Online Bible

- Reklamy -

२ तिमोथी 1 - नेपाली नयाँ संशोधित संस्करण

1 ख्रीष्‍ट येशूमा भएका जीवनको प्रतिज्ञाअनुसार परमेश्‍वरको इच्‍छाद्वारा ख्रीष्‍ट येशूको प्रेरित पावलबाट,

2 मेरो प्रिय बालक, तिमोथीलाई: परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्‍ति।


विश्‍वासयोग्‍य भइरहनलाई प्रोत्‍साहन

3 जब म तिमीलाई निरन्‍तर आफ्‍ना प्रार्थनाहरूमा सम्‍झन्‍छु, म परमेश्‍वरलाई धन्‍यवाद दिन्‍छु, जसको सेवा मेरा पितापुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्दछु।

4 तिम्रो आँसु सम्‍झँदा रातदिन तिमीलाई भेट्‌ने मेरो उत्‍कट इच्‍छा हुन्‍छ, र म आनन्‍दले भरिन सकूँ।

5 मलाई तिम्रो निष्‍कपट विश्‍वासको सम्‍झना हुन्‍छ। त्‍यो विश्‍वास, जो पहिले तिम्री बज्‍यै लोइसमा थियो, र तिम्री आमा युनिसमा, अनि मलाई निश्‍चय छ, त्‍यो विश्‍वास तिमीमा पनि रहेको छ।

6 त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख।

7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

8 यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्‍वरको शक्तिमा सुसमाचारको निम्‍ति दुःख-भोगमा तिमी सहभागी होऊ।

9 उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्‍नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्‍ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो,

10 जुन अनुग्रह अब हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा प्रकट गर्नुभएको छ। उहाँले मृत्‍युलाई नाश गरेर जीवन र अविनाशलाई सुसमाचारद्वारा प्रकाशमा ल्‍याउनुभयो।

11 यसै सुसमाचारको निम्‍ति म एक प्रचारक, प्रेरित र शिक्षक नियुक्त भएँ।

12 यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्‍वास राखेको छु सो म जान्‍दछु, र मलाई निश्‍चय छ, जुन कुरा त्‍यस दिनसम्‍म मैले उहाँलाई सुम्‍पेको छु, त्‍यो सुरक्षित राख्‍न सक्‍ने उहाँ हुनुहुन्‍छ।

13 ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर।

14 तिमीलाई जिम्‍मा लाएको सत्‍यलाई हामीमा वास गर्नुहुने पवित्र आत्‍माद्वारा सुरक्षित राख।

15 एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्‍ये फुगेलस र हर्मोगेनस हुन्‌।

16 प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्‍सर हौसला दिन्‍थे, र मेरो साङ्‌लाको शर्म मान्‍दैनथे,

17 तर तिनी रोम आएपछि धुँइधुँइती खोजेर मलाई भेट्टाए।

18 प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्‌। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy