Online Bible

- Reklamy -

दानिएल 10 - नेपाली नयाँ संशोधित संस्करण


दानिएलले देखेको एक जना मानिसको दर्शन

1 फारसका राजा कोरेसको तेस्रो वर्षमा दानिएललाई (जसलाई बेलतसजर भनिन्‍थ्‍यो) एउटा दर्शन दिइयो। यस दर्शनको सन्‍देश सत्‍य थियो र यो एक ठूलो लड़ाइँको बारेमा थियो। त्‍यस सन्‍देशको अर्थ तिनलाई दर्शनमा प्राप्‍त भएको थियो।

2 त्‍यस बेला म, दानिएल, तीन हप्‍तासम्‍म शोक गर्दैरहें।

3 मैले कुनै मीठो खाना खाइनँ, न मासु न दाखमद्य मेरो मुखमा पर्‍यो, र तीन हप्‍ता नबितेसम्‍म मैले कुनै पनि किसिमको तेल घसिनँ।

4 पहिलो महिनाको चौबीसौँ दिनमा ठूलो नदी टाइग्रिसको किनारमा जसै म उभिरहेको थिएँ,

5 मैले माथि हेरें र मेरो अगि कम्‍मरमा अति राम्रो सुनको पेटी बाँधी सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें।

6 तिनको शरीर पीतमणिजस्‍तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैँ चम्‍कन्‍थ्‍यो, तिनका आँखा राँकोझैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू टल्‍काइएको काँसोजस्‍तै र तिनको स्‍वर ठूलो भीड़को स्‍वरझैँ थिए।

7 म, दानिएलले मात्र त्‍यो दर्शन देखें। मसँग भएका मानिसहरूले त्‍यो देखेनन्, तर तिनीहरूलाई यति डर आयो कि तिनीहरू भागे र आफै लुके।

8 यसकारण म त्‍यस महान्‌ दर्शन हेर्दैरहेको अवस्‍थामा एकलै छोड़िएँ। ममा कुनै बल बाँकी रहेन, मेरो अनुहार मरेतुल्‍य पहेँलो भयो र म असहाय भएँ।

9 तब तिनले बोलेका मैले सुनें र जसै मैले तिनको कुरा सुनें, म जमिनमा घोप्‍टो परेर मस्‍त निद्रामा परें।

10 एउटा हातले मलाई छोयो र म डरले कामेकै अवस्‍थामा मेरा हात र घुँड़ामा उभिन लगायो।

11 तिनले भने, “दानिएल, तिमी जो अति नै सम्‍मान गरिएका छौ, मैले तिमीलाई भन्‍न लागेका वचनहरूमा राम्रोसँग विचार गर, र खड़ा होऊ, किनभने म तिमीकहाँ पठाइएको छु।” जब तिनले यो मलाई भने, म डरले थरथर काम्‍दै उभिएँ।

12 तिनले भन्‍दैगए, “नडराऊ दानिएल, तिमीले आफ्‍नो मन समझतिर लगाएको र तिम्रा परमेश्‍वरको सामु आफैलाई नम्र तुल्‍याएको पहिलो दिनदेखि नै तिम्रा शब्‍दहरूको सुनुवाइ भएको थियो, र म तिनकै प्रतिउत्तरमा आएको छु।

13 तर फारस राज्‍यका राजकुमारले मलाई एक्‍काईस दिनसम्‍म विरोध गरे। तब प्रधान राजकुमारहरूमध्‍ये एक जना मिखाएल मलाई मदत गर्न आए, किनभने फारसको राजासँग म त्‍यहीँ रोकिएँ।

14 अब म भविष्‍यमा तिम्रा मानिसहरूलाई के हुनेछ भन्‍ने कुरा बुझाउन तिमीकहाँ आएको छु, किनभने दर्शनचाहिँ पछि हुने कुरासँग सम्‍बन्‍धित छ।”

15 तिनले मलाई यसो भन्‍दैगर्दा मैले आफ्‍नो शिर निहुराएँ र लाटो भएँ।

16 अनि मानिसजस्‍तै देखिने एक जनाले मेरो ओठ छोए, र मैले आफ्‍नो मुख खोलेर बोल्‍न लागें। मेरो सामु उभिएकालाई मैले भनें, “मेरा प्रभु, दर्शनको कारणले गर्दा म वेदनाग्रस्‍त र असहाय भएको छु।

17 म, हजूरको सेवक, कसरी हजूरसँग कुरा गर्न सक्‍छु र, मेरा प्रभु? मेरो ताकत गइसकेको छ र सास फेर्न पनि मुश्‍किल परेको छ।”

18 फेरि ती मानिसजस्‍तो देखिने व्‍यक्तिले मलाई छोएर ताकत दिए।

19 तिनले भने, “उच्‍च सम्‍मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्‍ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्‍नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।”

20 यसकारण तिनले भने, “म तिमीकहाँ किन आएको छु, तिमीलाई थाहा छ? फारसका राजकुमारको विरुद्ध लड्‌नलाई म छिटै फर्कनेछु, र जब म जान्‍छु, ग्रीसका राजकुमार आउनेछन्‌।

21 तर सत्‍यको पुस्‍तकमा के लेखिएको छ, पहिले म तिमीलाई बताउनेछु। तिम्रा राजकुमार मिखाएलले बाहेक अरू कसैले पनि तिनीहरूका विरुद्धमा लड्‌न मलाई मदत गर्दैनन्‌।”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy