व्यवस्था 2 - नेपाली नयाँ संशोधित संस्करणइस्राएलीहरू उजाड-स्थानमा घुमफिर गरेका 1 तब परमप्रभुले मलाई भन्नुभएझैँ हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड़-स्थानतिर लाग्यौं, र धेरै दिनसम्म सेइरको पहाड़ी देशको फेरो लगायौं। 2 अनि परमप्रभुले मलाई भन्नुभयो, 3 “तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो। अब उत्तरतिर लाग। 4 तैंले मानिसहरूलाई यसो भनेर आज्ञा दे: ‘तिमीहरू एसावका सन्तान, आफ्नै दाजुभाइ सेइरवासीको देश भएर जान लागेका छौ। उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनू। 5 उनीहरूलाई लड्न नउक्साउनू, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्ने जत्रो ठाउँ पनि दिन्नँ। सेइरको पहाड़ी देश मैले एसावको अधिकारमा दिएको छु। 6 खाने भोजन र पिउने पानीको लागि तिमीहरूले उनीहरूलाई चाँदीको पैसा दिनुपर्छ’।” 7 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष् दिनुभएको छ। यस ठूलो उजाड़-स्थानको यात्राभरि उहाँले तिमीहरूको हेर-विचार गर्नुभएको छ। यी चालीस वर्षभरि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै रहनुभएको छ, र तिमीहरूलाई केही कुराको अभाव भएको छैन। 8 यसैकारण सेइरमा बस्ने एसावका सन्तान, हाम्रा दाजुभाइहरूका मध्येबाट हामी गयौं। एलात र एस्योन-गेबेरबाट आउने अराबाको बाटो नगएर हामीहरू मोआबको उजाड़-स्थानको बाटो लाग्यौं। 9 तब परमप्रभुले मलाई भन्नुभयो, “मोआबलाई दु:ख-कष्ट नदेओ, र उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्नँ, किनभने मैले आर सहर लोतका सन्तानको अधिकारमा दिएको छु।” 10 (एक समय त्यहाँ एमीहरू बस्थे, जो असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। 11 अनाकीहरूझैँ यी पनि रपाई नै गनिन्थे, तर मोआबीहरूले यिनीहरूलाई एमी भन्थे। 12 उहिले नै होरीहरू पनि सेइरमा बस्थे, तर एसावका सन्तानले यिनीहरूलाई धपाए। उनीहरूले यिनीहरूलाई नाश गरेर यिनीहरूका सट्टामा बसोबास गरे, जसरी परमप्रभुले अधिकार गर्न दिनुभएको देश इस्राएलीहरूले लिएका थिए।) 13 अनि परमप्रभुले भन्नुभयो, “अब जेरेद खोला पार गर।” अनि हामी जेरेद खोला पारि गयौं। 14 परमप्रभुले शपथ खानु भएझैँ हामीहरूको छाउनीबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट नहोउञ्जेल कादेश-बर्नेबाट जेरेद खोला पारिसम्म आइपुग्न हामीलाई अठतीस वर्ष लाग्यो। 15 छाउनीबाट ती सबै नष्ट नहोउञ्जेल परमप्रभुको हात तिनीहरूका विरुद्धमा रह्यो। 16 जनसमुदायका माझबाट लड़ाइँ गर्ने मानिसहरू सबै नष्ट भइसकेपछि 17 परमप्रभुले मलाई यसो भन्नुभयो, 18 “आज तिमीहरूलाई मोआबको सिमानामा परेको आर सहर नाघेर जानुपरेको छ। 19 जब तिमीहरू अम्मोनीहरूको सिमानामा पुग्छौ, तब उनीहरूलाई दु:ख-कष्ट नदेओ। उनीहरूलाई लड़ाइँ गर्न नउक्साओ, किनकि अम्मोनीहरूको देशबाट अधिकारको निम्ति म कुनै अंश पनि तिमीहरूलाई दिन्नँ। मैले त्यो लोतका सन्तानको अधिकारमा दिएको छु।” 20 (त्यो पनि रपाईहरूको देश गनिन्थ्यो। उहिले नै त्यहाँ रपाईहरू बस्थे, तर अम्मोनीहरूले यिनीहरूलाई जमजुम्मीहरू भन्दथे। 