Online Bible

- Reklamy -

२ शमूएल 15 - नेपाली नयाँ संशोधित संस्करण


अब्शालोमको षड्‌यन्त्र

1 त्‍यसपछि अब्‍शालोमले आफ्‍नो निम्‍ति एउटा रथ, घोड़ाहरू र आफ्‍नो अगिअगि दगुर्नलाई पचास जना मानिसहरू लिए।

2 तिनी बिहान सबेरै उठेर सहरको मूल ढोकातिर जाने बाटोनेर उभिने गर्थे। अनि कुनै मानिस राजाकहाँ इन्‍साफ माग्‍न आउँदा अब्‍शालोमले त्‍यस मानिसलाई बोलाएर कुन सहरबाट आएको हो भनी सोध्‍थे। “हजूर, म इस्राएलको फलानो कुलको हुँ,” भनी जब तिनले जवाफ पाउँथे,

3 तब अब्‍शालोमले त्‍यसलाई भन्‍थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्‍ने राजाको कुनै प्रतिनिधि नै छैन।”

4 अनि अब्‍शालोमले अझै यसो पनि भन्‍थे, “यदि म यस देशमा न्‍यायाधीश नियुक्त भएको भए यस्‍तो मुद्दा ल्‍याउने हरेक मानिसको ठीक इन्‍साफ गरिदिने मेरो कर्तव्‍य हुनेथियो।”

5 जब कुनै मानिस तिनलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गर्नलाई आउँथ्‍यो, तब अब्‍शालोमले आफ्‍नो हात पसारेर त्‍यसलाई समाती अँगालो हालेर म्‍वाइँ खान्थे।

6 राजाकहाँ इन्‍साफ माग्‍ने हरेकसँग यस्‍तै व्‍यवहार गरेर अब्‍शालोमले इस्राएलीहरूको प्‍यार आफूतिर खिँचे।

7 चार वर्षपछि अब्‍शालोमले राजालाई भने, “परमप्रभुको निम्‍ति भाकल पूरा गर्नलाई म हेब्रोनमा जान चाहन्‍छु।

8 किनभने म अरामको गशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ: ‘यदि परमप्रभुले मलाई यरूशलेममा ल्‍याउनुभयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु’।”

9 राजाले जवाफ दिए, “शान्‍तिसित जाऊ।” तब तिनी हेब्रोनमा गए।

10 तब अब्‍शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्‍त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्‍ने बित्तिकै तिमीहरूले भन, ‘अब्‍शालोम हेब्रोनमा राजा हुनुभयो’!”

11 दुई सय जना मानिसहरू यरूशलेमबाट अब्‍शालोमका साथ गएका थिए। तिनीहरूले निम्‍तो पाएका थिए, र यस कुराको केही थाहै नपाई तिनीहरू अजानमा गए।

12 अब्‍शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्‌यन्‍त्र खूब प्रबल हुँदैगयो, र अब्‍शालोमतर्फ लागेका मानिसहरूको संख्‍या पनि बढ्‌दैगयो।


दाऊद यरूशलेमबाट भागेका

13 एक जना सन्‍देशवाहक आएर दाऊदलाई भन्‍यो, “इस्राएलका मानिसहरूको मन त अब्‍शालोमतिर छ।”

14 तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्‍नुपर्छ, नत्रता हामी कोही पनि अब्‍शालोमको हातबाट उम्‍कन पाउनेछैनौं। हामी तुरुन्‍तै भाग्‍नुपर्छ, नत्रता त्‍यो हामीमाथि आइलाग्‍नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्‍यसले हामीमाथि विपत्ति ल्‍याउनेछ।”

15 राजाका अधिकारीहरूले भने, “हजूरले जसो उचित सम्‍झनुहुन्‍छ त्‍यसो गर्नलाई हामी तयार छौं।”

16 तब राजा निस्‍केर गए, र महलको हेरचाह गर्ने दश जना उपपत्‍नीहरूबाहेक तिनको घरानाका सबै मानिसहरू पनि तिनकै पछिपछि लागे।

