प्रेरित 7 - नेपाली नयाँ संशोधित संस्करणस्तिफनसको भाषण 1 तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्?” 2 तिनले भने, “दाजुभाइ र बुबा हो, सुन्नुहोस्। महिमाका परमेश्वरले हाम्रा पितामह अब्राहामलाई तिनी हारानमा बस्न अघि मेसोपोटामियामा छँदा दर्शन दिनुभएको थियो, 3 र तिनलाई भन्नुभएको थियो, ‘तिमी आफ्नो देश र आफ्ना कुटुम्बबाट निस्केर, जुन देश म तिमीलाई देखाउँछु, त्यहाँ जाऊ।’ 4 “तब तिनी कल्दीहरूको देशबाट निस्केर हारानमा आएर बसे, र तिनका पिताको मृत्यु भएपछि परमेश्वरले तिनलाई त्यहाँबाट यस मुलुकमा सार्नुभयो, जहाँ अहिले तपाईंहरू वास गर्नुहुन्छ। 5 तिनलाई त्यस ठाउँमा जायजात त परै जाओस्, पाइला राख्ने ठाउँसम्म पनि दिनुभएन। तर तिनको सन्तान नभए तापनि त्यो जायजात परमेश्वरले तिनका सन्तान-दरसन्तानलाई निजी सम्पत्तिको रूपमा दिने प्रतिज्ञा गर्नुभयो। 6 परमेश्वरले यसरी भन्नुभयो, ‘तेरा सन्तान अर्काको मुलुकमा गएर बस्नुपर्नेछ, र उनीहरूले तिनीहरूलाई कमारा तुल्याएर चार सय वर्षसम्म थिचोमिचो गरी राख्नेछन्।’ 7 परमेश्वरले भन्नुभयो ‘तर तिनीहरू जुन जातिका कमारा भएर बस्नेछन् त्यस जातिको इन्साफ म गर्नेछु। त्यसपछि तिनीहरू निस्किआएर यसै ठाउँमा मेरो आराधना गर्नेछन्।’ 8 उहाँले तिनीसँग खतनाको करार बाँध्नुभयो, र अब्राहाम इसहाकका पिता भएर आठौँ दिनमा इसहाकको खतना गरे। इसहाक याकूबका पिता भए, र याकूब बाह्रै कुलका पिता भए। 9 “कुलपतिहरूले योसेफसँग डाह गरेर तिनलाई मिश्रदेशमा बेचिदिए। तर परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। 10 परमेश्वरले तिनका सारा कष्टबाट छुटाएर मिश्रदेशका राजा फारोको सामुन्ने तिनलाई कृपा गर्नुभयो र बुद्धि दिनुभयो, र फारोले तिनलाई मिश्रदेश र उनका सारा घरका हाकिम तुल्याए। 11 “त्यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्ट भयो, र हाम्रा पुर्खाहरूले अन्न पाएनन्। 12 तर याकूबले मिश्रदेशमा अन्न छ भन्ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए। 13 दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो। 14 योसेफले आफ्ना बुबा याकूबलाई र आफ्ना जम्मै कुटुम्बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए। 15 याकूब मिश्रदेशमा गए, र त्यहीँ उनको देहान्त भयो, र हाम्रा पुर्खाहरूको पनि त्यहाँ नै देहान्त भयो। 16 त्यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे। 17 “तर जब परमेश्वरले अब्राहामलाई गर्नुभएको करार पूरा हुने समय नजिक आयो तब मिश्रदेशमा ती मानिसहरू बढ्न लागे, र तिनीहरूको संख्यामा वृद्धि भयो। 18 तब मिश्रदेशमा योसेफलाई नचिन्ने अर्का राजा खड़ा भए। 19 उनले हाम्रा जातिसँग धूर्तताको व्यवहार गरे, र हाम्रा पुर्खाहरूलाई तिनका शिशुहरू बाहिर ल्याएर राख्न कर लाउँथे, र यसरी भर्खर जन्मेका सबै शिशुहरू मर्थे। 20 “यसै बेला मोशाको जन्म भयो। तिनी परमेश्वरको दृष्टिमा सुन्दर थिए। तिनी तीन महिनासम्म आफ्ना पिताको घरमा पालिए। 21 तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्नै छोरा तुल्याएर पालिन्। 22 मोशालाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो, र मोशा आफ्ना वचन र काममा शक्तिशाली भए। 23 “जब तिनी चालीस वर्षका भए, तब आफ्ना इस्राएली दाजुभाइहरूलाई भेट गर्ने इच्छा तिनको हृदयमा उठ्यो। 24 आफ्ना जातभाइमध्ये एक जनामाथि अन्याय भइरहेको देखेर, तिनले त्यसलाई रक्षा गरे, र त्यस अन्याय गर्ने मिश्रीलाई मारी आफ्ना भाइमाथि भएको अत्याचारको बदला लिए। 25 परमेश्वरले मेरो हातबाट तिनीहरूको उद्धार गर्नुहुन्छ भन्ने मेरा भाइबन्धुले बुझ्लान् भन्ने तिनले विचार गरेका थिए। तर तिनीहरूले सो बुझेनन्। 26 भोलिपल्ट तिनीहरू नै आपसमा झगड़ा गरिरहेको बेलामा तिनी आए, र तिनीहरूलाई मिलाउने कोसिस गरेर भने, ‘मानिस हो, तिमीहरू त दाजुभाइ हौ, तब किन एउटाले अर्कालाई अन्याय गर्छौ?’ 27 “तर आफ्नो छिमेकीमाथि अन्याय गर्नेले तिनलाई यसो भनेर घचेटिदियो, ‘हामीमाथि हाकिम र न्यायकर्ता हुन तिमीलाई कसले नियुक्त गर्यो? 28 हिजो त्यस मिश्रीलाई मारेजस्तो तिमी मलाई पनि मार्न चाहन्छौ?’ 29 यस्तो जवाफ सुनेर मोशा भागेर मिद्यान देशमा गई प्रवासी भए। त्यहाँ तिनका दुई छोराहरू जन्मे। 30 “चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे। 