प्रेरित 26 - नेपाली नयाँ संशोधित संस्करण1 अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्नो पक्षमा बोल्ने अनुमति छ।” तब आफ्नो हात पसारेर पावलले आफ्नो बचाउमा बोल्न लागे: 2 “हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्ने मैले आफ्नो बचाउमा बोल्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्छु। 3 यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस् भनी म बिन्ती गर्दछु। 4 “मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ। 5 लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्दा कट्टर पन्थी दलअन्तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्नेछन्। 6 परमेश्वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। 7 हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्। 8 परमेश्वरले मृतकहरूलाई जीवित पार्नुहुन्छ भन्ने कुरा किन तपाईंहरू कसैलाई पत्यार नलागेको? 9 “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्ने म आफैलाई पनि विश्वास थियो। 10 मैले यरूशलेममा त्यसै गरें, र मुख्य पूजाहारीहरूबाट अख्तियार पाएर धेरै सन्तहरूलाई मैले झ्यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। 11 अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्बार सजाय दिईकन तिनीहरूलाई विश्वास त्याग गराउने चेष्टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ। 12 “यसरी मुख्य पूजाहारीहरूबाट अख्तियार र आज्ञा पत्र पाएर म दमस्कसतिर गएँ। 13 हे राजा, मध्यदिनमा मैले स्वर्गबाट सूर्यभन्दा पनि उज्ज्वल ज्योति देखें, जो म र मसँग यात्रा गर्नेहरूका चारैतिर चम्किरहेको थियो। 14 जब हामी सबै जमिनमा लोटेका थियौं, तब हिब्रू भाषामा मलाई यसो भनिरहेको आवाज मैले सुनें, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँदछौ? सुइरोमा लात हान्दा तिमीलाई नै दुख्छ।” 15 “अनि मैले भनें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ प्रभुले मलाई भन्नुभयो, ‘म येशू हुँ, जसलाई तिमी सताइरहेछौ। 16 तर उठ र आफ्ना पाउमा खड़ा होऊ, किनभने ममा तिमीले देखेका र मैले तिमीलाई देखाउने कुराका निम्ति सेवक र साक्षी नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेको छु। 17 म तिमीलाई तिम्रा आफ्नै जाति र अन्यजातिबाट छुटकारा दिनेछु, जसकहाँ म तिमीलाई पठाउनेछु, 18 कि तिमीले तिनीहरूका आँखा खोलिदेऊ, र तिनीहरू अन्धकारबाट ज्योतितर्फ, र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्कून्। यसरी तिनीहरूले पापको क्षमा पाउनेछन् र ममाथिको विश्वासद्वारा पवित्र भएकाहरूको स्थान तिनीहरूले पनि पाउनेछन्।’ 19 “यसकारण, हे राजा अग्रिपास, स्वर्गीय दर्शनप्रति म अनाज्ञाकारी भइनँ। 20 तर पहिले दमस्कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्यजातिहरूलाई पनि पश्चात्ताप गरेर परमेश्वरतिर फर्क र आफ्ना पश्चात्ताप योग्यका काम गर भनेर मैले प्रचार गरें। 21 यसैकारण यहूदीहरूले मलाई मन्दिरमा पक्रेर मार्ने चेष्टा गरे। 22 आजको दिनसम्म परमेश्वरबाट मैले सहायता पाएको छु। यसैले साना ठूला दुवैलाई गवाही दिँदै म यहाँ खड़ा भएको छु। अगमवक्ताहरूले र मोशाले बोलेका वचन अवश्य पूरा हुनेछन् भन्ने कुराबाहेक मैले अरू केही भनेको छैनँ— 23 उनीहरूले भनेका थिए कि ख्रीष्टले दुःख भोग्नैपर्छ, र मृतकबाट जीवित हुनुभएको पहिलो भएर उहाँले आफ्ना जाति र अन्यजातिहरूलाई ज्योतिको घोषणा गर्नुहुनेछ।” 24 तिनले आफ्नो बचाउका यी कुराहरू बोलिरहेकैमा फेस्तसले ठूलो स्वरमा भने, “ए पावल, तँ बौलाहा होस्, तेरो धेरै विद्याले तँलाई बौलाहा तुल्याएको छ।” 25 तर पावलले भने, “अति आदरणीय फेस्तस, म बौलाहा होइनँ, तर सत्य र सुबुद्धिका कुराहरू बोल्दछु। 26 किनकि राजा स्वयम्ले यी कुराका विषयमा जान्नुहुन्छ, जसको सामुन्ने म निर्धक्कसँग बोल्दैछु। किनकि यी कुनै कुरा उहाँबाट छिपेको छैन, किनकि यो कुरा गुपचूपमा गरिएको होइन। 27 राजा अग्रिपास, के हजूरले अगमवक्ताहरूमाथि विश्वास गर्नुहुन्छ? म जान्दछु, हजूरले विश्वास गर्नुहुन्छ।” 28 अग्रिपासले पावललाई भने, “के थोरै समयमा तिमी मलाई ख्रीष्टियान बनाउन चाहन्छौ?” 29 पावलले जवाफ दिए, “थोरै समयमा होस् कि धेरैमा यी साङ्लाहरू छोड़ेर, हजूर मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै मजस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु।” 30 तब राजा, हाकिम, बरनिकी र त्यहाँ बस्नेहरू जति सबै उठे। 31 तब तिनीहरू निस्केपछि आपसमा यसो भन्दै कुरा गरे, “यस मानिसले प्राणदण्ड पाउने अथवा कैद जाने माफिकको केही काम गरेको छैन।” 32 अग्रिपासले फेस्तसलाई भने, “यसले कैसरकहाँ अपिल नगरेको भए त यस मानिसलाई छोडिदिए पनि हुनेथियो।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society