Online Bible

- Reklamy -

व्यवस्था 19 - नेपाली नयाँ संशोधित संस्करण


शरण-नगरहरू

1 परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई नाश गर्नुभई उनीहरूको देश तिमीहरूको अधिकारमा दिनुभएपछि जब तिमीहरूले उनीहरूलाई बाहिर धपाएर उनीहरूका सहर र घरहरूमा बसोबास गर्छौ,

2 तब परमप्रभु परमेश्‍वरले अधिकारमा दिन लाग्‍नुभएको देशमा तीन वटा सहरहरू तिमीहरूले अलग गर्नू।

3 परमप्रभु परमेश्‍वरले तिमीहरूको अधिकारमा दिन लाग्‍नुभएको देशलाई तीन भागमा विभक्त गरेर ती सहरहरूमा जाने बाटाहरू पनि तयार गर्नू, र ज्‍यानमारा त्‍यहाँ भागेर जान सकोस्‌।

4 कसैलाई मारेर आफ्‍नो ज्‍यान बचाउनलाई त्‍यहाँ भाग्‍ने मानिसको विषयमा नियम यो हो— जसले आफ्‍नो छिमेकीलाई दुश्‍मनी नभई नचाहेरै मार्दछ।

5 जस्‍तै, एक जना मान्‍छे वनमा आफ्‍नो छिमेकीसँग दाउरा काट्‌न जाँदा रूख ढाल्‍नलाई बन्‍चरो चलाउँदा बन्‍चरो बीँड़बाट फुस्‍केर त्‍यस छिमेकीलाई लाग्‍छ, र त्‍यो मर्छ। त्‍यो मानिस यी सहरहरूमध्‍ये एउटामा भाग्‍न सक्‍छ र त्‍यसले आफ्‍नो ज्‍यान बचाउन सक्‍छ।

6 नत्रता बाटो लामो भयो भने रगतको बदला लिनेले तातो रीसमा त्‍यसलाई खेदेर बाटैमा फेला पारेर त्‍यसलाई मार्न सक्‍छ। वास्‍तवमा त त्‍यो मारिने योग्‍यको थिएन, किनकि रीस-रागविना नै त्‍यसले छिमेकीलाई त्‍यसो गरेको थियो।

7 यसैकारण आफ्‍ना निम्‍ति तीन वटा सहर अलग गर्नू भनी म तिमीहरूलाई आज्ञा दिँदैछु।

8 परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गरी सधैँ उहाँका मार्गमा हिँड़ेर मैले आज तिमीहरूलाई आज्ञा गरेका नियमहरू तिमीहरूले होशियारीसँग पालन गरेका हुनाले

9 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएअनुसार जब तिमीहरूका मुलुकको वृद्धि गरी प्रतिज्ञाको सम्‍पूर्ण देश दिनुहुन्‍छ, तब तिमीहरूले अरू पनि तीन वटा सहरहरू थप्‍नुपर्छ।

10 यो गर, नत्रता परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका अधिकारमा दिनुहुने देशमा निर्दोषको रगत बग्‍नेछ, र त्‍यसको दोष तिमीहरूलाई नै लाग्‍नेछ।

11 तर कुनै मानिसले रीस-रागै राखी आफ्‍नो छिमेकीलाई ढुकेर हिर्काई मारेर त्‍यो ती सहरहरूमध्‍ये एउटामा भाग्‍यो भने,

12 त्‍यसकै नगरका धर्म-गुरुहरूले मान्‍छे पठाई त्‍यसलाई त्‍यहाँबाट झिकाएर रगतको बदला लिनेको हातमा मर्नलाई सुम्‍पिदेऊन्।

13 त्‍यसलाई नटिठ्याउनू, इस्राएलबाट निर्दोषको हत्‍याको दोष हटाओ, ताकि तिमीहरूको कल्‍याण होस्‌।

14 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा तिमीहरूको निज भागमा पुर्खाहरूले तोकिदिएको सिमाना नाघेर छिमेकीको साँधसिमानाको ढुङ्गो नहटाउनू।


साक्षीको नियम

15 कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्‍ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्‍छ।

16 कसैमाथि दोषारोपण गर्न कोही दुष्‍ट मानिस खड़ा भयो भने,

17 वादी र प्रतिवादी दुवै तत्‍कालीन पूजाहारी र न्‍यायकर्ताहरूका सामुन्‍ने परमप्रभुको अगि आउनुपर्छ।

18 तब न्‍यायकर्ताहरूले तिनीहरूलाई राम्ररी केरकार गर्नुपर्छ। यदि साक्षी झूटो रहेछ र आफ्‍नो भाइको विरुद्धमा झूटो बयान दिएको रहेछ भने,

19 त्‍यसले आफ्‍नो भाइमाथि जे गर्ने विचार गरेको थियो त्‍यसलाई त्‍यसै गर्नू। तिमीहरूले आफ्‍नो मध्‍येबाट खराबीलाई हटाउनुपर्छ।

20 यो सुनेर अरूहरू डराउनेछन्‌। त्‍यसपछि तिमीहरूका बीचमा यस्‍तो खराबी कहिले हुनेछैन।

21 तिमीहरूले नटिठ्याउनू। ज्‍यानको साटो ज्‍यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र गोड़ाको साटो गोड़ा हुनेछ।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy