भनिन्, “त्‍यो विरोधी र शत्रु यही दुष्‍ट हामान हो।” तब राजा र रानीको सामुन्‍ने हामान डरले अवाक्‌ भए।

7 तब राजा रीसले चूर भएर उठे, र मद्य पिउन छोड़ेर महलको बगैँचामा गए। तर हामानचाहिँ राजाले मनमनै तिनलाई सत्‍यानाश गर्न निश्‍चय गरिसकेका छन्‌ भनी तिनले बुझे। रानी एस्‍तरसँग प्राणदानको लागि बिन्‍ती चढ़ाउन भनी आफू बसेकै ठाउँमा बसिरहे।

8 राजा बगैँचाबाट भोज गर्ने कोठामा फर्केर आएकै बेला हामानचाहिँ एस्‍तर ढल्‍किरहेको पलङ्गको छेउमा पसारो परिरहेका थिए। तब राजाले आश्‍चर्यचकित भएर कराए, “के रानी यहाँ मसँग हुँदा पनि यसले बलात्‍कार गर्न चाहन्‍छ?” राजाको मुखबाट यो कुरो निस्‍कने बित्तिकै तिनीहरूले हामानको मुख छोपे।

9 तब राजाको सामु हाजिर रहने नपुंसकहरूमध्‍येको एक जना हर्बोनाले भन्‍यो, “महाराजाको प्राण जोगाइदिने मोर्दकैलाई झुण्‍ड्याउन भनी हामानले आफ्‍नै घरमा पच्‍चीस मिटर अल्‍गो फाँसीको काठ बनाएको छ।” राजाले भने, “त्‍यसैमा हामानलाई झुण्‍ड्या!”

10 तब मोर्दकैको निम्‍ति आफैले तयार गरेको फाँसीको काठमा तिनीहरूले हामानलाई लगेर झुण्‍ड्याए। त्‍यसपछि राजाको रीस शान्‍त भयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy