२ राजा 11 - नेपाली नयाँ संशोधित संस्करणअतल्याह र योआश 1 जब अहज्याहकी आमा अतल्याहले आफ्ना छोरा मरेका देखिन्, तब सबै राजघरानालाई नष्ट पार्न तिनी कारबाही गर्न लागिन्। 2 तर यहोराम राजाकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले अहज्याहका छोरा योआशलाई मारिन लागेका राजकुमारहरूका बीचबाट सुटुक्क भगाएर लगिन्। तिनले त्यसलाई र त्यसकी धाईलाई अतल्याहबाट लुकाउनलाई एउटा सुत्ने कोठामा लुकाइराखिन्, र यसरी त्योचाहिँ मारिएन। 3 अतल्याहले देशमा शासन गर्दा यसरी त्यो आफ्नो धाईसित परमप्रभुको मन्दिरमा छ वर्षसम्म लुकेर बस्यो। 4 सातौँ वर्षमा यहोयादाले एक सयको दलका कप्तानहरू, करीहरू र पहरादारहरूलाई बोलाएर परमप्रभुको मन्दिरमा ल्याउन पठाए। तिनले तिनीहरूसँग एउटा करार बाँधे, र तिनीहरूलाई परमप्रभुको मन्दिरमा शपथ खान लाए। तब तिनले तिनीहरूलाई राजाका छोरा देखाइदिए। 5 तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो गर्नुपर्छ: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्छौ— तिमीहरूमध्ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने, 6 एक-तिहाइ सूर ढोकामा बस्ने, र मन्दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा बस्ने— 7 अनि तिमीहरू जो अरू दुई दलमा छौ जसले साधारणतया शबाथमा खटाइएका कामबाट फुर्सत पाउँछौ, तिमीहरू सबैले चाहिँ राजाका निम्ति मन्दिरको रक्षा गर्नू। 8 तिमीहरू हरेक मानिस आ-आफ्नो हतियार हातमा लिएर राजाको वरिपरि तैनाथ गर्नू। तिमीहरूका नजिक आउने जोसुकैलाई पनि मारिहाल्नू। राजा जहाँ गए तापनि तिमीहरू तिनको नजिकै रहनुपर्छ।” 9 यहोयादा पूजाहारीले हुकुम गरेबमोजिम नै एक-एक सयको दलका कप्तानहरूले गरे। हरेकले आ-आफ्ना मानिसहरू लिए— शबाथको काममा खटाइएकाहरू र काम सकेर फुर्सत पाएकाहरू दुवै— यहोयादा पूजाहारीकहाँ आए। 10 तब तिनले कप्तानहरूलाई परमेश्वरको मन्दिरमा भएका दाऊदका भालाहरू र ढालहरू दिए। 11 ती अङ्गरक्षकहरू हरेक आ-आफ्नो हतियार हातमा लिई वेदी र मन्दिर नजिकै मन्दिरको दक्षिणपट्टिबाट उत्तरपट्टिसम्मै राजालाई घेरेर बसे। 12 तब यहोयादाले राजाका छोरालाई बाहिर ल्याए, र तिनको शिरमा शिरपेच राखिदिए। यहोयादाले तिनलाई करारको एउटा साक्षी-पत्र चढ़ाए, र तिनलाई राजा घोषणा गरे। तिनीहरूले तिनलाई अभिषेक गरे, र मानिसहरूले ताली बजाए, र यसो भनी कराए, “राजा अमर रहून्।” 13 जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरू कराएको आवाज सुनिन्, तब तिनी परमप्रभुको मन्दिरमा भएका मानिसहरूकहाँ गइन्। 14 तिनले हेरिन्, र दस्तूरअनुसार राजालाई स्तम्भको छेउमा उभिएका देखिन्। अधिकृतहरू र तुरही फुक्नेहरू राजाको छेउमा थिए, र देशका जम्मै मानिसहरू तुरही फुक्दै आनन्द मनाइरहेका थिए। तब अतल्याहले आफ्ना लुगा च्यातिन्, र कराएर भनिन्, “राजविद्रोह! राजविद्रोह!” 15 यहोयादा पूजाहारीले एक-एक सयको दलका कप्तानहरूलाई यसो भनेर हुकुम दिए, “तिनलाई मन्दिरको बाहिर ल्याओ, र तिनको पछि लाग्नेहरू सबैलाई तरवारले मार।” किनकि “तिनी परमप्रभुको मन्दिरमा नमारिऊन्” भनी पूजाहारीले भनेका थिए। 16 यसैले तिनी राजमहलका घोड़ाहरू पस्ने ठाउँमा पुग्दा तिनीहरूले तिनलाई समाते, र त्यहीँ नै तिनलाई मारे। 17 त्यसपछि यहोयादाले तिनीहरू परमप्रभुको प्रजा होऊन् भनी परमप्रभु, राजा र प्रजाका बीचमा करार बाँधे। तिनले राजा र प्रजाका बीचमा पनि एउटा करार बाँधे। 18 देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यो भत्काइदिए। तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरूलाई टुक्रा-टुक्रा पारे, र बालको पूजाहारी मत्तानलाई वेदीहरूका अगि मारे। तब यहोयादा पूजाहारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे। 19 तिनले आफूसित सय-सयका दलका कप्तानहरू, करीहरू, पहरादारहरू र देशका सबै मानिसहरूलाई लिएर राजालाई पहरा ढोका भएर परमप्रभुको मन्दिरबाट राजमहलभित्र ल्याए। तब राजा राजगद्दीमा बसे, 20 र देशका सारा मानिसहरू आनन्दित भए। अनि सहरमा शान्ति भयो, किनभने अतल्याह राजमहलमा तरवारले मारिएकी थिइन्। 21 जब योआश राजा भए तब तिनी सात वर्षका थिए। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society