Online Bible

- Reklamy -

२ राजा 5 - नेपाली नयाँ संशोधित संस्करण


नामान कुष्‍ठरोगबाट निको भएका

1 नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्‍ना मालिकको दृष्‍टिमा एक ठूला मानिस थिए, र अति इज्‍जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्‍याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्‍ठरोगी पनि थिए।

2 अब अरामबाट दलहरू गएर इस्राएलबाट एउटी जवान ठिटीलाई कैद गरेर ल्‍याएका थिए, र त्‍यसले नामानकी पत्‍नीको चाकरी गर्थी।

3 त्‍यसले आफ्‍नी मालिक्‍नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्‍नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!”

4 नामान आफ्‍ना मालिककहाँ गएर इस्राएलबाट ल्‍याएकी त्‍यस ठिटीले भनेको कुरा बताइदिए।

5 अरामका राजाले जवाफ दिए, “हुन्‍छ, तिमी जाऊ। म इस्राएलका राजालाई एउटा पत्र पठाउनेछु।” यसैले नामान आफ्‍नो साथमा सत्तरी किलोग्राम सुन र तीन सय चालीस किलोग्राम चाँदी र दश जोर लुगा लिएर गए।

6 उनले इस्राएलका राजाकहाँ लगेको पत्र यस्‍तो थियो: “यो पत्रसाथै म तपाईंकहाँ मेरो दास नामानलाई पठाइरहेछु। तपाईंले त्‍यसको कुष्‍ठरोग निको पारिदिनुहोला।”

7 इस्राएलका राजाले त्‍यो चिट्ठी पढ्‌ने बित्तिकै आफ्‍ना लुगा च्‍यातेर भने, “के म परमेश्‍वर हुँ र? मार्न र जिउँदो पार्न सक्‍छु र? यस मानिसले किन त्‍यसको कुष्‍ठरोगबाट निको पार्न कसैलाई मकहाँ पठाउँछ? हेर त, त्‍यसले मसित झगड़ाको निहुँ खोज्‍दैछ!”

8 इस्राएलका राजाले आफ्‍ना लुगा च्‍यातेको कुरा जब परमेश्‍वरका जन एलीशाले सुने, तब तिनले राजालाई यो समाचार पठाए, “तपाईंले किन आफ्‍ना लुगा च्‍यात्‍नुभयो? मानिस यहाँ मकहाँ आओस्, र त्‍यसले इस्राएलमा एक जना अगमवक्ता रहेछन्‌ भनी जान्‍नेछ।”

9 यसैले नामान आफ्‍ना घोड़ाहरू र रथहरूका साथमा गए, र एलीशाका घरको ढोकामा अड़िए।

10 एलीशाले उनलाई यसो भन्‍न एउटा समाचारवाहक पठाए, “तिमी आफै गएर यर्दन नदीमा सात पल्‍ट डुबुल्‍की मार, र तिम्रो मासु ज्‍यूँका त्‍यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।”

11 तर नामान रिसाएर यसो भन्‍दै गइहाले, “मैले सोचेको थिएँ, तिनी बाहिर निस्‍किआएर परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ पुकारेर मेरो रोग भएको ठाउँमाथि हात हल्‍लाएर मेरो कुष्‍ठरोग निको पारिदिनेछन्‌ होला।

12 के दमस्‍कसका अबाना र फारपर नदीहरू इस्राएलको कुनै पानीभन्‍दा असल छैनन्‌ र? के म तिनमा नै धोएर शुद्ध हुन सक्‍दिनँ र?” यसैले उनी फर्केर रीसको झोँकमा गइहाले।

13 तर नामानका नोकरहरूले उनीकहाँ आएर उनलाई भने, “हे पिताज्‍यू, यदि अगमवक्ताले तपाईंलाई केही ठूलो कुरा गर्नुहोस्‌ भनी भन्‍नुभएको भए के तपाईं गर्नुहुनेथिएन र? उहाँले तपाईंलाई धोएर शुद्ध हुनुहोस्‌ भन्‍नुभएकोमा तपाईंले झन्‌ किन नगर्ने?”

