२ तिमोथी 2 - नेपाली नयाँ संशोधित संस्करण1 यसकारण तिमी, मेरो बालक, ख्रीष्ट येशूमा भएको अनुग्रहमा बलियो होऊ। 2 धेरै जना साक्षीहरूका उपस्थितिमा तिमीले मबाट जे कुरा सुनेका छौ, ती अरूहरूलाई पनि सिकाउन सक्ने विश्वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ। 3 ख्रीष्ट येशूका असल सिपाहीझैँ दुःख-भोगमा हामीसँग सहभागी होऊ। 4 सेनामा भर्ना भएको सिपाही अरू धन्धामा अल्झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हुन्छ। 5 प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन। 6 परिश्रम गर्ने किसानले नै बालीको पहिलो हिस्सा पाउनुपर्दछ। 7 म के भन्दछु त्यो विचार गर, किनभने प्रत्येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ। 8 मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो। 9 त्यही सुसमाचार, जसको निम्ति म कष्ट भोगिरहेछु र अपराधीजस्तै साङ्लामा बाँधिएको छु। तर परमेश्वरको वचन त साङ्लामा बाँधिँदैन। 10 यसकारण चुनिएकाहरूका खातिर म हरेक कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्त महिमासहित ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून्। 11 यो भनाइ निश्चित छ, यदि हामी उहाँसँग मरेका छौं भने, हामी पनि उहाँसँगै जिउनेछौं, 12 हामीले सह्यौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं, हामीले उहाँलाई इन्कार गर्यौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ, 13 हामी अविश्वासी छौं भने, उहाँ विश्वासयोग्य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न। परमेश्वरद्वारा नियुक्त कामदार 14 यो कुरा तिनीहरूलाई सम्झाइदेऊ, र प्रभुको सामु आज्ञा देऊ, कि तिनीहरूले शब्दहरूका विषयमा तर्कवितर्क नगरून्, जसले भलाइ गर्दैन, तर केवल सुन्नेहरूलाई हानि पुर्याउँछ। 15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर। 16 भक्तिहीन बकबक त्याग, किनकि यसले मानिसहरूलाई झन् बढ़ी भक्तिहीनतातिर लानेछ। 17 तिनीहरूको बातचीत सइनको घाउजस्तो गाडिँदैजानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्। 18 पुनरुत्थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्किएका छन्। कति जनाको विश्वासलाई यिनीहरूले खलबल्याइरहेका छन्। 19 तर परमेश्वरको दृढ़ जग खड़ै रहन्छ, र त्यसमा यो छाप लागेको छ, “प्रभुले आफ्ना जतिलाई चिन्नुहुन्छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्।” 20 ठूलो घरमा सुन र चाँदीका भाँड़ाहरू मात्र हुँदैनन्, तर काठ र माटोका पनि हुन्छन्, कुनै आदर र कुनै अनादरका निम्ति। 21 जे कुरो अनादरको छ, यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो आदरका कामको लागि एउटा पात्र बन्नेछ, र घरका मालिकको निम्ति चोखो, उपयोगी, र कुनै पनि असल कामको निम्ति तयार रहनेछ। 22 यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख। 23 तर मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर— तिमी जान्दछौ यिनीहरूबाट झगड़ा हुन्छ। 24 प्रभुको सेवक झगड़ालु हुनुहुँदैन, तर हरेकको लागि दयालु, योग्य शिक्षक, सहनशील, 25 र नम्रतासाथ आफ्ना विरोधीहरूलाई सुधार्ने हुनुपर्दछ, र शायद परमेश्वरले तिनीहरूलाई पश्चात्ताप गर्ने, सत्यतालाई बुझ्ने मन दिनुहुनेछ, 26 र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्नलाई कैदी बनाएको छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society