Online Bible

- Reklamy -

२ कोरिन्थी 5 - नेपाली नयाँ संशोधित संस्करण


हाम्रो स्‍वर्गीय वासस्थान

1 किनभने हामी जान्‍दछौं, कि हामीले वास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्‍वर्गमा अनन्‍तसम्‍म रहने परमेश्‍वरले दिनुभएको हाम्रो घर छ, जो हातले बनाइएको होइन।

2 यहाँ वास्‍तवमा हामी व्‍याकुल बन्‍छौं, र स्‍वर्गीय डेरा धारण गर्ने उत्‍कट इच्‍छा गर्छौं,

3 किनभने त्‍यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं।

4 किनकि यस डेरामा हुँदा चिन्‍ताले हामी सुस्‍केरा हाल्‍छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्‍त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्‍यो जीवनमा समावेश होस्‌।

5 अब हामीलाई यस कुराको निम्‍ति तयार पारिदिने परमेश्‍वर नै हुनुहुन्‍छ, जसले हामीलाई बैनाको रूपमा पवित्र आत्‍मा दिनुभएको छ।

6 यसकारण हामीलाई सम्‍पूर्ण भरोसा छ। हामी जान्‍दछौं, कि हामी जबसम्‍म शरीरमा रहन्‍छौं, तबसम्‍म प्रभुबाट अलग हुन्‍छौं।

7 किनकि हामी विश्‍वासद्वारा हिँड्‌छौं, देखिने कुराको आधारमा होइन।

8 हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्‍छौं।

9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्‍न तुल्‍याउनु नै हाम्रो लक्ष्य हुन्‍छ।

10 किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।


मिलापको सेवा

11 यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं। तर हामी जे छौं परमेश्‍वरले जान्‍नुहुन्‍छ, र म आशा गर्दछु, त्‍यो तिमीहरूका विवेकमा पनि प्रष्‍टै होला।

12 हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गर्दैनौं, तर तिनीहरूलाई हामीमा गर्व गर्ने मौका दिइरहेछौं, ताकि तिमीहरूले तिनीहरूलाई जवाफ दिन सक, जसले मानिसका हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्‍ड गर्छन्‌।

13 यदि हाम्रो होश ठेगानामा छैन भने यो परमेश्‍वरको निम्‍ति हो, अनि यदि हामी ठीक होशमा छौं भने यो तिमीहरूका निम्‍ति हो।

14 ख्रीष्‍टको प्रेमले हामीलाई बाध्‍य गराउँछ, किनभने हामीलाई यो निश्‍चय छ, कि सबैका निम्‍ति एक जना मर्नुभएको हुनाले सबै मरे।

15 उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून्, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।

16 यसरी अब उप्रान्‍त हामी कसैलाई मानिसको दृष्‍टिकोणले हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय मानिसको दृष्‍टिकोणले हेरेका थियौं, तर अब उप्रान्‍त उहाँलाई त्‍यसरी हेर्नेछैनौं।

17 यसकारण कोही ख्रीष्‍टमा छ भने त्‍यो नयाँ सृष्‍टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ।

18 यो सब परमेश्‍वरबाट भएको हो, जसले हामीलाई ख्रीष्‍टद्वारा आफूसँग मिलापमा ल्‍याउनुभयो, र हामीलाई मिलापको सेवा दिनुभयो,

19 अर्थात्‌ स्‍वयम्‌ ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो। तिनीहरूका अपराधका लेखा नलिएर मिलाप गराउने कामको सन्‍देश उहाँले हामीलाई सुम्‍पिदिनुभएको छ।

20 यसकारण हामी ख्रीष्‍टका राजदूतहरू हौं, र परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभएको छ। ख्रीष्‍टकै पक्षमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं, कि तिमीहरू परमेश्‍वरसँग मिलापमा आओ।

21 किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो।

Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012 

Nepal Bible Society
Následuj nás:



Reklamy