21 यिनीहरू असंख्य, पराक्रमी र अनाकीहरूजस्तै अल्गा-अल्गा थिए। तर परमप्रभुले यिनीहरूलाई अम्मोनीहरूका सामुन्ने नाश गरिदिनुभयो, र जमजुम्मीहरूपछि अम्मोनीहरू आएर यिनीहरूका सट्टामा बसे। 22 उहाँले सेइरमा बस्ने एसावका सन्तानका निम्ति पनि यसो गर्नुभयो, जब उहाँले उनीहरूका सामुन्ने होरीहरूलाई नष्ट पार्नुभएको थियो। उनीहरूले होरीहरूलाई धपाएर आजसम्म तिनीहरूका ठाउँमा बसोबास गरेका छन्। 23 अनि गाजासम्म बसोबास गर्ने अव्वीहरूलाई कप्तोरबाट आएका कप्तोरीहरूले नष्ट पारे, र यिनीहरूका सट्टामा बसोबास गरे।) सीहोन राजा पराजित भएका 24 “उठ, यात्रा सुरु गर, र अर्नोन खोला पारि जाओ। हेर, मैले हेश्बोनको राजा एमोरी सीहोन र त्यसको देश तिमीहरूका हातमा दिएको छु। त्यो अधिकार गर्न सुरु गर र त्यससित युद्ध गर। 25 आजको दिन सारा आकाशमुनि भएका जातिहरूमाथि तिमीहरूको डर र भय म हालिदिनेछु। उनीहरू तिमीहरूका विषयमा सुनेर थरथर काम्नेछन्, र विचलित हुनेछन्।” 26 कदेमोतको उजाड़-स्थानबाट हेश्बोनका राजा सीहोनकहाँ शान्तिको प्रस्तावसहित मैले दूतहरूलाई यसो भनेर पठाएँ, 27 “हामीलाई तपाईंको राज्यबाट भएर जान दिनुहोस्। हामी बाटै-बाटो मात्र जानेछौं। हामी देब्रे-दाहिने लाग्नेछैनौं। 28 खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्नुहोस्। खालि तपाईंको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्— 29 जसरी सेइरमा बस्ने एसावका सन्तान र आरमा बस्ने मोआबीहरूले हाम्रा निम्ति गरेथे— जबसम्म परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा पुग्नलाई हामी यर्दन पार गर्दैनौं।” 30 तर हेश्बोनका राजा सीहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हठी बनाउनुभएको थियो। अनि आजको दिनसम्म त्यो तिमीहरूकै हातमा छ। 31 अनि परमप्रभुले मलाई भन्नुभयो, “सीहोन र त्यसको देश अब म तिमीहरूलाई दिनेछु। त्यसको देश अधिकार र कब्जा गर्न सुरु गर।” 32 जब सीहोन उनका सबै फौजसमेत यहसा भन्ने ठाउँमा हामीसँग लड्न आए, 33 तब परमप्रभु हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा सुम्पिदिनुभयो, र उनलाई, उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्यौं। 34 त्यस बेला हामीले उनका सबै सहरहरू लियौं, अनि स्त्रीहरू र बालबच्चाहरूलाई समेत मानिसहरू बसेको प्रत्येक सहरलाई पूर्ण रूपले नाश पार्यौं। हामीले कसैलाई पनि छोड़ेनौं। 35 हामीले कब्जा गरेका सहरहरूका धनमाल र गाईबस्तु मात्र हामीले आफ्नो निम्ति जीतका माल स्वरूप लियौं। 36 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि र खोलाको किनारमा भएको सहरदेखि गिलादसम्म हामीले लिन नसक्ने शक्तिशाली सहर कुनै थिएन। परमप्रभु हाम्रा परमेश्वरले सबै हाम्रा हातमा सुम्पिदिनुभयो। 37 केवल अम्मोनीहरूका सन्तानका देशको छेउमा, यब्बोक नदीका सबै किनारहरूका जग्गामा र पहाड़ी देशका सहरहरू परमप्रभु हाम्रा परमेश्वरले आज्ञा गर्नुभएअनुसार तिमीहरू आएनौ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society