Online Bible

- Reklamy -

२ राजा 21 - नेपाली नयाँ संशोधित संस्करण


यहूदाका राजा मनश्शे

1 जब मनश्‍शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हेप्‍सीबा थियो।

2 इस्राएलीहरूका सामुन्‍नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्‍दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

3 तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्‍गा-अल्‍गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्‍ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्‍बा पनि बनाए। तिनले आकाशका सारा तारामण्‍डललाई घोप्‍टो परेर दण्‍डवत्‌ गरे।

4 तिनले परमप्रभुको मन्‍दिरमा वेदीहरू बनाए, जुन मन्‍दिरको विषयमा परमप्रभुले भन्‍नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्‍नेछु।”

5 परमप्रभुको मन्‍दिरका दुवै चोकमा तिनले आकाशका तारामण्‍डलको निम्‍ति वेदीहरू बनाए।

6 तिनले आफ्‍नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्‍टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।

7 आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्‍यस मन्‍दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्‍नुभएको थियो, “यस मन्‍दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्‍ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्‍नेछु।

8 यदि तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा गर्न होशियारी गरे र मेरो दास मोशाले तिनीहरूलाई दिएका सारा व्‍यवस्‍था पालन गरे भने, मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूका खुट्टा फेरि यताउता घुमफिर गर्न म दिनेछैनँ।”

9 तर मानिसहरूले ध्‍यानै दिएनन्‌। मनश्‍शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्‍ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्‍दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे।

10 परमप्रभुले आफ्‍ना दास अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो:

11 “यहूदाका राजा मनश्‍शेले यी घिनलाग्‍दा कामहरू गरेको छ। त्‍यसले आफ्‍ना अघि-अघिका एमोरीहरूले भन्‍दा ज्‍यादा घिनलाग्‍दा कामहरू गरेको छ, र आफ्‍ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ।

12 यसकारण परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: म यरूशलेम र यहूदामाथि यस्‍तो सर्वनाश ल्‍याउनेछु, कि सुन्‍ने हरेकका कानमा त्‍यसको गुञ्‍जन हुनेछ।

13 सामरियाको विरुद्धमा प्रयोग गरेको टाँगोले र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्‍नेछु। जसरी मानिसले थाल माझेर घोप्‍ट्याइराख्‍छ, त्‍यसरी नै म यरूशलेमलाई माझ्‍नेछु।

14 मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्‍यागिदिनेछु, र तिनीहरूलाई आफ्‍नै शत्रुहरूका हातमा सुम्‍पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन्‌ र जबरदस्‍तसाथ खोसिनेछन्,

15 किनभने तिनीहरूले मेरो दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्‍म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्‌।

16 यसबाहेक मनश्‍शेले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्‍म भरिएको थियो। अनि तिनले यहूदालाई पाप गर्न लाएका थिए, र तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब छ, त्‍यही गरे।

17 मनश्‍शेको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पापसमेत के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

18 मनश्‍शे आफ्‍ना पित्रहरूसित सुते, र आफ्‍नै उज्‍जाको बगैँचामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आमोन राजा भए।


यहूदाका राजा आमोन

19 जब आमोन राजा भए तब तिनी बाईस वर्षका थिए, र तिनले यरूशलेममा दुई वर्ष राज्‍य गरे। तिनकी आमाको नाउँ हारूसकी छोरी मशुल्‍लेमेत थियो। तिनी योत्‍बाकी थिइन्‌।

20 तिनका पिता मनश्‍शेले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे।

21 तिनी आफ्‍ना पिताका सबै चालहरूमा हिँड़े, र तिनका पिताले पुजेका मूर्तिहरूको सामु घोप्‍टो परेर पूजा गरे।

22 तिनले परमप्रभु आफ्‍ना पिता-पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्‌।

23 आमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे, र राजालाई तिनकै राजमहलमा हत्‍या गरे।

24 तब देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्‌यन्‍त्र गर्ने सबैलाई मारे, र तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा तुल्‍याए।

25 आमोनको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

26 तिनी उज्‍जाको बगैँचामा भएको आफ्‍नै चिहानमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योशियाह राजा भए।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy