२ शमूएल 8 - नेपाली नयाँ संशोधित संस्करणदाऊदका विजयहरू 1 त्यसपछि दाऊदले पलिश्तीहरूलाई जिते, र उनीहरूमाथि तिनी विजयी भए, अनि उनीहरूका हातबाट मेथेगआमाह कब्जा गरे। 2 दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे। 3 यसबाहेक यूफ्रेटिस नदीको किनारमा आफ्नो अधीन फेरि राख्नलाई गइरहेको बेलामा सोबाका राजा, रहोबका छोरा हददेजेरलाई पनि दाऊदले जिते। 4 दाऊदले उनीबाट एक हजार रथ, सात हजार सारथि र बीस हजार पैदल-सिपाहीलाई कैद गरे। आफ्नो निम्ति एक सय राखेका बाहेक तिनले सबै रथका घोड़ाहरूका ढोड़नसा काटिदिए। 5 जब दमस्कसमा अरामीहरू सोबाका राजा हददेजेरलाई सहायता गर्नलाई आए, तब दाऊदले उनीहरूका बाईस हजारलाई मारे। 6 अनि तिनले यी अरामीहरूका बीचमा छाउनी राखे। उनीहरू तिनका अधीनमा भए, र तिनलाई राजकर तिर्ने गरे। यसरी नै जहाँ दाऊद गए, परमप्रभुले तिनलाई विजयी तुल्याउनुभयो। 7 हददेजेरका अधिकृतहरूका सुनका ढालहरू दाऊदले लिए, र ती यरूशलेममा ल्याए। 8 तिनले हददेजेरका सहरहरू, तेबह र बेरोतैबाट धेरै काँसाहरू ल्याए। 9 जब दाऊदले हददेजेरका सारा सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने, 10 तब उनले आफ्ना छोरा योरामलाई दाऊदकहाँ अभिनन्दन चढ़ाउन र लड़ाइँमा हददेजेरलाई परास्त गरेकामा दाऊदलाई बधाई दिनलाई पठाए। (किनभने हददेजेर र तोऊको बीचमा युद्ध चलिरहेको थियो।) अनि योरामले आफूसँग सुन, चाँदी र काँसाका सामग्रीहरू ल्याए। 11 ती सामग्रीचाहिँ दाऊद राजाले परमप्रभुमा अर्पण गरे, जसरी आफूले परास्त गरेका सबै जातिका सुन र चाँदीलाई तिनले अर्पण गर्ने गर्थे। 12 ती हुन्: एदोम, मोआब, अम्मोनीहरू, पलिश्ती र अमालेकीहरू। सोबाका राजा रहोबका छोरा हददेजेरबाट लिएका लूटका माल पनि अर्पण गरे। 13 नूनको उपत्यकामा अठार हजार एदोमीहरूलाई मारेर दाऊदले ठूलो नाउँ कमाए। 14 अनि फर्कंदा तिनले एदोमभरि छाउनीहरू राखे, र सबै एदोमीहरू तिनका अधीनमा भए। यसरी दाऊद जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ परमप्रभुले तिनलाई विजय दिनुभयो। दाऊदका अधिकारीहरू 15 दाऊदले सारा इस्राएलमाथि राज्य गरे, र आफ्ना सबै प्रजाका निम्ति जे-जति ठीक थियो, त्यही गरे। 16 सरूयाहका छोरा योआब सेनापति थिए। अहीलूदका छोरा यहोशापात लेखापाल थिए। 17 अहीतूबका छोरा सादोक र अबियाथारका छोरा अहीमेलेक पूजाहारीहरू थिए। सरायाह सचिव थिए। 18 यहोयादाका छोरा बनायाह करेती र पेलेथीमाथि अधिकृत थिए। दाऊदका छोराहरूचाहिँ राजकीय सल्लाहकार थिए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society