Online Bible

- Reklamy -

एस्‍तर 4 - नेपाली नयाँ संशोधित संस्करण


एस्तरको सहायताको निम्ति मोर्दकैको अनुरोध

1 यी सबै कुरा सुनेर मोर्दकैले आफ्‍नो लुगा च्‍याते, अनि भाङ्‌ग्रा र खरानी लाएर चर्को सोरले विलाप गर्दै सहरका चारैतिर गए।

2 उनी राजमहलका मूल ढोकासम्‍म मात्र गए, किनभने भाङ्‌ग्रा लाएको कुनै पनि मानिस मूल ढोकाबाट भएर भित्र जान पाउँदैनथ्‍यो।

3 राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्‍तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो। तिनीहरूमध्‍ये धेरै जना भाङ्‌ग्रा लाएर खरानीको ओछ्यानमा बसे।

4 जब एस्‍तर रानीका चाकर्नी र नपुंसकहरूले आएर तिनलाई यो कुरा बताइदिए, तब तिनी व्‍याकुल भइन्‌। भाङ्‌ग्रा फुकालेर लुगा लगाउन भनी तिनले मोर्दकैको निम्‍ति लुगा पठाइदिइन्‌। तर उनले ती ग्रहण गर्न मानेनन्‌।

5 तब एस्‍तरले आफ्‍नो सेवामा खटाइएको राजाको एक नपुंसक हताकलाई बोलाइपठाएर मोर्दकैलाई के दु:ख पर्‍यो र किन त्‍यसो गरेको भनी मोर्दकैसित सोध्‍न हुकुम गरी पठाइन्‌।

6 हताक राजमहलको अगाड़ि भएको सहरको खुला चोकमा मोर्दकैकहाँ गए।

7 मोर्दकैले आफूलाई के-कसो भएको छ ती सबै कुरा र हामानले यहूदीहरूलाई नाश गर्नका निम्‍ति कति पैसा राजकोषमा दिएको छ सो पनि हताकलाई बताइदिए।

8 र मोर्दकैले त्‍यस विषयमा एस्‍तरलाई भनिदिन र राजाकहाँ गएर निगाह प्राप्‍त गरेर आफ्‍नो जातिको निम्‍ति बिन्‍ती चढ़ाउन भनी अनुरोध गरी शूशनमा तिनीहरूको सत्‍यनाशको लागि निकालिएको राजाज्ञाको एउटा नकल पनि एस्‍तरलाई देखाउन भनी पठाइदिए।

9 हताकले एस्‍तरकहाँ गएर मोर्दकैले भनेका कुरा बताइदियो।

10 अनि तिनले हताकद्वारा फेरि यो समाचार दिएर पठाइन्,

11 “राजाका सबै अधिकारीहरू र प्रान्‍तका सारा मानिसहरूलाई यो कुरा विदितै छ, कि यदि कुनै पुरुष वा स्‍त्री राजाको हुकुमविना राजाको उपस्‍थितिमा भित्री दरबारमा पस्‍छ भने त्‍यसको निम्‍ति एउटै मात्र कानून यही छ, कि राजाले आफ्‍नो सुनको राजदण्‍ड पसार्नुभएन भने त्‍यो मारिनेछ। अनि सुनको राजदण्‍ड पसार्नुभयो भने मात्र त्‍यो बाँच्‍नेछ। म आफैलाई पनि राजाकहाँ जाने हुकुम नभएको तीस दिन भइसक्‍यो।”

12 तर जब एस्‍तरले भनेको कुरा मोर्दकैलाई सुनाइयो,

13 तब उनले एस्‍तरकहाँ यही जवाफ भनिपठाए: “यो नसोच, कि तिमी राजमहलमा भएकीले सबै यहूदीहरूमध्‍ये तिमी मात्रै बाँच्‍नेछौ।

14 यस्‍तो बेलामा तिमी चूपै लागी बस्‍यौ भने यहूदीहरूका निम्‍ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्‍ट हुनेछन्‌। शायद यस्‍तै समयको निम्‍ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”

15 तब एस्‍तरले मोर्दकैकहाँ यस्‍तो जवाफ पठाइन्‌:

16 “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।”

17 तब मोर्दकै गइहाले, र एस्‍तरले हुकुम गरेअनुसार नै गरे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy