Online Bible

- Reklamy -

२ शमूएल 18 - नेपाली नयाँ संशोधित संस्करण


अब्‍शालोमको हार र म‌ृत्यु

1 दाऊदले आफूसँग भएका मानिसहरूलाई लड़ाइँको लागि जम्‍मा गरे, अनि हजार-हजार र सय-सयमाथि सेनापतिहरू नियुक्त गरे।

2 त्‍यसपछि तिनले आफ्‍नो सेनालाई तीन भागमा विभक्त गरे— एक तिहाइ योआबको अधीनमा, एक तिहाइ सरूयाहका छोरा अबीशै, योआबका भाइको अधीनमा र एक तिहाइ गित्ती इत्तैको अधीनमा। राजाले सेनालाई भने, “म पनि तिमीहरूसँगै लड़ाइँमा जानेछु।”

3 तर मानिसहरूले भने, “होइन, हजूरचाहिँ नआउनुहोला। यदि हामीले फर्केर भाग्‍नुपर्‍यो भने कसैले हामीलाई केही वास्‍ता गर्नेछैन। हामी आधै मर्‍यौं भने पनि उनीहरूले वास्‍ता गर्नेछैनन्‌। तर हजूर त हामी दश हजार बराबर हुनुहुन्‍छ। यसैले हजूर सहरमा बसेर हाम्रो सहायता गर्नुभए असल हुनेछ।”

4 राजाले जवाफ दिए, “त्‍यसो भए तिमीहरूलाई जस्‍तो ठीक लाग्‍छ म त्‍यही गर्नेछु।” यसैले राजा मूल ढोकाको छेउमा उभिरहे, अनि सेनाचाहिँ हजार-हजार र सय-सयका पङ्‌क्तिमा तिनकै नजिकबाट हिँड़ेर गयो।

5 राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्‍यस जवान अब्‍शालोमसित नरम व्‍यवहार गर्नू।” अब्‍शालोमलाई जोगाइदिनू भनी राजाले आफ्‍ना प्रत्‍येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने।

6 तब सेना इस्राएलीहरूका विरुद्धमा लड़ाइँ गर्न गयो, अनि लड़ाइँ एफ्राइमको वनमा भयो।

7 त्‍यहाँ दाऊदका मानिसहरूका सामुन्‍ने इस्राएलीहरू परास्‍त भए। अनि यति ठूलो संहार भयो कि बीस हजार मानिसहरू त्‍यस दिन मारिए।

8 लड़ाइँ चारैतिर फैलियो, अनि वनमा नष्‍ट भएकाहरू तरवारले मर्ने मानिसहरूभन्‍दा धेरै थिए।

9 अब दाऊदका कतिपय मानिसहरूले अब्‍शालोमलाई देखे। तिनी एउटा खच्‍चरमा चढ़िरहेका थिए, तर जब त्‍यो खच्‍चर एउटा ठूलो फलाँटको रूखमुनिबाट भएर गयो, तब अब्‍शालोमको कपाल हाँगामा अल्‍झ्‍यो, तिनी झुण्‍डिए, अनि खच्‍चरचाहिँ त्‍यस हाँगामुनिबाट छिरिगयो।

10 ती मानिसहरूमध्‍येको एक जनाले त्‍यो देखेर योआबलाई यसो भन्‍यो, “मैले अब्‍शालोमलाई एउटा फलाँटको रूखमा झुण्‍डिएका देखें।”

11 यो कुरा भन्‍ने मानिसलाई योआबले भने, “तैंले त्‍यसलाई देखिस्‌? तैंले त्‍यसलाई त्‍यत्ति नै बेला किन प्रहार गरिनस्‌? म तँलाई दश चाँदीका सिक्‍का र एउटा बहादुरीको पटुका दिनेथिएँ।”

12 तर त्‍यस मानिसले उत्तर दियो, “तपाईंले मलाई एक हजार चाँदीका सिक्‍का दिनुभएको भए तापनि म राजपुत्रको विरुद्धमा हात उठाउनेथिइनँ। किनभने ‘जसले त्‍यस जवान अब्‍शालोमलाई फेला पार्ला त्‍यसले उसलाई मेरो खातिर जोगाइदिनू भनी राजाले तपाईं, अबीशै र इत्तैलाई हुकुम गर्नुभएको हामी सबैले सुनेका थियौं।

13 अनि मैले मेरो प्राण जोखिममा हाली धोखाबाजी गरेर तिनलाई मारेको भए राजाले तुरुन्‍तै यो कुरा थाहा पाउनुहुनेथियो, र तपाईंचाहिँ मदेखि अलग्‍गै बस्‍नुहुनेथियो।”

14 योआबले भने, “तँसित मेरो समय फाल्‍न म चाहन्‍नँ।” तब योआबले तीन वटा बर्छा लिए, र अब्‍शालोम रूखमा त्‍यसरी जिउँदै झुण्‍डिरहेको बेलामा तिनको छातीमा रोपिदिए।

15 तब योआबका हतियार बोक्‍ने दश जना मानिसहरूले अब्‍शालोमलाई घेरे, र तिनलाई प्रहार गरे, र मारे।

16 तब योआबले तुरही बजाए, र सेना इस्राएललाई खेद्‌न छोड़ेर फर्के, किनभने योआबले सेनालाई रोके।

17 तिनीहरूले अब्‍शालोमको लाश लगेर वनको एउटा ठूलो खाड़लमा फ्‍याँकिदिए, र त्‍यसमाथि ढुङ्गाको थुप्रो लगाइदिए। यसै बीचमा इस्राएलीहरू सबै आ-आफ्‍नो घरमा भागेर गए।

