२ कोरिन्थी 7 - नेपाली नयाँ संशोधित संस्करण1 यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं। पावलको आनन्द 2 हामीलाई तिमीहरूका हृदयमा स्थान देओ। हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्ट पारेका छैनौं। हामीले कुनै व्यक्तिबाट फाइदा उठाएका छैनौं। 3 तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइनँ, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रा हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ, कि हामी तिमीहरूका साथमा मर्न वा बाँच्न तयार छौं। 4 तिमीहरूमा मेरो ठूलो भरोसा छ। तिमीहरूमाथि म औधी गर्व गर्दछु। म सान्त्वनाले परिपूर्ण छु। हाम्रा सबै कष्टहरूमा म अति आनन्दित छु। 5 किनकि हामी माकेडोनियामा आएपछि पनि हाम्रा शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई सङ्कष्ट आइपरेको थियो, बाहिर सङ्घर्ष र भित्र डरैडर थियो। 6 तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। 7 तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्दित भएँ। 8 मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिनँ, हुन त मलाई पछितो भएकै थियो। मलाई थाहा भयो, कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्यायो। 9 तिमीहरूलाई शोक भयो भनेर म खुशी भएको होइनँ, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चात्तापी बनायो भनेर हो, किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यौ, र हामीतर्फबाट तिमीहरूले केही नोक्सानी सहनुपरेन। 10 किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चात्ताप उत्पन्न गर्छ, र त्यसमा पछितो हुँदैन, तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ। 11 किनकि हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ— आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् भन्ने कस्तो इच्छा! सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ। 12 मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारणले लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामीप्रति तिमीहरूको उत्साह कस्तो छ, सो तिमीहरूलाई थाहा होस्। 13 यसैकारण हामीलाई सान्त्वना मिलेको छ। हामीले पाएको आफ्नै सान्त्वनाबाहेक तीतसको आनन्दमा हामी बढ़ी रमायौं, किनकि तिमीहरूद्वारा तिनको मनलाई शान्ति मिलेको छ। 14 किनभने तिनको सामु तिमीहरूका बारेमा मैले केही घमण्ड गरेको थिएँ भने मलाई त्यसमा केही शर्म भएन। तर जसरी हामीहरूले तिमीहरूलाई भनेका सबै कुरा सत्य थिए, त्यसरी नै तीतसको सामने हामीले गरेका घमण्ड पनि सत्य ठहरिएको छ। 15 तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले डर र कम्पसाथ तिनलाई गरेको स्वागत सम्झदा तिनको भित्री स्नेह तिमीहरूप्रति झन् बढ़ेर आउँछ। 16 म रमाउँदछु, किनकि तिमीहरूमाथि मेरो पूरा भरोसा छ। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society