व्यवस्था 10 - नेपाली नयाँ संशोधित संस्करण1 त्यस बेला परमप्रभुले मलाई भन्नुभयो, “पहिलेका जस्तै ढुङ्गाका दुई वटा पाटी काट्, र पर्वतमा उक्लेर मकहाँ आइज। अनि एउटा काठको सन्दूक पनि बना। 2 तैंले फुटाएका पहिलेका पाटीमा भएका वचनहरू म यी पाटीमा लेखिदिनेछु, अनि ती तैंले सन्दूकमा राख्नुपर्छ।” 3 मैले बबुल काठको सन्दूक बनाएँ, अनि पहिलेका जस्तै दुई वटा शिला-पाटी काटें, र आफ्ना हातमा ती दुई पाटी लिएर पर्वतमा उक्लें। 4 अनि परमप्रभुले सभाको दिनमा पर्वतमा अग्निको बीचबाट तिमीहरूलाई दिनुभएका दश आज्ञा पहिलेझैँ ती पाटीमा लेखेर परमप्रभुले मलाई दिनुभयो। 5 त्यसपछि म पर्वतबाट ओर्लेर आएँ, र परमप्रभुले मलाई आज्ञा गर्नुभएझैँ मैले बनाएको यस सन्दूकमा ती पाटीहरू राखें, र ती अहिले त्यसमा छन्। 6 (इस्राएलीहरू याकानीहरूका इनारहरूबाट हिँड़ेर मोसेरामा आए। त्यहाँ हारून मरे, र गाड़िए। अनि तिनका छोरा एलाजारले तिनको स्थानमा पूजाहारीको काम गर्न लागे। 7 त्यहाँबाट इस्राएलीहरू गुदगुदासम्म हिँड़े, अनि गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए। 8 आजसम्म चलिआएझैँ परमप्रभुका करारको सन्दूक बोक्न, परमप्रभुको सामु खड़ा भएर उहाँको सेवा गर्न र उहाँको नाउँमा आशिष् दिन त्यस बेला परमप्रभुले लेवीको कुललाई अलग गर्नुभयो। 9 यसैकारण लेवीहरूलाई आफ्ना दाजुभाइहरूसँग कुनै हिस्सा कि उत्तराधिकार छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ परमप्रभु नै तिनीहरूका निज अधिकार हुनुहुन्छ।) 10 पहिलेझैँ म पर्वतमा चालीस दिन र चालीस रात बसें। यस पल्ट पनि परमप्रभुले मेरो बिन्ती सुन्नुभयो। उहाँले तिमीहरूलाई नाश गर्न चाहनुभएन। 11 अनि परमप्रभुले मलाई भन्नुभयो, “उठ्, मानिसहरूलाई नेतृत्व गर्, र मैले तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको देशमा पसी तिनीहरूले त्यो अधिकार गरून्।” परमप्रभुको डर मान्नू 12 यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्: तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर, 13 र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान। 14 आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, र पृथ्वी र त्यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्वरकै हुन्। 15 तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्नो प्यार खन्याई परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्नुभयो। 16 यसकारण अब आफ्ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। 17 किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र प्रभुहरूका परमप्रभु, महान् परमेश्वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ। उहाँले कसैको पक्षपात गर्नुहुन्न, र उहाँले कहिल्यै घूस लिनुहुन्न। 18 उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्छ र उनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। 19 यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। 20 परमप्रभु आफ्ना परमेश्वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। 21 उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति तिमीहरूका आफ्नै आँखाले देखेका ती महान् र आश्चर्यपूर्ण कार्यहरू गर्नुभयो। 22 तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्ती पार्नुभएको छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society