14 यसैले उनी तल ओर्ले र परमेश्‍वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्‍ट स्‍वयम्‌ डुबुल्‍की मारे, र उनको मासु ज्‍यूँका त्‍यूँ भयो, जवान केटाको जस्‍तै भयो।

15 तब नामान र उनका नोकरहरू परमेश्‍वरका जनकहाँ फर्केर आए। उनी तिनको सामु खड़ा भएर भने, “अब मलाई थाहा भयो, कि इस्राएलमा बाहेक सारा संसारमा कुनै परमेश्‍वर हुनुहुन्‍न। कृपा गरी अब आफ्‍नो दासबाट केही उपहार लिनुहोस्‌।”

16 ती अगमवक्ताले जवाफ दिए, “जीवित परमप्रभु, जसको सेवा म गर्दछु, उहाँको नाउँमा शपथ खाएर म भन्‍दछु, म केही पनि ग्रहण गर्नेछैनँ।” त्‍यो लिनलाई नामानले तिनलाई कर लगाए, तापनि तिनले इन्‍कार गरे।

17 नामानले भने, “यदि तपाईं लिनुहुन्‍न भने, आफ्‍नो दासलाई दुई खच्‍चरको भारी माटो लान दिनुहोस्‌। किनकि अब फेरि कहिल्‍यै हजूरको दासले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई होमबलि र बलिदानहरू चढ़ाउनेछैनँ।

18 तर यो एउटा कुरामा मात्र परमप्रभुले तपाईंको दासलाई क्षमा गरून्‌: जब मेरा मालिक रिम्‍मोनको मन्‍दिरमा पूजा गर्नलाई मेरो हातमा भर परेर पस्‍नुहुन्‍छ र उहाँले त्‍यहाँ पूजा गर्दा म पनि निहुरन्‍छु, तब यसको निम्‍ति परमप्रभुले हजूरको दासलाई क्षमा गरून्‌।”

19 एलीशाले भने, “शान्‍तिसित जाऊ।” नामान आफ्‍नो यात्रामा अलिक परसम्‍म मात्र पुगेका थिए,

20 तब परमेश्‍वरका जन एलीशाको चाकर गेहजीले आफ्‍नो मनमा भन्‍यो, “मेरा मालिकले त यी अरामी नामानलाई उनले ल्‍याएका चीज नलिएर सजिलैसित पठाए। परमप्रभुका जीवनको शपथ खाएर म भन्‍छु, म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।”

21 यसैले गेहजी नामानको पछिपछि हतार-हतार गरी कुदेर गयो। जब नामानले त्‍यसलाई आफूतिर कुदेर आइरहेको देखे, तब त्‍यससित भेट गर्न उनी आफ्‍नो रथबाट ओर्लेर उनले सोधे, “के सबै ठीक छ?”

22 गेहजीले जवाफ दियो, “सबै ठीक छ। मेरा मालिकले मलाई यसो भनेर पठाउनुभएको छ, ‘एफ्राइमको पहाड़ी देशबाट अगमवक्ताको दलबाट दुई जना जवान मानिसहरू भर्खरै आएका छन्‌। कृपा गरी तिनीहरूलाई एक तोड़ा चाँदी र दुई जोर लुगा दिनुहोस्‌’।”

23 नामानले भने, “निश्‍चय, दुई तोड़ा लैजाऊ न।” उनले गेहजीलाई ती लान ढिपी गरे, अनि उनले ती दुई तोड़ा चाँदी र दुई जोर लुगा दुई वटा थैलामा बाँधिदिए। उनले आफ्‍ना दुई जना नोकरलाई ती दिए, र ती बोकेर उनीहरू गेहजीको अगिअगि हिँड़े।

24 जब गेहजी डाँड़ामा आइपुग्‍यो, तब त्‍यसले ती चीज ती दुई नोकरबाट लिएर घरमा राख्‍यो। त्‍यसले उनीहरूलाई बिदा गर्‍यो, र उनीहरू गइहाले।

25 तब त्‍यो भित्र गएर आफ्‍ना मालिक एलीशाको सामुन्‍ने खड़ा भयो। एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्‌?” गेहजीले जवाफ दियो, “हजूरको चाकर कतै पनि गएको थिएन।”

26 तर एलीशाले त्‍यसलाई भने, “जब ती मानिस आफ्‍नो रथबाट ओर्लेर तँलाई भेट्‌न फर्कंदा के मेरो आत्‍मा तँसित थिएन र? रुपियाँपैसा वा लुगा लिने, वा भद्राक्षका बोटहरू, दाखबारीहरू, भेड़ा-बाख्राहरू, गाई-गोरुहरू र कमारा-कमारीहरू ग्रहण गर्ने यो समय हो र?

27 नामानको कुष्‍ठरोग तँ र तेरा सन्‍तानमा सधैँको लागि टाँसिरहनेछ।” तब गेहजी तिनको सामुन्‍नेबाट गइहाल्‍यो, र त्‍यो हिउँजस्‍तै सेतो कुष्‍ठरोगी भयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy