प्रेरित 5 - नेपाली नयाँ संशोधित संस्करणहननिया र सफीरा 1 तर हननिया नाउँका कोही एक जना र तिनकी पत्नी सफीराले एक टुक्रा जमिन बेचे, 2 र त्यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्सा आफूसँग राखे, र केही हिस्सा ल्याएर प्रेरितहरूका चरणमा राखिदिए। 3 तर पत्रुसले भने, “ए हननिया, पवित्र आत्मासँग झूट बोल्ने र जमिनको बिक्रीको मोलबाट केही हिस्सा आफूसँग राख्ने कुरा शैतानले कसरी तिम्रो मनमा भरिदियो? 4 त्यो बिक्री नभइञ्जेल के त्यो तिम्रो आफ्नै थिएन? र त्यो बिक्री भएपछि पनि त्यो तिम्रै अधिकारमा थिएन र? यस्तो काम गर्ने विचार तिम्रो हृदयमा कसरी आयो? तिमीले मानिसहरूलाई त होइन, तर परमेश्वरलाई नै ढाँटेका छौ।” 5 यो कुरा सुनेर हननिया भूइँमा लड़े र तिनले प्राण त्यागे। यो सुन्नेहरू सबैमाथि ठूलो डर छायो। 6 तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए। 7 जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्टापछि तिनकी पत्नी पनि भित्र आई। 8 पत्रुसले त्यसलाई सोधे, “मलाई भन, तिमीहरूले जमिन त्यत्तिमै बेचेका हौ?” अनि त्यसले भनी, “ज्यू, त्यत्तिमै।” 9 तर पत्रुसले त्यसलाई भने, “तिमीहरूले प्रभुका आत्माको परीक्षा गर्न कसरी मिलेर मतो गर्यौ? हेर, तिम्रा पतिलाई गाड्नेहरू ढोकामै छन् र तिनीहरूले तिमीलाई बोकेर बाहिर लैजानेछन्।” 10 अनि तुरुन्तै त्यो उनका पाउनेर लड़ी र प्राण त्याग गरी। जब जवानहरू भित्र आए, त्यसलाई मरिसकेकी देखेर बाहिर बोकेर लगे, र त्यसको पतिको नजिकमा गाडिदिए। 11 सारा मण्डलीमाथि र यी कुरा सुन्ने सबैमाथि ठूलो डर छायो। प्रेरितहरूद्वारा धेरैको रोग हरण 12 अब प्रेरितहरूका हातबाट धेरै चिन्हहरू र आश्चर्यकर्महरू जनताका बीचमा हुन लागे, र तिनीहरू सबै सोलोमनको दलानमा एकसाथ जम्मा भएका थिए। 13 तर अरूहरूमध्ये कसैको पनि तिनीहरूसँग मिल्न आउने आँट भएन, तैपनि मानिसहरूले तिनीहरूलाई आदर गर्थे। 14 प्रभुमा विश्वास गर्ने पुरुष र स्त्रीहरू दुवैको भीड झन् बढ़ी थपिन लागे, 15 यहाँसम्म कि मानिसहरूले सड़क-सड़कमा बिरामीहरूलाई ल्याए, र पत्रुस आउँदा तिनको छाया मात्र भए पनि तिनीहरूमध्ये कोही-कोहीमाथि परोस् भनी ओछ्यान र खाटहरूमा तिनीहरूलाई सुताइराख्थे। 16 यरूशलेमका वरिपरिका सहरहरूबाट पनि धेरै मानिसहरूले बिरामीहरू र अशुद्ध आत्माले सताएकाहरूलाई लिएर आउँथे र ती सबै निको हुन्थे। प्रेरितहरूलाई सतावट 17 प्रधान पूजाहारी र तिनीसँग हुने सबै (जो सदुकी पन्थका थिए) डाहले भरिएर प्रेरितहरूका विरुद्धमा खड़ा भए, 18 र तिनीहरूलाई पक्रेर सार्वजनिक झ्यालखानमा हालिदिए। 19 तर प्रभुका एउटा दूतले राती झ्यालखानका ढोकाहरू खोलिदिए, र तिनीहरूलाई बाहिर ल्याएर भने, 20 “जाओ र मन्दिरमा खड़ा भएर यस जीवनका सारा सन्देश मानिसहरूलाई सुनाओ।” 21 यो सुनेपछि तिनीहरू एकाबिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए। 22 तर अधिकृतहरूले तिनीहरूलाई झ्यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए, 23 “हामीले झ्यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।” 24 जब मन्दिरका कप्तान र मुख्य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्योलमा परे। 25 तर कोही एक जनाले आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्, तपाईंहरूले जुन मानिसहरूलाई झ्यालखानमा राख्नुभएको थियो तिनीहरू मन्दिरमा खड़ा भएर मानिसहरूलाई शिक्षा दिइरहेछन्।” 26 तब अफिसरहरूका साथमा कप्तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरू डराए। 27 उनीहरूले तिनीहरूलाई ल्याएर महासभाको अगाडि खड़ा गराए, र प्रधान पूजाहारीले तिनीहरूलाई सोधे, 28 “हामीले तिमीहरूलाई यस नाउँमा केही शिक्षा नदिने कड़ा आज्ञा दिएका थियौं, तर तिमीहरूले आफ्ना शिक्षाले सारा यरूशलेम भरिसक्यौ, र त्यस मानिसका रक्तपातको दोष हामीमाथि ल्याउन चाहन्छौ।” 29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ। 30 हाम्रा पिता-पुर्खाका परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, जसलाई तपाईंहरूले काठमा टाँगेर मार्नुभएको थियो। 31 परमेश्वरले इस्राएलको पश्चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्याईकन आफ्नो दाहिने बाहुलीले उच्च पार्नुभयो। 32 यी सबै कुराका हामी साक्षी छौं, र त्यस्तै गरी पवित्र आत्मा पनि, जसलाई परमेश्वरले आफ्ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।” 33 तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए, र तिनीहरूलाई मार्न खोजे। 34 तर व्यवस्थाका पण्डित र जनतामा माननीय गमलिएल नाम भएका फरिसीले महासभामा उठेर तिनीहरूलाई केही बेर बाहिर जाने आदेश दिए, 35 र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्नुभएको छ, त्यसमा होशियार हुनुहोस्। 36 किनकि आजभन्दा अघि पनि थूदासले कोही हुँ भन्ने दाबी गर्यो र प्राय: चार सय मानिसहरू त्यसको पछि लागे। त्यो मारियो, र त्यसको पछि लाग्नेहरू सबै छरपष्ट भए र सब व्यर्थ भयो। 37 यस मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्ने खड़ा भयो, र कतिपय मानिसहरूलाई आफूतिर खिँच्यो। त्यो पनि नष्ट भयो, र त्यसलाई मान्नेहरू यताउता छरिएर गए। 38 अहिलेको यस मामिलामा म तपाईंहरूलाई भन्दछु, कि यी मानिसहरूबाट अलग्ग बस्नुहोस्, र यिनीहरूलाई छोडिदिनुहोस्, किनकि यिनीहरूको यो योजना अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। 39 तर यदि यो परमेश्वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्न सक्नुहुन्न। नत्रता तपाईंहरू परमेश्वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।” 40 तब उनीहरूले तिनका सल्लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्नू” भन्ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए। 41 तब येशूको नाउँमा अपमान सहने योग्यका ठहरियौं भन्ने कुरामा आनन्द मनाउँदै तिनीहरू महासभाको उपस्थितिबाट निस्केर गए। 42 अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society