व्यवस्था 18 - नेपाली नयाँ संशोधित संस्करणपूजाहारी र लेवीहरूले पाउनुपर्ने भाग 1 पूजाहारीहरू, जो लेवी हुन्— वास्तवमा, सारा लेवी कुलको इस्राएलीहरूसँग कुनै भाग वा अंश हुनेछैन। परमप्रभुलाई आगोद्वारा चढ़ाइएका बलिहरू खाएरै तिनीहरूले गुजारा गरून्, किनकि तिनीहरूले पाउने अंश त्यही हो। 2 तिनीहरूका दाजुभाइका बीचमा तिनीहरूको कुनै अंश हुनेछैन। परमप्रभुको प्रतिज्ञाअनुसार उहाँ नै तिनीहरूको अंश हुनुहुन्छ। 3 गोरु वा भेड़ाको बलि चढ़ाउने मानिसहरूबाट पूजाहारीहरूले पाउनुपर्ने भाग यही हो: कुम, बङ्गाराका दुवै भाग र आन्द्रा-भुँड़ी। 4 अन्न, नयाँ दाखमद्य र तेलको प्रथम उब्जनी र भेड़ाको पहिलो ऊन तिमीहरूले तिनीहरूलाई दिनुपर्छ। 5 किनभने उहाँको नाउँमा खड़ा भएर सधैँ सेवा गर्नलाई परमप्रभु तिमीहरूका परमेश्वरले सबै कुलहरूमध्येबाट लेवी कुललाई नै छान्नुभएको छ। 6 इस्राएलको कुनै सहरमा बसेका एक जना लेवी निक्लेर परमप्रभुले छान्नुहुने ठाउँमा उत्सुकतापूर्वक आए भने, 7 त्यहाँ परमप्रभुको अगि सेवा गर्ने सबै लेवी दाजुभाइहरूले झैँ तिनले पनि परमप्रभु आफ्ना परमेश्वरको नाउँमा सेवा गरून्। 8 आफ्नो परिवारका सम्पत्तिको बिक्रीबाट पैसा पाए पनि तिनले तिनीहरूसँग बराबर उपहार पाउनेछन्। घृणित कार्यहरू 9 परमप्रभुले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू आइपुगेपछि त्यहाँ बस्ने जातिहरूका घृणित रीतिरिवाजहरू देखासिकी नगर्नू। 10 आफ्नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, 11 टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्। 12 यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ। 13 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरू निर्दोष हुनुपर्छ। मोशाजस्तै एक जना अगमवक्ता 14 तिमीहरूले अधिकार गर्ने जातिहरू जोखना हेर्ने र जादूगरी गर्नेहरूका कुरा सुन्छन्। तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई चाहिँ यसो गर्न निषेध गर्नुभएको छ। 15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका आफ्नै दाजुभाइमध्येबाट मजस्तै एक जना अगमवक्ता तिमीहरूका निम्ति खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू। 16 किनकि “अब उप्रान्त परमप्रभु हाम्रा परमेश्वरको सोर सुन्नु नपरोस् र यो डरलाग्दो अग्नि कहिल्यै हेर्नु नपरोस्, नत्रता हामी मर्नेछौं” भनी होरेब पर्वतमा सभाको दिन परमप्रभु तिमीहरूका परमेश्वरसँग तिमीहरूले यही बिन्ती गरेका थियौ। 17 परमप्रभुले मलाई भन्नुभयो, “तिनीहरूले ठीकै भनेका छन्। 18 तिनीहरूका निम्ति तिनीहरूका दाजुभाइमध्येबाट तँजस्तै म एक जना अगमवक्ता खड़ा गर्नेछु। म मेरो वचन तिनको मुखमा हालिदिनेछु, र मैले आज्ञा गरेका सबै कुरा तिनले तिनीहरूलाई भन्नेछन्। 19 ती अगमवक्ताले मेरो नाउँमा भनेका मेरा वचनहरू नसुन्नेको लेखा म लिनेछु। 20 तर मैले आज्ञा नै नगरेको वचन मेरो नाउँमा बोल्ने वा अन्य देवताको नाउँमा बोल्ने अगमवक्ता मारिनुपर्छ।” 21 तिमीहरू आफैलाई सोधौला, “कुनै वचन परमप्रभुद्वारा बोलिएको होइन भनेर हामी कसरी जान्ने?” 22 कुनै अगमवक्ताले परमप्रभुको नाउँमा बोलेको कुरा पूरा भएन वा सत्य ठहरेन भने, त्यो परमप्रभुले भन्नुभएको वचन होइन। सो त्यही अगमवक्ताको मनगढ़न्त कुरा हो। तिमीहरू त्यसदेखि नडराउनू। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society