18 आफू जिउँदो हुँदा अब्‍शालोमले राजाको बेँसीमा एउटा खामो लगेर खड़ा गरेका थिए, किनभने तिनी सोच्‍थे, “मेरो नाउँ राख्‍नलाई मेरो छोरो छैन।” तिनले त्‍यस खामोलाई आफ्‍नै नाउँ दिए, अनि आजको दिनसम्‍म त्‍यस खामोलाई अब्‍शालोमको स्‍मारक भनिन्‍छ।


दाऊदको विलाप

19 सादोकका छोरा अहीमासले भने, “परमप्रभुले राजालाई आफ्‍ना शत्रुहरूका हातबाट छुटाउनुभयो भन्‍ने समाचार राजालाई दिन भनी मलाई दगुरी जान अनुमति दिनुहोस्‌।”

20 तर योआबले जवाफ दिए, “आजको दिन तिमीले समाचार लाने होइन। अर्को दिन तिमीले समाचार लगे हुन्‍छ, तर आज होइन। किनभने राजाको छोरो आज मरेको छ।”

21 तब योआबले एउटा कूशीलाई भने, “तैंले देखेको कुरा गएर राजालाई सुनाइदे।” तब त्‍यस कूशीले निहुरेर योआबलाई दण्‍डवत्‌ गर्‍यो, र दगुरेर गयो।

22 सादोकका छोरा अहीमासले फेरि योआबलाई बिन्‍ती गरे। तिनले भने, “जे भए तापनि मलाई कूशीको पछिपछि दगुरेर जान दिनुहोस्‌।” योआबले सोधे, “ए मेरा छोरा, तिमी किन जाने? तिम्रो समाचारको निम्‍ति तिमीले केही इनाम पाउनेछैनौ।”

23 अहीमासले भने, “जेसुकै होस्‌। म कुदेर जानेछु।” योआबले भने, “त्‍यसो भए जाऊ।” तब अहीमास यर्दनको मैदानको बाटो भएर कुदे, र त्‍यस कूशीलाई उछिने।

24 त्‍यस बेला दाऊद बाहिरी र भित्री मूल ढोकाहरूका बीचमा बसिरहेका थिए। अनि जब पहरादारले पर्खालको मूल ढोकाको छानुमा गएर हेर्न लाग्‍यो, तब त्‍यसले एक जना मानिसलाई एकलै दगुर्दै आइरहेको देख्‍यो।

25 त्‍यस पहरादारले कराएर राजालाई यो कुरा बताइदियो। राजाले भने, “त्‍यो एकलै छ भने त्‍यसले केही राम्रो समाचार ल्‍याएको होला।” त्‍यो मानिस झन्‌ नजिक आइपुग्‍यो।

26 तब त्‍यस पहरादारले अर्को एक जना मानिसलाई पनि कुद्‌दै आइरहेको देख्‍यो। त्‍यसले तल बसेको ढोकेलाई भन्‍यो, “हेर त, अर्को एक जना मानिस पनि एकलै कुद्‌दै आउँदैछ।” राजाले भने, “त्‍यसले पनि राम्रो समाचार ल्‍याउँदै होला।”

27 त्‍यस पहरादारले भन्‍यो, “त्‍यो अगिल्‍लोको दौड़ त सादोकका छोरा अहीमासको जस्‍तै छ।” राजाले भने, “तिनी एक असल मानिस हुन्, र शुभ समाचार लिएर आउँदैछन्‌।”

28 तब अहीमासले कराएर राजालाई भने, “सब ठीक छ।” राजाको सामुन्‍ने घोप्‍टो परेर तिनले भने, “परमप्रभु हजूरका परमेश्‍वरको प्रशंसा होस्, जसले हजूरको विरुद्धमा उठ्‌ने मानिसहरूलाई हजूरको हातमा सुम्‍पिदिनुभएको छ।”

29 राजाले सोधे, “के जवान अब्‍शालोम कुशलै छ?” अहीमासले जवाफ दिए, “हजूरका दास योआबले म तपाईंको दासलाई पठाउनुभएको हो। मैले त ठूलो खैलाबैला भएको देखें, तर के भएको थियो मलाई थाहा भएन।”

30 राजाले तिनलाई एकातिर उभिने आज्ञा गरे। तिनी एकातिर गएर उभिए।

31 तब त्‍यस कूशीले आएर भन्‍यो, “हजूर, समाचार असल छ! हजूरको विरुद्धमा उठ्‌ने सबैबाट परमप्रभुले आज तपाईंलाई उद्धार गर्नुभएको छ।”

32 राजाले त्‍यस कूशीलाई सोधे, “के त्‍यो जवान मानिस अब्‍शालोम कुशलै छ?” कूशीले जवाफ दियो, “राजाका सबै शत्रुहरू र सबै बागीहरू, जसले हजूरको हानि गर्न खोज्‍छन्‌ उनीहरूको दशा पनि त्‍यही जवान मानिसको जस्‍तै होस्‌।”

33 तब राजा शोकाकुल भएर मूल ढोकामाथिको कोठामा गएर रोए, अनि माथि हिँड्‌दैजाँदा तिनी यसो भन्‍दै रोए, “हाय मेरो छोरो! मेरो छोरो अब्‍शालोम, मेरो छोरो अब्‍शालोम! तेरो सट्टामा मै मरेको भए त हुनेथियो! हाय अब्‍शालोम, मेरो छोरो, मेरो छोरो!”

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy