Online Bible

- Reklamy -

व्यवस्था 26 - नेपाली नयाँ संशोधित संस्करण


अगौटे फल र दशांश चढाउने नियम

1 परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूको निज अधिकारमा दिनुहुने देशमा पुगेर त्‍यसलाई अधिकार गरी त्‍यसमा बसोबास गरेपछि

2 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको भूमिबाट उब्‍जने सबै किसिमका उब्‍जनीको अगौटे फल एउटा डालोमा हालेर परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍नलाई छान्‍नुहुने ठाउँमा लैजाओ,

3 र त्‍यस बेला तत्‍कालीन पूजाहारीलाई भन, “उहाँले हामीलाई दिन्‍छु भनी हाम्रा पिता-पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगें भनी परमप्रभु तपाईंका परमेश्‍वरको अगि म स्‍वीकार गर्छु।”

4 तब पूजाहारीले तिमीहरूका हातबाट त्‍यो डालो लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरका वेदीको अगि तिनले राखिदिनेछन्‌।

5 तब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने यसो भन्‍नू: “मेरा पुर्खा फिरन्‍ते अरामी थिए। उनी आफ्‍नो सानो परिवारसँग मिश्रमा गई प्रवास गरे। अनि त्‍यहाँ उनीबाट एक महान्, सामर्थी र असंख्‍य जाति उत्‍पन्‍न भयो।

6 तर मिश्रीहरूले निष्‍ठुर व्‍यवहार गरेर हामीलाई दु:ख दिए, र कठोर दासत्‍वमा राखे।

7 तब हामीले परमप्रभु हाम्रा पुर्खाका परमेश्‍वरलाई पुकारा गर्‍यौं, र उहाँले हाम्रो सोर सुन्‍नुभयो र हाम्रा पीडा, कठिन श्रम र हामीमाथि भएको अत्‍याचारलाई देख्‍नुभयो।

8 यसकारण परमप्रभुले हामीलाई आफ्‍नो प्रतापी हात र फैलिएको पाखुराले ठूलो आतङ्क, आश्‍चर्य चिन्‍ह र अचम्‍मका कामहरू देखाएर मिश्रबाट निकालेर ल्‍याउनुभयो।

9 उहाँले हामीलाई यस ठाउँमा ल्‍याएर यो दूध र मह बग्ने देश दिनुभयो।

10 अब हे परमप्रभु, मलाई दिनुभएको भूमिका अगौटे फल मैले तपाईंकहाँ ल्‍याएको छु।” परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने त्‍यो डालो राखेर उहाँलाई दण्‍डवत्‌ गर्नू।

11 तब जति असल-असल थोक परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका परिवारलाई दिनुभएको छ, ती सबका निम्‍ति तिमीहरू, लेवीहरू र तिमीहरूसित बस्‍ने परदेशीहरूले पनि आनन्‍द मनाऊन्‌।

12 दशांश दिने वर्ष वा तेस्रो वर्षमा आफ्‍ना सबै उब्‍जनीको दशांश छुट्ट्याइसकेपछि लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवालाई तिमीहरूले त्‍यो दिनू, ताकि तिमीहरूका सहरहरूमा तिनीहरूले त्‍यो खाऊन्‌ र तृप्‍त होऊन्‌।

13 त्‍यसपछि परमप्रभु आफ्‍ना परमेश्‍वरलाई यसो भन्‍नू: “मैले आफ्‍नो घरबाट पवित्र अंश निकालेर तपाईंको आज्ञाअनुसार लेवी, परदेशी, टुहुरा-टुहुरी र विधवाहरूलाई दिएको छु। मैले तपाईंका कुनै आज्ञा उल्‍लङ्घन गरेको छैनँ, न त तीमध्‍ये कुनै बिर्सेको छु।

14 शोक गर्ने बेलामा त्‍यस पवित्र अंशबाट मैले केही खाएको छैनँ, न त अशुद्ध भएको बेलामा त्‍यसबाट केही निकालेको छु, न त त्‍यसबाट केही मरेकाहरूलाई चढ़ाएको छु। मैले परमप्रभु मेरा परमेश्‍वरको वचन पालन गरेको छु, र तपाईंका सबै आज्ञा पूरा गरेको छु।

15 आफ्‍नो पवित्र वासस्‍थान स्‍वर्गबाट हेरेर आफ्‍नो प्रजा इस्राएललाई आशिष्‌ दिनुहोस्, र तपाईंले हाम्रा पुर्खाहरूसित शपथ खानुभई प्रतिज्ञा गरेर हामीलाई दिनुभएको दूध र मह बग्ने देशलाई पनि आशिष्‌ दिनुहोस्‌।”


परमप्रभुको आज्ञापालन गर्नू

16 यी नै विधिविधान पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज आज्ञा दिनुहुन्‍छ। तिमीहरूले ती आफ्‍नो सारा हृदय र सारा प्राणले ध्‍यानसित पालन गर।

17 “परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, हामी उहाँका मार्गमा हिँड्‌नेछौं र उहाँका विधि, आज्ञा र विधानहरू मान्‍नेछौं, र उहाँको वचन पालन गर्नेछौं” भनी तिमीहरूले आज निश्‍चय गरेका छौ।

18 आज परमप्रभुले तिमीहरू उहाँको प्रतिज्ञाअनुसार आफ्‍नै प्रजा र उहाँको अमूल्‍य सम्‍पत्ति बनेका छौ र तिमीहरूले उहाँका सबै आज्ञाहरू पालन गर्नैपर्छ भनी घोषणा गर्नुभएको छ।

19 तिमीहरूलाई उहाँले बनाउनुभएका सबै जातिहरूलाई भन्‍दा बढ़ी प्रशंसा, सम्‍मान र कीर्ति दिनुहुनेछ, र उहाँको प्रतिज्ञाअनुसार तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति एक पवित्र जाति हुनेछौ भनी उहाँले घोषणा गर्नुभएको छ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy