Online Bible

- Reklamy -

एफिसी 6 - नेपाली नयाँ संशोधित संस्करण


छोरा-छोरी र माता-पिता सम्बन्धी अर्ती

1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।

2 आफ्‍ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),

3 कि तिमीहरूलाई भलो होस्, र पृथ्‍वीमा तिमीहरू दीर्घायु होओ।

4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।


कमारा र मालिकहरूलाई अर्ती

5 कमारा हो, डर र कम्‍पसाथ साँचो हृदयले ख्रीष्‍टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर।

6 मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्‍टका दासहरूझैँ साँचो हृदयले परमेश्‍वरको इच्‍छा पूरा गर।

7 मानिसहरूका निम्‍ति होइन, तर प्रभुको निम्‍ति जस्‍तै गरी सदिच्‍छाले सेवा गर,

8 यो जानेर कि चाहे त्‍यो कमारा होस्, चाहे फुक्‍का, जसले असल काम गर्दछ, त्‍यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।

9 मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।


परमेश्‍वरका हातहतियार

10 अब अन्‍त्‍यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्‍यमा बलवान्‌ होओ।

11 दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर।

12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।

13 यसैकारण परमेश्‍वरका सारा हातहतियार उठाओ, र यसरी खराब दिनको सामना गर्न सक, र सबै काम गरेर खड़ा हुन सक्‍ने होओ।

14 यसकारण आफ्‍ना कम्‍मर सत्‍यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ,

15 र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।

16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।

17 मुक्तिको टोप लगाओ, र पवित्र आत्‍माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।

18 सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्‍मामा प्रार्थना गर। यस उद्देश्‍यले लगनशील र सतर्क भएर सबै सन्‍तहरूका निम्‍ति प्रार्थना गरिरहो।

19 मेरो निम्‍ति पनि प्रार्थना गर, कि जब म आफ्‍नो मुख खोल्‍छु तब मलाई वचन दिइओस्, र म निर्भयतासाथ सुसमाचारको रहस्‍य घोषणा गर्न सकूँ,

20 जसको निम्‍ति म साङ्‌लाले बाँधिएको एक राजदूत हुँ, र जसरी मैले बोल्‍नुपर्ने हो, त्‍यसरी म साहससँग बोल्‍न सकूँ।


अन्‍तिम अभिवादन

21 म कस्‍तो छु र के गरिरहेछु, ती तिमीहरूलाई पनि थाहा होस्‌ भनेर प्रिय भाइ र प्रभुमा विश्‍वासी सेवक तुखिकसले सबै कुरा तिमीहरूलाई बताउनेछन्‌।

22 हाम्रो हालचाल कस्‍तो छ तिमीहरूलाई थाहा होस्‌ र तिमीहरूका हृदयलाई प्रोत्‍साहन मिलोस्‌ भन्‍ने विचारले मैले तिनलाई तिमीहरूकहाँ पठाएको हुँ।

23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट दाजुभाइहरूलाई शान्‍ति र विश्‍वाससहितको प्रेम!

24 हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेम गर्नेहरू सबैसँग अनुग्रह रहोस्‌।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy