२ शमूएल 19 - नेपाली नयाँ संशोधित संस्करणयोआबको सल्लाह 1 अब्शालोमको निम्ति राजा रुँदै र विलाप गर्दैहुनुहुन्छ भनी योआबले सुने। 2 अनि त्यस दिनको विजय जम्मै सेनाको निम्ति शोकमा परिणत भयो, किनभने तिनीहरूले सुने कि राजा आफ्नो छोराको निम्ति शोकित हुनुभएको छ। 3 लड़ाइँबाट भाग्दा आफ्ना अनुहार देखाउन लाज मानेका मानिसहरूझैँ तिनीहरू चूपचाप सहरभित्र पसे। 4 राजाले आफ्नो अनुहार ढाकेर ठूलो सोरले रुँदै भने, “मेरो छोरो अब्शालोम! हे अब्शालोम, मेरो छोरो, मेरो छोरो!” 5 तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्नीहरू र उपपत्नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्जित तुल्याउनुभयो। 6 हजूरलाई घृणा गर्नेहरूलाई हजूर प्रेम गर्नुहुन्छ, अनि हजूरलाई प्रेम गर्नेहरूलाई घृणा गर्नुहुन्छ। हजूरले हामी सेनापतिहरू र हाम्रा मानिसहरूलाई हजूरको दृष्टिमा केही होइनौं भनी देखाउनुभयो। यो स्पष्ट देखियो कि आज अब्शालोम बाँचेर हामी सबै मरेका भए हजूर खुशी हुनुहुनेथियो। 7 अब झट्टै गएर आफ्ना मानिसहरूलाई उत्साह दिनुहोस्। यदि हजूरले इन्कार गर्नुभयो भने, परमप्रभुको शपथ खाएर म भन्दछु, कि आज राति एउटै मानिस पनि हजूरसँग हुनेछैन। हजूरले आफ्नो जवान अवस्थादेखि भोग्नुभएका सबै सङ्कष्टभन्दा पनि यो सङ्कष्टचाहिँ सबैभन्दा खराब हुनेछ।” 8 तब राजा उठे र मूल ढोकामा बसे। अनि जब राजा मूल ढोकामा बसिरहनुभएको छ भनी मानिसहरूलाई सुनाइयो तब तिनीहरू सबै राजाको सामुन्ने देखा परे। त्यस बेलासम्ममा इस्राएलीहरूचाहिँ आ-आफ्नो घरमा भागिसकेका थिए। दाऊद यरूशलेममा फर्केका 9 इस्राएलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्दैथिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो, र पलिश्तीहरूको शक्तिबाट छुटाउनुभयो, अनि अब अब्शालोमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ। 10 तर हामीले राजा अभिषेक गरेका अब्शालोम लड़ाइँमा मारिएका छन्। यसकारण अब राजालाई फर्काएर ल्याउने युक्ति हामीले किन नगर्ने?” 11 तब दाऊद राजाले सादोक र अबियाथार पूजाहारीहरूलाई यसो भनिपठाए, “यहूदाका धर्म-गुरुहरूलाई सोध: ‘राजालाई तिनका महलमा ल्याउनलाई किन तिमीहरू सबैभन्दा पछि हुने, किनभने जुन कुरा सारा इस्राएलमा गरिँदैछ त्यो कुरा राजाको घरमा पुगिसकेको छ। 12 तिमीहरू मेरा दाजुभाइ हौ, मेरै हाड़ र मासु। राजालाई ल्याउनलाई तिमीहरू किन सबैभन्दा पछिल्ला हुने?’ 13 अनि अमासालाई भन, ‘तिमी त मेरै हाड़ र मासु होइनौ र? यदि तिमी योआबको सट्टामा तिम्रो जीवनभरि नै मेरा सेनापति बनेनौ भने, परमेश्वरले मप्रति कठोर व्यवहार गरून्’।” 