Online Bible

- Reklamy -

व्यवस्था 30 - नेपाली नयाँ संशोधित संस्करण


जीवन र वृद्धि प्रदान गरिएको

1 परमप्रभु परमेश्‍वरले जाति-जातिहरूका बीचमा तिमीहरूलाई धपाइपठाउनुभएपछि जब यी आशिष्‌ र श्राप तिमीहरूमाथि पर्नेछन्‌ र तिनको स्‍मरण गरेर

2 तिमीहरू र तिमीहरूका सन्‍तान परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्कनेछौ, र आज मैले आज्ञा गरेका उहाँका वचन आफ्‍नो पूरा हृदय र आफ्‍नो पूरा प्राणले मान्‍नेछौ,

3 तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ।

4 तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ।

5 तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ।

6 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले आफ्‍नो सारा हृदय र आफ्‍नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्‍तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक।

7 परमप्रभु तिमीहरूका परमेश्‍वरले यी सबै श्रापहरू तिमीहरूलाई हेला गर्ने र खेदो गर्ने तिमीहरूका शत्रुहरूमाथि ल्‍याउनुहुनेछ।

8 तिमीहरूले फेरि परमप्रभुको वचन मान्‍नेछौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञाहरू पालन गर्नेछौ।

9 तब तिमीहरूका हातका सबै काममा, सन्‍तानमा, गाईबस्‍तुका बाछा-बाछीहरूमा र भूमिका अन्‍नहरूमा आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई अघोर वृद्धि गराउनुहुनेछ।

10 व्‍यवस्‍थाको यस पुस्‍तकमा लेखिएका उहाँका आज्ञा र विधिहरू पालन गर्‍यौ भने र आफ्‍नो पूरा हृदयले र आफ्‍नो पूरा प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरतिर तिमीहरू फर्क्‍यौ भने, तिमीहरूका पिता-पुर्खासँग उहाँ प्रसन्‍न हुनुभएझैँ परमप्रभु तिमीहरूसँग फेरि प्रसन्‍न हुनुहुनेछ र तिमीहरूलाई वृद्धि गर्नुहुनेछ।

11 आज मैले तिमीहरूलाई दिएको आज्ञा तिमीहरूका निम्‍ति साह्रै गाह्रो वा टाढ़ो छैन।

12 “हाम्रा निम्‍ति स्‍वर्गमा उक्‍लेर कसले त्‍यो ल्‍याइदिएर हामीलाई बताइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो स्‍वर्गमा छैन।

13 “कसले सागर पारि गएर हामीलाई त्‍यो ल्‍याइदिएर हामीलाई सुनाइदिने र हामी त्‍यो पालन गरौं?” भनी तिमीहरूले भन्‍नुपर्दैन, किनभने त्‍यो सागरको पल्‍लो छेउमा पनि छैन।

14 तर तिमीहरूले पालन गर्नलाई वचन तिमीहरूको नजिकै छ— तिमीहरूकै मुख र तिमीहरूकै हृदयमा छ।

15 हेर, आज मैले तिमीहरूका अगि जीवन र वृद्धि, अनि मृत्‍यु र नाश राखेको छु।

16 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका मार्गमा हिँड्‌न, उहाँका आज्ञा, विधि र नियमहरू पालन गर्न म आज तिमीहरूलाई आदेश दिँदछु। तब मात्र तिमीहरू जिउनेछौ, तिमीहरूको वृद्धि हुनेछ, र तिमीहरूले अधिकार गर्न लागेका देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।

17 तर तिमीहरूका हृदय बरालिएर तिमीहरू अटेरी भयौ र अन्‍य देवताहरूप्रति आकर्षित भएर तिनीहरूलाई पुज्‍न र सेवा गर्न लाग्‍यौ भने,

18 तिमीहरू निश्‍चय नै नष्‍ट हुनेछौ भनी म आज घोषणा गर्दछु, र यर्दन पारि अधिकार गर्न जान लागेको देशमा तिमीहरू धेरै दिन बाँच्‍नेछैनौ।

19 आज म स्‍वर्ग र पृथ्‍वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्‍तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्‍यु, आशिष्‌ र श्राप राखेको छु। अब जीवन नै रोज, ताकि तिमीहरू र तिमीहरूका बालबच्‍चाहरू जिउन सक,

20 र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्‍दै र उहाँसँगै लीन बन्‍दै बाँचिरहो। किनकि परमप्रभु नै तिमीहरूको जीवन हुनुहुन्‍छ, र तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित उहाँले दिन्‍छु भनी शपथ खानुभएको देशमा उहाँले तिमीहरूलाई दीर्घायु बनाउनुहुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy