२ कोरिन्थी 8 - नेपाली नयाँ संशोधित संस्करणउद्धारताको निम्ति प्रोत्साहन 1 भाइ हो, माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौं। 2 कष्टको भयङ्कर परीक्षाको बीचमा पनि प्रशस्त आनन्द र घोर दरिद्रतामा तिनीहरूले उदार-चित्तले दान दिए। 3 किनकि म गवाही दिन्छु, कि तिनीहरूले आफ्नो औकातअनुसार र औकातभन्दा बढ़ी पनि आफ्नै राजीखुशीले दिए। 4 तिनीहरूले सन्तहरूका सहायताको निम्ति भाग लिन पाऔं भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। 5 हामीले अपेक्षा गरेबमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्वरको इच्छाअनुसार हामीलाई दिए। 6 यसैले तीतसले अघिबाटै सुरु गरेका हुनाले तिमीहरूका माझमा पनि त्यो असल काम समाप्त गरून् भनेर हामीले तिनलाई बिन्ती गर्यौं। 7 तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ। 8 मैले यो आज्ञाको रूपमा भनेको होइनँ, तर अरूहरूको जोशसँग तुलना गरेर तिमीहरूको प्रेम पनि साँचो हो भन्ने प्रमाणित गर्नलाई मैले यो भनेको हुँ। 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ, उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरीब हुनुभयो, ताकि उहाँको गरीबीबाट तिमीहरू धनी हुन सक। 10 अब यस विषयमा चाहिँ मेरो सल्लाह यही छ— एक वर्षअघि जुन दिने काम तिमीहरूले सुरु गरेका मात्र होइन, तर त्यो गर्ने उत्कट इच्छा पनि गरेका थियौ, त्यसलाई अब पूरा गर्नु तिमीहरूका निम्ति असल हुन्छ। 11 इच्छा गर्नमा तिमीहरूको जुन तत्परता थियो त्यसैमुताबिक आफ्नो औकातअनुसार दिएर यस कामलाई पूरा गर। 12 किनभने दिने तत्परता छ भने मानिससित भए अनुसारको दान नै ग्रहणयोग्य हुन्छ, नभएअनुसारको होइन। 13 तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर मैले यो भनेको होइनँ, 14 तर समानताको हिसाबले यस वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको अभाव पूरा होस्, र तिनीहरूको प्रशस्तताले तिमीहरूको अभाव पूरा गरिदेओस्। यसरी सबैमा समानता होस्, 15 जसो लेखिएको छ, “धेरै बटुल्नेसित बढ़ी केही रहेन, र कम बटुल्नेहरूलाई अभाव भएन।” तीतस कोरिन्थमा 16 तर परमेश्वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूका निम्ति त्यही फिक्री राखिदिनुभयो। 17 किनकि तिनले हाम्रो अनुरोधलाई मानेको मात्र होइन, तर आफै पनि साह्रै उत्साही भएर आफ्नै इच्छाले तिमीहरूकहाँ आउँदैछन्। 18 अनि हामी तिनीसँग त्यस भाइलाई पठाउँदैछौं, जो सुसमाचारको प्रचारमा सबै मण्डलीका बीचमा प्रख्यात छन्। 19 अनि यति मात्र होइन, तर प्रभुका महिमाको निम्ति र हाम्रो सद्भाव प्रकट गर्न हामीले गरिरहेको असल काममा हामीसँग यात्रा गर्न मण्डलीद्वारा तिनी नियुक्त भएका छन्। 20 उदार-चित्तले दिएको यो दान सञ्चालन गर्दा त्यस विषयमा कसैले हामीलाई दोष नदेओस् भन्ने हामी चाहन्छौं। 21 किनकि हामी प्रभुको दृष्टिमा मात्र होइन, तर मानिसहरूका दृष्टिमा पनि जे आदरणीय छ त्यो गर्ने लक्ष्य राख्दछौं। 22 तिनीहरूसँग हाम्रा भाइलाई पठाउँदैछौं, जसलाई हामीले धेरै पल्ट जाँचेर धेरै कुरामा जोशिला भेट्टाएका छौं। तिमीहरूप्रति भएको तिनको ठूलो भरोसाले गर्दा तिनी अझ बढ़ी जोशिला भएका छन्। 23 तीतसचाहिँ मेरा सहभागी र तिमीहरूको सेवामा मेरा सहकर्मी हुन्, र भाइहरूचाहिँ मण्डलीहरूका दूतहरू र ख्रीष्टका महिमा हुन्। 24 तिमीहरूको प्रेम र तिमीहरूका विषयमा गरिएको हाम्रो गर्वको प्रमाण मण्डलीहरूको सामुन्ने यी मानिसहरूलाई देओ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society