Online Bible

- Reklamy -

प्रेरित 16 - नेपाली नयाँ संशोधित संस्करण


पावल र सिलाससँग तिमोथीको भेट

1 पावल डर्बी र लुस्‍त्रामा पनि आए। त्‍यहाँ तिमोथी नाउँ भएका एक जना चेला थिए। तिनी एउटी विश्‍वासी यहूदी स्‍त्रीका छोरा थिए, तर तिनका बुबा भने ग्रीक थिए।

2 लुस्‍त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो।

3 तिनलाई पावलले साथमा लैजान इच्‍छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्‍ने उनीहरू सबैलाई थाहा थियो।

4 अब तिनीहरू सहरहरूका बाटो भएर जाँदा तिनीहरूले यरूशलेमका प्रेरितहरू र एल्‍डरहरूले गरेका निर्णयहरू यिनीहरूलाई पालन गर्नू भनी सुनाइदिए।

5 यसरी मण्‍डलीहरू विश्‍वासमा दह्रिला हुँदै र संख्‍यामा दिनहुँ बढ्‌दैगए।


माकेडोनिया जाने दर्शन

6 पवित्र आत्‍माबाट एशियामा वचन प्रचार गर्न मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातियाका इलाकाहरू भएर गए।

7 माइसियाको साँधमा आएपछि तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे। तर येशूका आत्‍माले तिनीहरूलाई जान दिनुभएन।

8 तब माइसिया भएर तिनीहरू त्रोआसमा गए।

9 राती पावललाई एउटा दर्शन भयो— माकेडोनियाको एक जना मानिस खड़ा भई तिनलाई बिन्‍ती गरिरहेको थियो, “माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नोस्‌।”

10 जब तिनले यो दर्शन पाए, तुरुन्‍तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्‍चय गर्‍यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाउनुभएको रहेछ।


फिलिप्‍पीमा लिडियाको परिवर्तन

11 तब हामीहरू त्रोआसबाट जहाजमा चढ़ी सोझै सामोथ्राकेतिर गयौं, र भोलिपल्‍ट नियापोलिसमा आइपुग्‍यौं,

12 र त्‍यहाँबाट फिलिप्‍पीमा आइपुग्‍यौं, जो माकेडोनियाको प्रमुख सहर र रोमी उपनिवेश पनि हो। हामी त्‍यस सहरमा केही दिन बस्‍यौं।

13 अब शबाथमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयौं, किनकि त्‍यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी हामीले अनुमान लगाएका थियौं, र त्‍यहाँ हामी बस्‍यौं र जम्‍मा भएका स्‍त्रीहरूसँग बातचीत गर्न लाग्‍यौं।

14 अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्‍त्रको व्‍यापार गर्ने लिडिया नाउँकी एउटी ईश्‍वरभक्त स्‍त्रीले हाम्रा वचन सुनिन्‌। पावलले बोलेका कुरा ध्‍यानसँग सुनून्‌ भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो।

15 जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।


पावल र सिलास झ्‍यालखानमा

16 जब हामी प्रार्थना गर्ने ठाउँमा गइरहेका थियौं, तब जोखना हेर्ने आत्‍मा भएकी एउटी कमारी केटीसँग हाम्रो भेट भयो, जसले जोखना हेरेर त्‍यसका मालिकहरूका निम्‍ति धेरै कमाइ गरिदिन्‍थी।

17 त्‍यो पावल र हाम्रा पछिपछि लागी, र यसो भन्‍दै चिच्‍च्‍याई, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन्‌। यिनीहरूले तिमीहरूलाई मुक्तिका बाटोको घोषणा गर्छन्‌।”

18 त्‍यसले धेरै दिनसम्‍म यसो गरिरही। तब पावलले झिजो मानेर फनक्‍क फर्की त्‍यस दुष्‍टात्‍मालाई भने, “येशू ख्रीष्‍टको नाउँमा म तँलाई त्‍यसबाट निस्‍कने आज्ञा गर्दछु।” अनि त्‍यो दुष्‍टात्‍मा त्‍यही घड़ी निस्‍किहाल्‍यो।

19 तर त्‍यसका मालिकहरूले तिनीहरूका कमाइका आशा विफल भएको देखेर पावल र सिलासलाई समातेर बजारको चोकमा शासकहरूकहाँ तान्‍दै लगे।

20 अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्‍याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्‍चाउँछन्‌।

21 यिनीहरूले यस्‍ता-यस्‍ता प्रथाहरू सिकाउँछन्‌ जो हामी रोमीहरूलाई ग्रहण गर्न वा पालन गर्न न्‍यायसङ्गत छैन।”

22 तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।

23 उनीहरूले तिनीहरूलाई निकै छड़ी लगाएपछि तिनीहरूलाई झ्‍यालखानमा हालिदिए, र झ्‍यालखानका हाकिमलाई यी कैदीहरूलाई कड़ा निगरानीमा राख्‍ने हुकुम दिए।

24 यस्‍तो हुकुम पाएर उनले तिनीहरूलाई झ्‍यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए।

25 तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।

26 तब एक्‍कासि एउटा ठूलो भैँचालो गयो, र झ्‍यालखानका जगहरू हल्‍लिए, र तुरुन्‍तै जम्‍मै ढोकाहरू उघ्रिए, र सबैका बन्‍धनहरू खुले।

27 झ्‍यालखानका हाकिम निद्राबाट ब्‍यूँझे, र झ्‍यालखानका ढोकाहरू उघ्रेका देखेर कैदीहरू सबै भागिसके भन्‍ठानेर उनले अपहत्‍या गर्ने विचारले आफ्‍नो तरवार थुते।

28 तर पावलले चर्को सोरले यसो भन्‍दै कराए, “तपाईंले आफूलाई केही नोक्‍सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।”

29 तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे।

30 तिनीहरूलाई बाहिर ल्‍याएर उनले भने, “उद्धार पाउनलाई मैले के गर्नुपर्छ?”

31 अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”

32 तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए।

33 तब रातको त्‍यही घड़ी उनले तिनीहरूलाई लगेर घाउ धोइदिए। अनि उनी र उनका परिवारले तुरुन्‍तै बप्‍तिस्‍मा लिए।

34 त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए।

35 तर उज्‍यालो भएपछि सहरका हाकिमहरूले सिपाहीहरूलाई यो आदेश दिई पठाए, “ती मानिसहरूलाई छोडिदेओ।”

36 तब झ्‍यालखानका हाकिमले पावललाई यो कुरा सुनाए, “सहरका हाकिमहरूले तपाईंहरूलाई छोडिदिने आदेश दिनुभएको छ। यसकारण अब निस्‍केर शान्‍तिसँग जानुहोस्‌।”

37 तर पावलले तिनीहरूलाई भने, “हामी रोमी नागरिकलाई दोषी नै नठहराईकन उनीहरूले मानिसहरूका सामुन्‍ने पिटे, र झ्‍यालखानमा पनि हाले, र अब हामीलाई गुप्‍तमा निकाल्‍न खोज्‍छन्‌? यो हुन सक्‍दैन। उनीहरू आफै आऊन्‌ र हामीलाई निकालेर लैजाऊन्‌।”

38 ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।

39 उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे।

40 तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy