प्रेरित 28 - नेपाली नयाँ संशोधित संस्करणपावल माल्टामा 1 हामी सकुशल किनार लागेपछि त्यस टापूको नाउँ माल्टा रहेछ भन्ने हामीलाई थाहा लाग्यो। 2 त्यहाँका बासिन्दाहरूले हामीलाई अपूर्व दया देखाए। पानी परेर जाडो भएको कारणले तिनीहरूले आगो बालिदिए, र हामी सबैलाई स्वागत गरे। 3 पावलले एक बिटा दाउरा जम्मा गरेका थिए र सो ल्याएर आगोमा हाले। आगोको तापले एउटा सर्प निस्केर आयो, र तिनको हातमा बेह्रियो। 4 त्यहाँका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएको देखेर आपसमा भन्न लागे, “यो मानिस पक्का पनि ज्यानमारा नै हुनुपर्छ। यो समुद्रबाट बाँचेर त निस्क्यो तर इन्साफबाट यो उम्कन सकेन।” 5 तर पावलले चाहिँ त्यस सर्पलाई आगोमा झट्कारिदिए, र तिनको केही बिगार हुन पाएन। 6 तर तिनको शरीर सुनिनेछ, अथवा तिनी एक्कासि ढलेर मर्नेछन् भनी तिनीहरूले प्रतीक्षा गर्न लागे। तर धेरै बेरसम्म प्रतीक्षा गरिरहँदा पनि तिनको केही बिगार नभएको देखेर तिनीहरूले आफ्नो विचार बद्लेर भन्न लागे, “यिनी त देवता पो रहेछन्।” 7 त्यस टापूका पब्लियस नाउँ भएका मुखियाको जग्गाजमिन त्यस ठाउँको छेउछाउमा थियो। उनले हामीलाई स्वागत गरे, र तीन दिनसम्म उनको घरमा हाम्रो अतिथिसेवा गरे। 8 पब्लियसका बुबा जरो र आउँको रोगले बिरामी थिए। पावल तिनलाई हेर्न गए, र तिनको लागि प्रार्थना गरे, र आफ्नो हात तिनीमाथि राखी तिनलाई निको पारे। 9 यो घटना भएपछि, त्यस टापूका अरू रोगी मानिसहरू पनि आए, र निको पारिए। 10 तिनीहरूले धेरै प्रकारले हाम्रो आदर गरे। जब हामी जहाजमा चढ़्यौं, तिनीहरूले हामीलाई चाहिए जति सामानहरू जहाजमा हालिदिए। पावल रोममा 11 तीन महिनापछि, हामी अलेक्जेन्ड्रियाको जहाजमा चढ़्यौं। यो जहाज हिउँदमा यसै टापूमा थियो। जहाजको अगिल्लो भागमा जुम्ल्याहा देवको प्रतिमा कपेको थियो 12 सुराकुसाईमा पुगेर हामी त्यहाँ तीन दिन बस्यौं। 13 त्यहाँबाट हामी किनार-किनारै रेगियनमा आइपुग्यौं। एक दिनपछि दक्षिणी बतास चल्यो, र भोलिपल्ट हामी पटिओलीमा आइपुग्यौं। 14 त्यहाँ हामीले भाइहरूलाई भेट्यौं, र उनीहरूले हामीलाई सात दिनसम्म उनीहरूका साथमा रहनलाई बिन्ती गरे। यसरी हामी रोममा आइपुग्यौं। 15 त्यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र साहस पाए। 16 जब हामी रोममा पस्यौं, तब पावललाई एक जना सिपाहीको रेखदेखमा एकलै बस्ने अनुमति मिल्यो। रोममा पावलको प्रचार 17 तीन दिनपछि पावलले यहूदीहरूका स्थानीय अगुवाहरूलाई बोलाइपठाए। उनीहरू जम्मा भएपछि तिनले उनीहरूलाई भने, “भाइ हो, मैले त आफ्नो देशका मानिसहरू, अथवा पिता-पुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ। तापनि बन्दी भई यरूशलेमदेखि रोमीहरूका हातमा मलाई सुम्पेको छ। 18 उनीहरूले छानबिन गरेपछि ममा मृत्युदण्डको कुनै कारण नभेट्टाउँदा मलाई छोडिदिने मन गरेका थिए। 19 तर यहूदीहरूले विरोध गरेका हुनाले कैसरकहाँ अपिल गर्न मलाई करै लाग्यो— मेरो जातिको विरुद्धमा कुनै अभियोग ल्याउने कुरा थिएन। 20 यसैकारणले मैले तपाईंहरूसँग भेटेर बातचीत गर्न तपाईंहरूलाई बोलाएको हुँ। किनभने इस्राएलको आशा जो हो त्यसको निम्ति यस साङ्लामा म बाँधिएको छु।” 21 उनीहरूले तिनलाई भने, “हामीले त तपाईंको विषयमा यहूदियाबाट केही चिट्ठी पाएका छैनौं। कोही भाइहरूले आएर तपाईंको विरुद्धमा कुनै नराम्रो कुरा पनि सुनाएका वा बोलेका छैनन्। 22 तर तपाईंको विचार के हो, सो तपाईंबाट सुन्न चाहन्छौं। किनकि यस दलको विषयमा हामीलाई यति मात्र थाहा छ, कि जताततै मानिसहरू यसको विरुद्धमा मात्रै बोल्दछन्।” 23 तब उनीहरूले तिनको निम्ति एउटा दिन तोकिदिए, र धेरै संख्यामा मानिसहरू तिनको डेरामा आए। तिनले उनीहरूलाई बिहानदेखि साँझसम्मै व्याख्यान दिए, र मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट परमेश्वरका राज्यको गवाही दिए, अनि येशूको विषयमा उनीहरूलाई विश्वास दिलाउने चेष्टा गरे। 24 तिनले भनेका कुरा कतिले विश्वास गरे, कतिले गरेनन्। 25 उनीहरू आपसमा असहमत भए, र बिदा हुन लाग्दा पावलले यो अन्तिम वक्तव्य दिए, “तिमीहरूका पिता-पुर्खालाई यशैया अगमवक्ताद्वारा पवित्र आत्माले भन्नुभएको वचन ठीकै थियो, 26 ‘यी मानिसहरूकहाँ गएर भन्, “सुन्न त तिमीहरू सुन्छौ, तर कहिल्यै बुझ्दैनौ, हेर्न त हेर्छौ, तर कहिल्यै देख्दैनौ।” 27 किनभने यी मानिसहरूको हृदय बोधो भएको छ, र तिनीहरूका कान बहिरा भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आँखाले देख्नेथिए, कानले सुन्नेथिए, हृदयले बुझ्नेथिए, र फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’ 28 “यसकारण तिमीहरूलाई थाहा होस्, कि परमेश्वरको यो मुक्ति अन्यजातिहरूका निम्ति पठाइएको छ, र तिनीहरूले सुन्नेछन्।” [ 29 अनि तिनले यी वचन भनेपछि, यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै बिदा भए।] 30 पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे। 31 तिनले खुल्लमखुल्ला र विनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society