व्यवस्था 12 - नेपाली नयाँ संशोधित संस्करणआराधनाको निम्ति एउटै स्थान 1 तिमीहरूका पिता-पुर्खाहरूका परमप्रभु परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाँचुञ्जेल तिमीहरूले ख्याल राखेर मान्नुपर्ने विधिविधान यी नै हुन्। 2 जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्ना देवताहरू पूजा गर्ने उनीहरूका अल्गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्थानहरू तिमीहरूले सम्पूर्ण तवरले नाश गर्नू। 3 उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू। 4 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना उनीहरूको पाराले नगर्नू। 5 जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न र स्वयम् वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्नुहुन्छ, त्यही ठाउँ तिमीहरूले खोज्नू। त्यही ठाउँमा तिमीहरू जाने गर्नू। 6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्वेच्छा बलि, र गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्याउने गर्नू। 7 त्यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ। 8 आज हामी प्रत्येकले आफ्नो दृष्टिमा ठीक ठहरिएको कुरा गरेझैँ तिमीहरूले नगर्नू, 9 किनकि जुन विश्रामस्थान र उत्तराधिकार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको छ, त्यहाँ तिमीहरू अझ आइपुगेका छैनौ। 10 तर यर्दन पारि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर त्यहाँ बसोबास गर्छौ, अनि उहाँले तिमीहरूलाई सुरक्षित राखेर चारैतिरका शत्रुहरूदेखि तिमीहरूलाई विश्राम दिनुहुनेछ। 11 तब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुभएको ठाउँमा मैले तिमीहरूलाई आदेश दिएका तिमीहरूका होमबलि, बलिदानहरू, तिमीहरूका दशांश, विशेष भेटीहरू र तिमीहरूले आफ्ना परमप्रभुको निम्ति भाकल गरेका असल-असल थोकहरू ल्याउनू। 12 अनि तिमीहरू, तिमीहरूका छोराछोरीहरू, कमारा-कमारीहरू र तिमीहरूका सहरमा भएका लेवीहरूले, जसको आफ्नो निजी हिस्सा वा अंश छैन, परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाउनू। 13 होशियार बस। तिमीहरूले आफ्नो होमबलि तिमीहरूले देखेको जुनसुकै ठाउँमा नचढ़ाउनू। 14 तर परमप्रभुले तिमीहरूका कुलबाट छान्नुभएको ठाउँमा मात्रै चढ़ाउनू, र मैले आदेश दिएका सबै काम पनि त्यहीँ गर्नू। 15 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार तिमीहरूको कुनै पनि सहरभित्र आफूले चाहेजति पशु मारेर खान सक्छौ— हरिण र मृगको मासु खाएझैँ, विधिपूर्वक शुद्ध र अशुद्ध व्यक्ति कसैले पनि सो खान सक्छ। 16 केवल रगतचाहिँ नखानू। त्यो पानीझैँ भूइँमा पोखाइदिनू। 17 आफ्नो सहरभित्र अन्न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्वेच्छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू। 18 बरु परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुभएको ठाउँमा उहाँको सामुन्ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्ना सबै काममा परमप्रभु आफ्ना परमेश्वरको सामु आनन्द मनाउनू। 19 होशियार बस, र आफ्नो देशमा रहुञ्जेल लेवीहरूको बेवास्ता नगर्नू। 20 जब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्णा हुनेछ र “म मासु खान्छु” भन्नेछौ, तब आफूले चाहेजति मासु खाओ। 21 परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुभएको ठाउँ टाढ़ा छ भने, परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएका गाईबस्तु र भेड़ाबाख्रा मारेर, मैले आदेश दिएझैँ आफ्नै सहरभित्र चाहेजति खाओ। 22 हरिण वा मृग खाएझैँ ती पनि खानू— विधिपूर्वक शुद्ध वा अशुद्ध व्यक्ति कसैले पनि ती खान सक्छ। 23 केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन। 24 तिमीहरूले त्यो रगत खानुहुँदैन। पानीझैँ त्यो भूइँमा पोखाइदिनू। 25 तिमीहरूले त्यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठीक छ त्यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्तानको भलो होस्। 26 तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्नुहुने ठाउँमा जानू। 27 तिमीहरूले आफ्ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको छेउमा खन्याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्छौ। 28 मैले तिमीहरूलाई दिएका विधिहरू मान्नलाई ध्यान देओ, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्तानको भलो होस्। 29 जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ, परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका सामुन्ने नाश गर्नुहुनेछ। तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ, 30 तब होशियार बस, र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नू, र “यी जातिहरूले आफ्ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्यसै गर्छौं” भन्दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू। 31 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्छ। उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्। 32 जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society