प्रेरित 22 - नेपाली नयाँ संशोधित संस्करण1 “भाइ हो तथा बाबै हो, तपाईंहरूका सामु मैले आफ्नो पक्षमा भन्नुपर्ने कुरा अब सुन्नुहोस्।” 2 तिनी हिब्रू भाषामा बोलेका सुनेर उनीहरू अझ चूप भए। 3 तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्वरतर्फ जति उत्साही हुनुहुन्छ, म पनि त्यतिकै उत्साही थिएँ। 4 मैले यस मार्गका मानिसहरूलाई मृत्युसम्मै सताएँ, अनि पुरुष र स्त्री दुवैलाई बाँध्दै झ्यालखानमा हालिदिएँ। 5 प्रधान पूजाहारी र जम्मै महासभाले पनि मेरो पक्षमा गवाही दिन्छन्। उहाँहरूकै तर्फबाट भाइहरूका नाउँमा पुर्जी पाएर म त्यहाँ भएका विश्वासीहरूलाई बाँधेर यरूशलेममा ल्याई सजाय दिलाउन दमस्कसमा गएको थिएँ। 6 “मेरो यात्रामा दमस्कसनेर आइपुग्दा प्राय: मध्यान्ह भएको हुँदो हो, अचानक स्वर्गबाट एउटा ठूलो ज्योति मेरो वरिपरि चम्क्यो, 7 र म जमिनमा लोटें, अनि मलाई यसो भनिरहेको एउटा आवाज सुनें, ‘ए शाऊल, ए शाऊल, तिमी किन मलाई सताउँदछौ?’ 8 अनि मैले सोधें, ‘हे प्रभु, तपाईं को हुनुहुन्छ?’ अनि उहाँले मलाई भन्नुभयो, ‘नासरतको येशू मै हुँ, जसलाई तिमी सताइरहेछौ।’ 9 तब मसँग जति जना थिए, तिनीहरूले ज्योति त देखे, तर मसँग बोल्नेको शब्द भने सुनेनन्। 10 “मैले भने, ‘हे प्रभु, अब के गरूँ?’ अनि प्रभुले मलाई भन्नुभयो, ‘उठ, दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछन्।’ 11 त्यस ज्योतिको तेजले गर्दा जब मैले केही देख्न सकिनँ, तब मसँग हुनेहरूले हातले समाती डोर्याएर मलाई दमस्कसमा ल्याए। 12 “हननिया भन्ने एक जना व्यवस्थाअनुसार चल्ने भक्त मानिस जसले त्यहाँ बस्ने सबै यहूदीहरूबाट आदर पाएका थिए, 13 तिनी मकहाँ आए, र मेरो छेउमा खड़ा भएर मलाई भने, ‘भाइ शाऊल, दृष्टि प्राप्त गर्नुहोस्।’ र मैले त्यही घड़ी दृष्टि प्राप्त गरें, र तिनलाई देखें। 14 “अनि तिनले भने, ‘हाम्रा पिता-पुर्खाका परमेश्वरले उहाँको इच्छा तपाईंले जान्न, र ती धार्मिक पुरुषलाई देख्न, र उहाँको मुखबाट शब्द सुन्न तपाईंलाई नियुक्त गर्नुभएको छ। 15 किनकि सबै मानिसहरूका सामु उहाँको निम्ति तपाईंले जे देख्नु र सुन्नुभएको छ, तपाईं त्यसको साक्षी हुनुहुनेछ। 16 त अब किन पर्खनुहुन्छ? उठ्नुहोस्, र बप्तिस्मा लिनुहोस्, अनि उहाँको नाउँको पुकार गरेर आफ्ना पाप धुनुहोस्।’ 17 “यरूशलेममा फर्केर आएपछि मन्दिरमा प्रार्थना गरिरहँदा म ध्यान-मग्न भएँ। 18 उहाँले मलाई यसो भनिरहनुभएको मैले देखें, ‘चाँड़ो गरेर यरूशलेमबाट निस्किहाल, किनकि मेरो विषयमा तिमीले दिएको गवाही तिनीहरूले ग्रहण गर्नेछैनन्।’ 19 “मैले भनें, ‘हे प्रभु, मैले हरेक सभाघरमा गएर तपाईंमाथि विश्वास गर्नेहरूलाई झ्यालखानमा हालेको र कुटपिट गरेको यिनीहरू सबैलाई थाहै छ। 20 तपाईंको साक्षी स्तिफनसको रक्तपात हुँदा म आफै पनि नजिकै उभी त्यस हत्यामा सहमत भई, उसलाई मार्नेहरूका वस्त्र कुरेर बसेका थिएँ। 21 “तब प्रभुले मलाई भन्नुभयो, ‘जाऊ, किनकि म तिमीलाई अन्यजातिहरूकहाँ टाढ़ा-टाढ़ासम्म पठाउनेछु’।” 22 उनीहरूले पावलका कुरा यहाँसम्म मात्र सुने, र यसो भन्दै उनीहरू चर्को सोरले चिच्च्याउन थाले, “यस्तो मानिस पृथ्वीबाट हटाइओस्। किनकि त्यो बाँच्ने योग्यको छैन।” 23 उनीहरू आफ्ना वस्त्र च्यात्दै र धुलो उड़ाउँदै कराउन लागे। 24 सेनापतिले हुकुम गरे, “त्यो ब्यारेकभित्र ल्याइओस्, र कोर्रा लाएर जाँचिओस्, कि किन त्यसको विरुद्धमा तिनीहरू यसरी कराइरहेछन्।” 25 अनि जब तिनीहरूले पावललाई छालाका डोरीले बाँधे, तब पावलले नजिकै उभिएका कप्तानलाई सोधे, “के रोमी नागरिक र दोषी नठहरिएको मानिसलाई कोर्रा लगाउन न्यायसङ्गत हो?” 26 कप्तानले यो सुनेपछि सेनापतिकहाँ आई यसो भने, “तपाईंले के गर्न आँट्नुभएको छ? किनकि यो मानिस त रोमी नागरिक रहेछ।” 27 तब सेनापतिले आएर पावललाई सोधे, “मलाई भन्, के तँ रोमी नागरिक होस्?” तिनले भने, “हुँ।” 28 सेनापतिले जवाफ दिए, “मैले त यो नागरिक हक धेरै रुपियाँ तिरेर किनेको हुँ।” पावलले भने, “तर म त जन्मसिद्ध रोमी हुँ।” 29 तर तिनलाई जाँच गर्न तयार भएकाहरू सबै तुरुन्तै हटेर गए, र पावल एक रोमी नागरिक रहेछन् भनी थाहा पाएर सेनापति पनि डराए, किनकि उनले तिनलाई बाँधेका थिए। पावल महासभाको सामुन्ने 30 तर भोलिपल्ट यहूदीहरूले पावललाई कुन खास कारणले दोष लाएका थिए सो बुझ्ने इच्छाले तिनलाई फुकाइदिए, र सबै मुख्य पूजाहारीहरू र महासभालाई जम्मा हुने आज्ञा गरे, अनि पावललाई तल ल्याई तिनीहरूका सामुन्ने खड़ा गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society