Online Bible

- Reklamy -

प्रेरित 6 - नेपाली नयाँ संशोधित संस्करण


सात जनाको नियुक्ति

1 ती दिनमा जब चेलाहरूको संख्‍या बढ्‌दैगएको थियो, तब हिब्रूहरूका विरुद्धमा ग्रीक-यहूदीहरूले गनगन गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूका विधवाहरूले चाहिँदो भोजन पाउँदैनथिए।

2 तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्‍वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।

3 यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्‍मा र बुद्धिले भरिएका र सबैको आदर पाएका सात जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौं।

4 तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्‍पूर्ण समय दिनेछौं।”

5 यो कुरा समूहका सबैलाई मन पर्‍यो र भेला भएका जम्‍मैलाई असल लाग्‍यो, र तिनीहरूले पवित्र आत्‍मा र विश्‍वासले भरिपूर्ण भएका स्‍तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्‍टिओखियाका यहूदी मत मान्‍ने निकोलाउसलाई छाने।

6 तिनीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामुन्‍ने ल्‍याए र प्रेरितहरूले प्रार्थना गरे र यिनीहरूमाथि आफ्‍ना हात राखे।

7 परमेश्‍वरको वचन बढ्‌दैगयो, र चेलाहरूको संख्‍या यरूशलेममा अत्‍यन्‍तै बढ़्यो। पूजाहारीहरूमध्‍ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।


स्‍तिफनसको पक्राउ

8 स्‍तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्‍मका काम र चिन्‍हहरू गरे।

9 तर कोही-कोहीचाहिँ जो स्‍वतन्‍त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्‍जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्‍तिफनससँग वाद-विवाद गर्न लागे।

10 तिनी जुन बुद्धिले र आत्‍माद्वारा बोल्‍थे, तिनीहरूले त्‍यसको सामना गर्न सकेनन्‌।

11 तब तिनीहरूले गुप्‍तमा मानिसहरूलाई उक्‍साएर यसो भन्‍न लाए, “मोशा र परमेश्‍वरको विरुद्धमा यसले निन्‍दात्‍मक कुरा बोलेको हामीले सुन्‍यौं।”

12 तब तिनीहरूले जनता, धर्म-गुरु र शास्‍त्रीहरूलाई भड्‌काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्‍याए।

13 तिनीहरूले यसो भन्‍ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्‍थान र व्‍यवस्‍थाको विरुद्धमा कुराहरू बोल्‍न छोड्‌दैन।

14 किनभने यसले यसो भनेको हामीले सुन्‍यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”

15 महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्‍वर्गदूतको मोहड़ाजस्‍तै देखे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy