व्यवस्था 8 - नेपाली नयाँ संशोधित संस्करणपरमप्रभुलाई नभुल्नु 1 मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। 2 तिमीहरूलाई दीन तुल्याउन, जाँच गर्न र उहाँका आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई यी चालीस वर्षभरिको उजाड़-स्थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्वरले कसरी तिमीहरूलाई डोर्याउनुभयो, सो स्मरण गर। 3 उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्याउनुभयो, अनि तिमीहरूलाई मन्न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्केको प्रत्येक वचनले जिउँछ भन्ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। 4 ती चालीस वर्षसम्म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्। 5 तिमीहरूले यो जान, कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ। 6 परमप्रभु तिमीहरूका परमेश्वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। 7 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्छन्। 8 त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। 9 त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्नेछौ। 10 जब तिमीहरू तृप्त होउञ्जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्ति तिमीहरूले आफ्ना परमेश्वरको प्रशंसा गर। 11 सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल। 12 नत्रता जब तिमीहरू खाएर तृप्त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्नेछौ, 13 जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्त हुनेछन्, 14 तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्वको देश मिश्रबाट ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरलाई भुल्नेछौ। 15 उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्थानको बीचमा डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो। 16 अन्त्यमा तिमीहरूको भलो होस् भनेर उजाड़-स्थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्याउनुभयो र जाँच्नुभयो। 17 “हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। 18 तर परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्ति दिनुहुन्छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्नुभएको करार स्थिर गर्नुहुन्छ, जो आजसम्म छँदैछ। 19 म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्स्यौ र अन्य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्यौ भने, तिमीहरू अवश्य नष्ट हुनेछौ। 20 परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society