२ थेसलोनिकी 3 - नेपाली नयाँ संशोधित संस्करणप्रार्थनाको लागि निवेदन 1 अन्त्यमा भाइ हो, हाम्रा निम्ति प्रार्थना गर, ताकि प्रभुको वचन शीघ्रतासाथ फैलिओस् र विजयी होस्, जसरी तिमीहरूका माझमा भएको पनि थियो, 2 र भ्रष्ट र दुष्ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्वास हुँदैन। 3 तर प्रभु त विश्वासयोग्य हुनुहुन्छ। उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ र दुष्टबाट सुरक्षित राख्नुहुनेछ। 4 हामी जुन कुराको आज्ञा दिन्छौं, ती तिमीहरू गरिरहेछौ र गर्नेछौ भन्ने हामीले तिमीहरूका बारे प्रभुमा भरोसा राखेका छौं। 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्वरको प्रेम र ख्रीष्टको धैर्यतिर डोर्याऊन्। अल्छेलाई चेताउनी 6 अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस। 7 किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्दछौ। हामी तिमीहरूसँग छँदा अल्छे भई बसेनौं। 8 हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस् भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्यौं। 9 सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस् भनेर हामीले त्यसो गर्यौं। 10 तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौं, “कसैले काम गर्दैन भने त्यसले नखाओस्।” 11 किनकि हामी सुन्दछौं, कि तिमीहरूमध्ये कतिले अल्छे जीवन बिताइरहेका छौ। तिनीहरू आफूचाहिँ केही काम गर्दैनन् तर अरूको काममा व्यर्थै हात हाल्छन्। 12 अब यस्ता मानिसहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा हामी आज्ञा र अर्ती दिन्छौं, कि तिनीहरूले चूपचाप आफ्ना काम गरून् र आफ्ना जीविका चलाऊन्। 13 तिमीहरूचाहिँ भाइ हो, भलाइ गर्नमा थकित नहोओ। 14 यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्कार गर्छ भने, त्यस मानिसलाई चिनिराख र त्यससँग केही सम्बन्ध नराख, र त्यो शर्ममा परोस्। 15 तैपनि त्यसलाई शत्रुजस्तो नठान, तर भाइलाई जस्तो गरी त्यसलाई चेताउनी देओ। आखिरी अभिवादन 16 अब शान्तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसँग रहून्। 17 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरो सबै पत्रको चिनारी यही हो। त्यसरी नै म लेख्दैछु। 18 हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society