व्यवस्था 11 - नेपाली नयाँ संशोधित संस्करणपरमेश्वरलाई प्रेम गर्ने र उहाँको आज्ञाकारी हुने अर्ती 1 परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर, र उहाँका आदेश, विधिविधान र आज्ञाहरू सधैँ पालन गर। 2 आज याद राख, तिमीहरूले परमप्रभुको जुन अनुशासन अनुभव गर्यौ र देख्यौ सो तिमीहरूका छोराछोरीहरूले जानेका छैनन्। उहाँको राजप्रताप, उहाँको शक्तिशाली हात र पसारिएको पाखुरा त तिमीहरूले देखेकै छौ। 3 मिश्रकै माझमा, मिश्रका राजा फारो र उनका सारा देशभरि उहाँले देखाउनुभएका चिन्ह र कार्यहरू तिमीहरूलाई थाहै छ। 4 मिश्रका सेना, घोड़ाहरू र रथहरूले तिमीहरूलाई खेद्दा परमप्रभुले लाल समुद्रको पानीले उनीहरूलाई डुबाएर सदाको लागि सखाप पार्नुभएको कुरो पनि तिमीहरू जान्दछौ। 5 यस ठाउँमा आई नपुगुञ्जेल उजाड़-स्थानमा उहाँले के-के गर्नुभयो सो देख्ने तिमीहरूका छोराछोरी होइनन्। 6 कसरी रूबेनवंशी एलीआबका छोराहरू दातान र अबीरामलाई धरतीले आफ्नो मुख बाएर तिनीहरूका घरानाहरू, पालहरू र तिनका सबै जीवित बस्तुसमेत सारा इस्राएलकै सामुन्ने निलिदिएको पनि तिमीहरूलाई थाहा छ। 7 तिमीहरूले आफ्नै आँखाले परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देखेका छौ। 8 यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन तरी अधिकार गर्नुपर्ने देशलाई आफ्नो बनाउन सक। 9 अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खासँग तिनीहरू र तिनीहरूका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्त दूध र मह बग्ने देशमा तिमीहरूको आयु लामो होस्। 10 तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन, जहाँ बीउ छरेर तिमीहरूले सागबारीमा झैँ खुट्टाले पानी हाल्नुपर्थ्यो। 11 तर तिमीहरू अधिकार गर्न यर्दन पारि गइरहेको देशचाहिँ डाँड़ा र बेँसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ। 12 त्यस देशको रेखदेख परमप्रभु परमेश्वरले नै गर्नुहुन्छ। सालको सुरुदेखि सालको अन्तसम्मै परमप्रभु तिमीहरूका परमेश्वरको नजर त्यसमाथि रहिरहन्छ। 13 यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ भने र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यौ भने, 14 म ऋतुअनुसार शरद् र बसन्तका वर्षाहरू दिनेछु, ताकि तिमीहरूका अन्न, नयाँ दाखमद्य र तेल बटुल्न सक। 15 म तिमीहरूका गाईबस्तुका लागि पनि खर्कमा घाँस दिनेछु, र तिमीहरू खाएर सन्तुष्ट हुनेछौ। 16 यसैले होशियार रहो, नत्रता तिमीहरू तर्केर अरू देवताहरूको सेवा र पूजा गरौला, 17 अनि परमप्रभुको क्रोध तिमीहरूका विरुद्धमा दन्कनेछ, र वर्षा नहोस् र जमिनले आफ्नो उब्जनी नदेओस् भनी उहाँले आकाशको झरी नै बन्द गरिदिनुहुनेछ, र परमप्रभुले तिमीहरूलाई दिने त्यो असल देशदेखि तिमीहरू छिट्टै नष्ट भइहाल्नेछौ। 18 तिमीहरूले मेरा यी वचनहरू आफ्ना मन र हृदयमा राख। ती आफ्ना हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध। 19 आफ्नो घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्ना छोराछोरीहरूलाई सिकाओ। 20 आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, 21 ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्तानहरू पृथ्वीमाथि आकाश रहुञ्जेल चिरायु होऊन्। 22 परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्न र उहाँलाई समातिराख्न भनी मैले तिमीहरूलाई मान्नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, 23 परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। 24 तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्थानदेखि लेबनानसम्म, र महानदी यूफ्रेटिसदेखि पश्चिमको समुद्रसम्मै तिमीहरूको सिमाना हुनेछ। 25 तिमीहरूका सामु कोही पनि टिक्न सक्नेछैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ। 26 हेर, आज म तिमीहरूका सामु आशिष् र अभिशाप राख्दैछु। 27 मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ भने आशिष् पाउनेछौ। 28 र परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्यौ भने तिमीहरूले सराप पाउनेछौ। 29 जब परमप्रभु तिमीहरूका आफ्ना परमेश्वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्याउनुहुन्छ, तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। 30 तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्चिमपट्टि, घाम अस्ताउने दिशातिर, अराबामा बस्ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्। 31 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्यस ठाउँलाई अधिकार गरी त्यहाँ बसिरहेका हुनेछौ, 32 तब मैले आज तिमीहरूका सामुन्ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्याल राख। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society