व्यवस्था 6 - नेपाली नयाँ संशोधित संस्करणआज्ञाकारी हुनलाई मोशाको अर्ती 1 तिमीहरूले यर्दन पारी गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएका आज्ञा, विधि र विधान यी नै हुन्। 2 सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्। 3 हे इस्राएली हो, यी सबै पालन गर, ताकि तिमीहरूको भलो होस्, र परमप्रभु तिमीहरूका पिता-पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्। 4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। 5 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। 6 मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। 7 ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर। 8 ती आफ्ना हातमा चिन्हको लागि कसिराख। ती तिमीहरूको निधारमा बाँधिराख। 9 ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। 10 जब परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूका पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबसँग तिमीहरूलाई दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा पुर्याउनुहुनेछ— तिमीहरूले नबनाएका ठूला-ठूला र राम्रा-राम्रा सहरहरू भएको देशमा, 11 जहाँ तिमीहरूले नजुटाएका उत्तम थोकहरूले भरिभराउ भएका घरहरू हुनेछन्, र तिमीहरूले नखनेका इनारहरू र नरोपेका दाख र भद्राक्षबारीहरू हुनेछन्— जब तिमीहरूले खाएर अघाउनेछौ, 12 तब होशियार गर, र तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकाली ल्याउनु हुने परमेश्वरलाई नभुल्नू। 13 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरकै डर मान्नू, उहाँकै सेवा गर्नू र उहाँकै नाउँमा शपथ खानू। 14 तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्नू, 15 किनकि तिमीहरूका बीचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ। नत्रता परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश गर्नुहुनेछ। 16 मस्साहमा झैँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर। 17 परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान। 18 परमप्रभुको दृष्टिमा जुन-जुन कुरा ठीक र असल छन् त्यही गर, ताकि तिमीहरूको कल्याण होस्, र तिमीहरूका पिता-पुर्खासँग परमप्रभुले शपथ खाएर प्रतिज्ञा गर्नुभएको त्यो असल देश तिमीहरूले कब्जा गर, 19 र परमप्रभुले भन्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्नेबाट धपाओ। 20 भविष्यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्ला, 21 तब तिमीहरूले त्यसलाई भन्नू: “हामीहरू मिश्रमा फारोका कमारा थियौं, र परमप्रभुले हामीलाई मिश्रबाट आफ्नो बाहुबलले निकाली ल्याउनुभयो। 22 परमप्रभुले हाम्रा आँखाकै सामुन्ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्यन्तै भयानक अचम्मका चिन्ह र आश्चर्य कामहरू देखाउनुभयो। 23 हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो। 24 परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्तर हित होस्, र आज पर्यन्तझैँ हाम्रो जीवनको पनि रक्षा होस्। 25 उहाँका आदेशबमोजिम उहाँको दृष्टिमा परमप्रभु हाम्रा परमेश्वरका यस सारा व्यवस्था पालन गर्न हामी होशियार भयौं भने, त्यही नै हाम्रो धार्मिकता हुनेछ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society