31 जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्क परे, र त्यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्तो वाणी भयो, 32 ‘म तिम्रा पुर्खाहरूका परमेश्वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्वर।’ मोशा काम्न लागे, र तिनले त्यतातिर हेर्नेसम्म आँट गरेनन्। 33 “तब परमप्रभुले तिनलाई भन्नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्थानमा तिमी खड़ा छौ, त्यो पवित्र स्थान हो। 34 मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’ 35 “यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्यायकर्ता तुल्यायो’ भनेर इन्कार गरेका थिए, तिनलाई परमेश्वरले पोथ्रामा देखा पर्ने स्वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्याएर पठाउनुभयो। 36 यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए। 37 “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्वरले मलाई खड़ा गर्नुभएजस्तै तिमीहरूका दाजुभाइहरूमध्येबाट तिमीहरूका निम्ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ 38 यी तिनै मोशा हुन्, जो उजाड-स्थानमा भएको समुदायमा स्वर्गदूतसँग थिए, जुन स्वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्ति जीवित वाणीहरू पाएका थिए। 39 “हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे। तिनीहरूले तिनलाई पन्छाएर मिश्रदेशमै फर्केर जाने मन गरे। 40 तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्ने कोही देवताहरू हाम्रा निम्ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्याउने यी मोशालाई के कसो भयो हामी जान्दैनौं।’ 41 ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्यसमा बलि पनि चढ़ाए, र आफ्ना हातको काममा खुशी मनाए। 42 तर परमेश्वरले तिनीहरूलाई तिरस्कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्डलको उपासना गर्न छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्म उजाड-स्थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ? 43 तिमीहरूले मोलोखको तम्बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्नलाई बनाएका मूर्तिहरू उठाइलग्यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’ 44 “उजाड-स्थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्वरको आदेशअनुसार यो बनिएको थियो। 45 हाम्रा पुर्खाहरूले पनि उनीहरूको पालोमा अन्यजातिहरूको देश अधिकारमा ल्याउँदा यहोशूको साथमा त्यो तम्बू ल्याए। दाऊदको पालोसम्मै त्यो त्यहीँ रह्यो। 46 तिनले परमेश्वरको निगाह पाए, र याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान बनाउने अनुमति मागे। 47 तर उहाँको निम्ति भवनचाहिँ सोलोमनले बनाए। 48 “तर हातले बनाएका भवनहरूमा परमेश्वर वास गर्नुहुन्न, जस्तो अगमवक्ताले भनेका छन्, 49 ‘मेरो सिंहासन स्वर्ग हो, र पृथ्वी मेरो खुट्टाको पाउदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो? 50 के यी सबै थोक मेरै हातले बनाएका होइनन् र?’ 51 “हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ। 52 अगमवक्ताहरूमध्ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्या गरे। उहाँलाई तपाईंहरूले विश्वासघात गर्नुभयो, र उहाँको हत्या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्वासघातक र ज्यानमारा हुनुभएको छ। 53 स्वर्गदूतहरूले सुम्पेको व्यवस्था तपाईंहरूले पाउनुभयो, तर त्यसको पालन गर्नुभएन।” स्तिफनसलाई ढुङ्गाले हानेर मारिएको 54 जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्न लागे। 55 तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भईकन स्वर्गतिर एकटक लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देखे। 56 तिनले भने, “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु।” 57 तर तिनीहरू उच्च सोरले कराई उठे, र आ-आफ्ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। 58 तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्ना वस्त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे। 59 जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” 60 तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society