२ पत्रुस 2 - नेपाली नयाँ संशोधित संस्करणझूटा शिक्षकहरू र तिनको विनाश 1 जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्याउनेछन्। 2 र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ। 3 लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ। 4 स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। 5 उहाँले प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनताको संसारमा जलप्रलय गराउनुहुँदा धार्मिकताका प्रचारक नोआ र अरू सात जनालाई सुरक्षित राख्नुभयो। 6 उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। 7 उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। 8 (ती मानिसहरूका माझमा बस्दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा, तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे।) 9 यसरी भक्तलाई परीक्षाबाट बचाउन र भक्तिहीनहरूलाई न्यायको दिनसम्म दण्डमा जकड़िराख्न प्रभु जान्नुहुन्छ, 10 विशेष गरी तिनीहरूलाई, जो अशुद्ध पार्ने कामवासनामा डुबिरहन्छन्, र अधिकारको अवहेलना गर्छन्। यिनीहरू हठी र अहङ्कारी हुन्छन्, र स्वर्गीय प्राणीहरूको निन्दा गर्न डर मान्दैनन्। 11 तर स्वर्गदूतहरू शक्ति र सामर्थ्यमा अझ उच्च भए तापनि प्रभुको सामने ती प्राणीहरूलाई निन्दापूर्ण दोष दिँदैनन्। 12 तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्दा गर्छन्। यिनीहरू विवेकहीन जनावरहरूजस्ता छन्, र स्वाभाविक इच्छाहरूका वशमा रहन्छन्। यिनीहरू पक्रेर मारिनलाई जन्मेकाहरूजस्तै छन्, र यिनीहरू पशुहरूजस्तै नष्ट हुनेछन्। 13 आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्। दिउँसै भोग-विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन्। तिनीहरू धब्बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्। 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्, र जत्ति पाप गर्दा पनि नअघाउने हुन्छन्। तिनीहरूले चञ्चल मन भएकाहरूलाई फुस्लाउँछन्। तिनीहरूका हृदयले लोभमा तालीम पाएका हुन्छन्। तिनीहरू श्रापित सन्तान हुन्। 15 सोझो मार्ग छोड़ेर तिनीहरू कुमार्गमा लागेका छन्। खराब कामको लाभ असल मान्ने बओरको छोरो बालामको पछि तिनीहरू लागेका छन्। 16 त्यसले आफ्नै अपराधको निम्ति हप्की पाएको थियो— गूँगो गधाले मानिसको बोलीमा त्यस अगमवक्ताको पागलपनालाई रोकिदिएको थियो। 17 तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्। तिनीहरूका निम्ति पातालको अन्धकार साँचिएको छ। 18 तिनीहरू मूर्खतापूर्ण ठूला-ठूला अहङ्कारका कुरा हाँक्छन्, र कुमार्गबाट भर्खरै उम्केर आएकाहरूलाई शरीरका विलासमय कामवासनाका कुराले फसाउँछन्। 19 तिनीहरूलाई स्वतन्त्रता दिलाइदिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफै भ्रष्टताका दास छन्, किनकि जुन कुराले कुनै मानिसलाई जित्छ त्यही कुराले त्यसलाई दास बनाउँछ। 20 तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ। 21 किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो। 22 यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।” |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society