17 तिनीहरू केही टाढ़ासम्‍म गएर अड़िए।

18 गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्‍ने हिँड़ेर गए।

19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्‍शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्‍नो देशबाट निकालिएका पनि हौ।

20 तिमी त हिजोअस्‍ति मात्र आएका हौ, अनि आज मेरो भ्रमणमा मसित तिमीलाई सहभागी हुन मैले कसरी कर लगाउनू? म कहाँ जानेछु म आफै जान्‍दिनँ। घर जाऊ, र तिम्रा निज देशवासीहरूलाई पनि साथै लैजाऊ। कृपा र विश्‍वास तिमीसित रहून्‌।”

21 तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्‍दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्‍छ, त्‍यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।”

22 दाऊदले इत्तैलाई भने, “हुन्‍छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्‍नो जम्‍मै दल र तिनीसँग भएका सबै लावालश्‍करसाथ हिँड़े।

23 यसरी तिनीहरू सबै जना निस्‍केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्‍सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्‌न लागे।

24 सादोक पनि सबै लेवीहरूका साथमा त्‍यहाँ थिए। तिनीहरूले परमेश्‍वरका करारको सन्‍दूक बोकेर लगिरहेका थिए। त्‍योचाहिँ तिनीहरूले अड़ाएर राखे र सबै मानिसहरू सहरबाट निस्‍केर नजाउञ्‍जेल अबियाथारले बलिदानहरू चढ़ाउन लागे।

25 तब राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्‍दूक सहरमा फर्काएर लैजाऊ। यदि परमप्रभुको निगाह ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्‍याउनुहुनेछ, र म सन्‍दूकलाई र उहाँको वासस्‍थानलाई फेरि देख्‍न पाउनेछु।

26 यदि उहाँले मसँग प्रसन्‍न हुनुहुन्‍न भनी भन्‍नुभयो भने म यहीँ छु। उहाँले मलाई जे गर्न चाहनुहुन्‍छ सो मसँग गरून्‌।”

27 राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्‍य देख्‍न सक्‍छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्‍तिसँग सहरमा फर्केर जाओ।

28 म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्‍जेल पर्खिबस्‍नेछु।”

29 तब सादोक र अबियाथारले परमेश्‍वरको सन्‍दूक यरूशलेममा फर्काइलगे, र तिनीहरू त्‍यहीँ नै बसे।

30 जैतून डाँड़ाको उकालोमा जाँदा दाऊद रोए। तिनले शिर ढाकेका थिए, र नाङ्गो खुट्टाले हिँड़ेर गए। तिनीसँग भएका सबै मानिसहरू पनि शिर ढाकेर रुँदै हिँड़े।

31 षड्‌यन्‍त्रकारीहरूमध्‍ये अहीतोपेल अब्‍शालोमसँग छन्‌ भनी दाऊदलाई सुनाइयो। तब दाऊदले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, अहीतोपेलको सल्‍लाहलाई व्‍यर्थ तुल्‍याइदिनुहोस्‌।”

32 जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्‍वरलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गरिन्‍थ्‍यो, तब अरकी हूशै आफ्‍ना लुगा च्‍यातीकन आफ्‍नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए।

33 दाऊदले तिनलाई भने, “तिमी मसँग आयौ भने मलाई भार मात्र हुनेछ,

34 तर यदि तिमी सहरमा फर्किगएर अब्‍शालोमलाई ‘म हजूरको दास हुनेछु, अहिलेसम्‍म त म हजूरका पिताको दास थिएँ, तर अब म हजूरको दास हुनेछु’ भनी भन्‍यौ भने, अहीतोपेलको सल्‍लाह खतम गर्नमा तिमीले मलाई सहायता गर्न सक्‍नेछौ।

35 तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्‌। राजाको महलमा जे-जे कुरा तिमी सुन्‍नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ।

36 तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्‌। तिमी जे सुन्‍छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।”

37 यसैले अब्‍शालोम यरूशलेममा पस्‍दापस्‍दै दाऊदका मित्र हूशै सहरमा आए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy