व्यवस्था 34 - नेपाली नयाँ संशोधित संस्करणमोशाको मृत्यु 1 त्यसपछि मोशा मोआबको मैदानबाट यरीहोको सामुन्ने भएको नेबो डाँड़ाको पिसगाको टाकुरामा उक्ले। परमप्रभुले तिनलाई समस्त देश देखाउनुभयो— गिलाददेखि दानसम्म, 2 समस्त नप्ताली, एफ्राइम र मनश्शेको देश, पश्चिमको समुद्रसम्मको यहूदाको समस्त देश, 3 नेगेव भनिने दक्षिण देश र खजूरका रूखहरू भएको सहर यरीहोको बेँसीदेखि सोअरसम्म। 4 तब परमप्रभुले तिनलाई भन्नुभयो, “‘तेरा भावी सन्तानलाई दिनेछु’ भनी मैले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गरेको देश यही हो। मैले तँलाई यो तेरै आँखाले हेर्न दिएँ, तर तँ त्यहाँ जान पाउनेछैनस्।” 5 तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। 6 मोआब देशमा बेथ-पोरको सामुन्ने एउटा बेँसीमा उहाँले तिनलाई गाड्नुभयो। तर आजसम्म कसैलाई तिनको चिहान थाहा छैन। 7 मोशाको मृत्यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। 8 मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए। 9 अब नूनका छोरा यहोशू बुद्धिको आत्माले परिपूर्ण थिए, किनकि मोशाले आफ्ना हात तिनीमाथि राखेका थिए। तसर्थ, तिनको कुरा इस्राएलीहरूले सुने, र परमप्रभुले मोशालाई दिनुभएका आज्ञाहरू पालन गरे। 10 त्यस समयदेखि इस्राएलीहरूमा मोशाजस्तो कोही अगमवक्ता खड़ा भएको छैन, जसलाई परमप्रभुले मुखामुख चिन्नुहुन्थ्यो। 11 तिनैलाई मिश्रमा फारो र उनका सबै अधिकारीहरूकहाँ उनको समस्त देशमा आश्चर्य चिन्ह र अचम्मका कामहरू देखाउनलाई परमप्रभुले पठाउनुभयो। 12 किनकि समस्त इस्राएलीहरूको दृष्टिमा मोशाले गरेका भयानक कामहरू वा तिनको प्रबल शक्ति अरू कसैले कहिल्यै देखाएको छैन। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society