14 दाऊदको यो समाचारले यहूदाका सबै मानिसहरूको मन एउटै मान्छेको मनजस्तै गरी जित्यो। अनि तिनीहरूले राजालाई आफ्ना सबै मानिसहरूका साथ फर्कनुहोस् भनी आग्रह गरी पठाए। 15 यसैले राजा फर्के र यर्दनमा आए। मानिसहरू अब राजालाई भेट्न र नदी पारि लैजानलाई यहूदाका गिलगालमा आएका थिए। 16 बहूरीमका बेन्यामीनी गेराका छोरा शिमी दाऊद राजालाई भेट्नलाई हतार-हतार गरी यहूदाका मानिसहरू सँगसँगै गए। 17 उनीसँग शाऊलको घरानाका भण्डारे सीबा पनि, आफ्ना पन्ध्र भाइ छोरा र बीस जना चाकरसमेत, र एक हजार बेन्यामीनीहरू लिएर गए। तिनीहरू यर्दन नदीमा कुदेर गए, जहाँ राजा थिए। 18 जँघारमा पार गरेर तिनीहरूले राजाका घरानालाई तार्न लागे, र तिनको हुकुमअनुसार गर्ने उत्साह देखाए। गेराका छोरा शिमी यर्दन पार गरेपछि राजाको सामुन्ने घोप्टो परे, 19 र राजालाई भने, “हजूरले मलाई दोषी ठहराउनुभयो होला। हजूरले यरूशलेम छोड्नुहुँदा हजूरको दासले कस्तो निर्लज्ज व्यवहार गरेको थियो, ती सबै हजूरले नसम्झनुहोला भन्ने मेरो बिन्ती छ। त्यो कुरा राजाले मनमै नराख्नुहोला। 20 किनभने मैले खराब काम गरें भनी म स्वीकार गर्दछु, तर आज हजूरलाई यहाँ भेट्न योसेफको सारा घरानाको प्रथम मानिस म नै हुँ।” 21 तब सरूयाहका छोरा अबीशैले भने, “परमप्रभुका अभिषिक्त राजालाई सरापेको हुनाले शिमी मारिनुपर्दैन र?” 22 दाऊदले जवाफ दिए, “हे सरूयाहका छोराहरू हो, तिमीहरूलाई मसँग के सरोकार? तिमीहरू आज मेरा विरोधीहरू बनेका छौ। आजको दिन इस्राएलमा किन कुनै मानिस मारिने? आज म इस्राएलका राजा भएँ भन्ने कुरा मलाई थाहा छैन र?” 23 तब राजाले शिमीलाई भने, “तँ मारिनेछैनस्।” अनि राजाले शपथ खाएर यो कुरालाई पक्का गरे। 24 शाऊलका नाति मपीबोशेत पनि राजालाई भेट्न तल झरे। राजा बाहिर गएको दिनदेखि विजयसाथ नफर्केको दिनसम्म उनले न त आफ्ना खुट्टाका नङ, न दाह्री नै काटेका थिए, न आफ्ना लुगाहरू धोएका थिए। 25 जब उनी यरूशलेमबाट राजालाई भेट्न आए, तब दाऊदले उनलाई भने, “मपीबोशेत, तिमी किन मसित आएनौ?” 26 उनले जवाफ दिए, “हजूर, मेरो नोकर सीबाले मलाई धोका दियो। म त गधामा जीन-लगाम कसेर राजाको साथमा जानलाई इच्छा गरेको थिएँ, किनभने म लङ्गड़ा छु। 27 त्यसले हजूर राजाको सामु मेरो विरुद्धमा कुरा लगाएको छ। हजूर त परमेश्वरका दूतजस्तै हुनुहुन्छ। हजूरलाई जे ठीक लाग्छ सो गर्नुहोस्। 28 मेरा बाजेका सबै घराना, सबका सब, हजूरको हातबाट मारिने योग्यका थिए, तर हजूरको दास, मलाई हजूरले हजूरसँगै खान दिनुभयो। यसभन्दा बढ़ी निगाह मैले अरू के आशा गर्नु र?” 29 राजाले जवाफ दिए, “बस, भयो। मैले यो निश्चय गरिसकेको छु— तिमी र सीबाले जग्गाजमिन बाँड़ेर लानू।” 