Online Bible

- Reklamy -

प्रेरित 10 - नेपाली नयाँ संशोधित संस्करण


पत्रुस र कर्नेलियस

1 कैसरियामा कर्नेलियस नाउँका एक जना मानिस थिए, जो इटालिया भन्‍ने पल्‍टनका एक कप्‍तान थिए।

2 तिनी ईश्‍वरभक्त थिए, र तिनी र तिनको सारा परिवारले परमेश्‍वरको भय मान्‍थे। तिनले मानिसहरूलाई उदारतासाथ दान दिई परमेश्‍वरलाई सधैँ प्रार्थना गर्थे।

3 तिनले दिउँसो तीन बजेतिर दर्शनमा स्‍पष्‍ट रूपले परमेश्‍वरका एउटा स्‍वर्गदूत आफूतर्फ आएर यसो भनिरहेका सुने, “कर्नेलियस!”

4 भयभीत भएर तिनले उनलाई नियालेर हेरे र भने, “प्रभु, भन्‍नुहोस्‌।” अनि उनले तिनलाई भने, “तिम्रा प्रार्थना र गरीबहरूलाई दिएका दान सम्‍झनाको रूपमा परमेश्‍वरको सामने पुगेका छन्‌।

5 अब मानिसहरूलाई योप्‍पामा पठाऊ, र पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ।

6 तिनी चर्मकार सिमोनकहाँ बसेका छन्, जसको घर समुद्रको किनारमा छ।”

7 जब तिनीसँग बोल्‍ने स्‍वर्गदूत बिदा भए, तब तिनले आफ्‍ना नोकरहरूमध्‍ये दुई जना र निरन्‍तर तिनको सेवा-टहल गर्ने एक जना भक्त सिपाहीलाई बोलाए,

8 र तिनीहरूलाई सबै कुरा बताएर योप्‍पामा पठाए।


पत्रुसको दर्शन

9 भोलिपल्‍ट तिनीहरू आफ्‍नो यात्रामा त्‍यस सहरको नजिक आइपुग्‍दा, दिउँसो बाह्र बजेतिर पत्रुसचाहिँ प्रार्थना गर्न घरको कौसीमा उक्‍ले।

10 तिनी भोकाए, र तिनले केही खाने मन गरे, तर अरूहरूले भोजन तयार गरिरहेको बेला तिनी ध्‍यान-मग्‍न भए।

11 तिनले स्‍वर्ग उघ्रेको र त्‍यहाँबाट चारै कुनामा बाँधिएको तन्‍नाजस्‍तो केही पृथ्‍वीतिर झरिरहेको देखे।

12 त्‍यस तन्‍नामा पृथ्‍वीका सबै किसिमका चारखुट्टे जनावर र घस्रने प्राणी र आकाशका चराचुरुङ्गीहरू थिए।

13 तब तिनले एउटा आवाज सुने, “ए पत्रुस उठ, र मारेर खाऊ।”

14 तर पत्रुसले भने, “होइन प्रभु, किनभने मैले कहिल्‍यै केही अपवित्र वा अशुद्ध थोक खाएको छैनँ।”

15 त्‍यो आवाज फेरि दोस्रो पल्‍ट तिनले सुने, “परमेश्‍वरले जे शुद्ध गर्नुभएको छ त्‍यसलाई तिमी अपवित्र नठान।”

16 तीन पल्‍टसम्‍म यस्‍तो भयो, र तुरुन्‍तै त्‍यो तन्‍ना स्‍वर्गतिर लगियो।

17 जब पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर मनमनै अन्‍योलमा परेका थिए, त्‍यति नै बेला कर्नेलियसले पठाएका मानिसहरू सिमोनको घर खोज्‍दै ढोका अगाडि खड़ा भए,

18 “पत्रुस भनिने सिमोन यहाँ बसेका छन्‌ कि?” भनी उच्‍च सोरमा सोधे।

19 जब पत्रुस दर्शनको विषयमा विचार गरिरहेका थिए तब पवित्र आत्‍माले तिनलाई भन्‍नुभयो, “हेर, तीन जना मानिसले तिमीलाई खोज्‍दैछन्‌।

20 उठ, र तल जाऊ, र नहिचकिचाईकन तिनीहरूका साथ लाग, किनभने तिनीहरूलाई मैले पठाएको हुँ।”

21 तब पत्रुस ओर्ले, र ती मानिसहरूकहाँ गएर भने, “हेर, तिमीहरूले खोजेको मानिस मै हुँ। तिमीहरू यहाँ आएको कारण के हो?”

22 तिनीहरूले भने, “एक जना कप्‍तान कर्नेलियस, जो सोझा र परमेश्‍वरसँग डराउने र सारा यहूदी जातिबाट सम्‍मान पाएका व्‍यक्ति हुनुहुन्‍छ, तपाईंलाई उहाँको घरमा बोलाइपठाउने र तपाईंबाट सन्‍देश सुन्‍नू भनी एउटा पवित्र स्‍वर्गदूतबाट उहाँलाई आदेश मिलेको छ।

23 तब तिनले तिनीहरूलाई भित्र बोलाएर तिनीहरूको सत्‍कार गरे। भोलिपल्‍ट पत्रुस उठेर तिनीहरूसँग गए, र योप्‍पाका कतिपय भाइहरू तिनको साथ लागे।


कर्नेलियसको घरमा पत्रुस

24 पर्सिपल्‍ट तिनीहरू कैसरिया पुगे। आफ्‍ना कुटुम्‍बहरू र घनिष्‍ठ मित्रहरूलाई बोलाएर जम्‍मा गरी कर्नेलियस तिनीहरूको बाटो हेरिरहेका थिए।