30 मपीबोशेतले भने, “त्यसले नै सबै लैजाओस्, किनभने हजूर कुशलसित घर आइपुग्नुभयो।” 31 गिलादी बर्जिल्लै पनि रोगलीमबाट तल झरे, र राजालाई यर्दन पारि पुर्याउनलाई राजाकहाँ यर्दनमा आए। 32 बर्जिल्लै चाहिँ असी वर्षका साह्रै वृद्ध मानिस थिए। राजा महनोममा बस्दा तिनले नै राजालाई खानेकुरा जुटाइदिएका थिए, किनभने तिनी खूबै धनाढ्य मानिस थिए। 33 राजाले बर्जिल्लैलाई भने, “मसँग पार तरेर जाऊँ, म तिम्रो निम्ति यरूशलेममा मेरो घरानासँग तिम्रो बस्ने-खाने प्रबन्ध गरिदिनेछु।” 34 बर्जिल्लैले राजालाई उत्तर दिए, “हजूरको दास हजूरसँग यरूशलेममा जानलाई साह्रै वृद्ध भएको छ। 35 म असी वर्ष पुगिसकें। असल र खराबको ज्ञान अब मलाई छैन। मैले खाएको-पिएको कुराको मलाई स्वाद हुँदैन। पुरुष र स्त्रीले गाएको सोर म सुन्न सक्दिनँ। यसकारण म अझै हजूरको साथमा भार किन हुने? 36 हजूरको दास यर्दन पारि अलिक परसम्म हजूरको साथमा जानेछ। तर राजाले मलाई किन यस्तो असल इनाम दिनुहुन्छ? 37 मलाई फर्कनलाई अनुमति दिनुहोस् र मेरा माता-पिताका चिहानको नजिक, मेरै सहरमा, मेरो बाँकी दिन बिताउन सकुँला। तर यहाँ हजूरको दास किमहाम छ। त्यसलाई हजूरसँग पारि लैजानुहोस्, अनि हजूरलाई जे असल लाग्छ, त्यसको निम्ति गर्नुहोस्।” 38 राजाले जवाफ दिए, “त्यसो भए, किमहाम मसँग पारि जाओस्, र तिमीलाई जे असल लाग्छ सो त्यसको निम्ति म गरिदिनेछु। अनि तिमी जे माग्छौ सो म तिम्रो निम्ति गर्नेछु।” 39 तब सबै मानिसहरू यर्दन पारि तरे, र त्यसपछि राजा तरे। तब राजाले बर्जिल्लैलाई चुम्बन गरे, र तिनलाई आफ्नो आशीर्वाद दिए, अनि बर्जिल्लै आफ्नो घरमा फर्किगए। 40 राजा पारि तरेर गिलगालमा आए, अनि किमहाम तिनीसँग थिए। यहूदाका सबै मानिसहरू र इस्राएलका आधा मानिसहरूले राजालाई नदी पारि पुर्याए। 41 त्यसपछि इस्राएलका सबै मानिसहरू एकसाथ जम्मा भएर राजाकहाँ आए, र यसो भने, “किन हाम्रा दाजुभाइ, यहूदाका मानिसहरूले हजूरलाई लगे, अनि राजा र तिनका घराना र तिनका सबै मानिसहरूलाई लगेर यर्दन पारि ल्याए?” 42 यहूदाका मानिसहरूले जवाफ दिए, “किनभने महाराजा त हाम्रा नजिकका नातादार हुनुहुन्छ। यसमा तपाईं किन रिसाउनुहुन्छ? के हामीले राजाको धन खाएका छौं? के हामीले केही उपहार आफ्नै लागि लिएका छौं?” 43 इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्, अनि त्यसबाहेक दाऊदमाथि तपाईंहरूको भन्दा हाम्रो बढ़ी हक छ। तपाईंहरू हामीलाई किन तुच्छ सम्झनुहुन्छ? राजालाई फर्काइल्याउने कुरा के हामीले पहिले निकालेका थिएनौं र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् कड़ा कुरा गरे। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society