25 जब पत्रुस भित्र आए तब कर्नेलियसले तिनीसँग भेट गरी तिनका पाउ परी दण्‍डवत्‌ गरे।

26 तर पत्रुसले उनलाई यसो भन्‍दै उठाए, “उठ्‌नुहोस्, म आफै पनि त मानिस नै हुँ।”

27 तब तिनी उनीसँग कुरा गर्दै घरभित्र गए, र त्‍यहाँ तिनले धेरै जना जम्‍मा भएका भेट्टाए।

28 तब पत्रुसले तिनीहरूलाई भने, “अरू जातिसँग सङ्गत गर्नु, अथवा तिनीहरूलाई भेटघाट गर्नु एक यहूदीको लागि कति अनुचित हो भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ, तापनि परमेश्‍वरले मलाई कुनै मानिसलाई अपवित्र अथवा अशुद्ध नठान्‍नू भनी देखाउनुभएको छ।

29 यसैकारण डाक्‍ने बित्तिकै केही आपत्ति नजनाई म तपाईंहरूकहाँ आएँ। तपाईंहरूले मलाई किन डाक्‍नुभयो? अब भन्‍नुहोस्‌।”

30 तब कर्नेलियसले भने, “चार दिनअघि प्राय: यही समय घरमा म तीन बजेको प्रार्थना गरिरहेको थिएँ, तब चहकिलो पोशाक पहिरेका एक जना मानिस मेरो सामुन्‍ने खड़ा भए,

31 र भने, ‘कर्नेलियस, परमेश्‍वरको सामुन्‍ने तिम्रो प्रार्थनाको सुनाइ भएको छ, र तिमीले गरीबहरूलाई दिएका दानको सम्‍झना भएको छ।

32 यसकारण योप्‍पामा मान्‍छे पठाएर पत्रुस भनिने सिमोनलाई बोलाइपठाऊ। तिनी समुद्रको किनारमा चर्मकार सिमोनको घरमा बसेका छन्‌।’

33 तब मैले तुरुन्‍तै तपाईंकहाँ मानिस पठाएँ, र तपाईं कृपापूर्वक आउनुभयो। अब प्रभुबाट तपाईंलाई आज्ञा भएका सबै कुराहरू सुन्‍न हामी सबै परमेश्‍वरको सामुन्‍ने यहाँ उपस्‍थित छौं।”

34 तब पत्रुसले बोल्‍न थाले, “साँच्‍ची नै म देख्‍तछु, कि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न,

35 तर हरेक जातिमा जो उहासँग डराउँछ, र उचित काम गर्छ, त्‍यो उहाँको सामुन्‍ने ग्रहणयोग्‍य हुन्‍छ।

36 परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्‍देश, अर्थात्‌ ख्रीष्‍टद्वारा प्रचार गरिएको शान्‍तिको सुसमाचार तपाईंहरूलाई थाहा छ। (उहाँ नै सबैका प्रभु हुनुहुन्‍छ।)

37 यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्‍मापछि, गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि प्रचार गरिएको वचन यही हो,

38 कि परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो। उहाँ सुकर्म गर्दै र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै हिँड्‌नुभयो, किनकि परमेश्‍वर उहाँको साथमा हुनुहुन्‍थ्‍यो।

39 “अनि उहाँले यहूदीहरूको देशमा र यरूशलेममा गर्नुभएका सबै कुराका हामी साक्षी हौं। उहाँलाई तिनीहरूले काठमा झुण्‍ड्याएर पनि मारे।

40 उहाँलाई नै परमेश्‍वरले तेस्रो दिनमा जीवित पारी उठाउनुभयो, र उहाँलाई प्रकट गराउनुभयो,

41 सबै मानिसलाई होइन, तर हामी जसलाई परमेश्‍वरले साक्षीको रूपमा छान्‍नुभयो, र उहाँ मृतकबाट जीवित हुनुभएपछि हामीले उहाँसँग खानपान गर्‍यौं।

42 उहाँले हामीलाई जनतामा प्रचार गर्न, र उहाँ जीवित र मृतकहरूका न्‍यायकर्ता हुनलाई परमेश्‍वरद्वारा नियुक्त हुनुभएको व्‍यक्ति हुनुहुन्‍छ भन्‍ने गवाही दिनलाई आज्ञा गर्नुभएको छ।

43 सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्‍वास गर्ने प्रत्‍येकले उहाँको नाउँद्वारा पाप-क्षमा पाउँछ।”

44 पत्रुसले यी कुरा बोल्‍दाबोल्‍दै वचन सुन्‍ने सबैमाथि पवित्र आत्‍मा ओर्लनुभयो।

45 अन्‍यजातिहरूमाथि पनि पवित्र आत्‍माको वरदान खन्‍याइएको देखेर पत्रुसको साथमा आउने यहूदी विश्‍वासीहरू आश्‍चर्यचकित भए।

46 किनकि अन्‍य भाषामा बोलेर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका उनीहरूले सुने। तब पत्रुसले भने,

47 “हामीझैँ पवित्र आत्‍मा पाउने यिनीहरूलाई पानीको बप्‍तिस्‍मा हुनदेखि कसले मनाही गर्न सक्‍छ?”

48 अनि तिनले तिनीहरूलाई येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्‍मा दिनू भनी आज्ञा गरे। तब तिनीहरूले पत्रुसलाई केही दिन त्‍यहीँ रहनुहोस्‌ भनी अनुरोध गरे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy