२ कोरिन्थी 13 - नेपाली नयाँ संशोधित संस्करणआखिरी चेताउनी 1 तेस्रो पल्ट म तिमीहरूकहाँ आउनेछु। कुनै पनि दोष दुई वा तीन साक्षीहरूका गवाहीद्वारा साबित गरिनुपर्छ। 2 दोस्रो पटक तिमीहरूका बीचमा हुँदा मैले तिमीहरूलाई चेताउनी दिएजस्तै अब अनुपस्थिति हुँदा पनि म तिमीहरूलाई चेताउनी दिँदैछु। म फेरि आउँदा अघिअघि पाप गर्नेहरू र अरू कसैलाई पनि म छोड्नेछैनँ— 3 किनकि ख्रीष्ट ममा बोल्नुहुन्छ भन्ने प्रमाण तिमीहरू चाहन्छौ। तिमीहरूसँगको व्यवहारमा उहाँ दुर्बल हुनुहुन्न, तर उहाँ तिमीहरूमा शक्तिशाली हुनुहुन्छ। 4 किनभने दुर्बलतामा उहाँ क्रूसमा टाँगिनुभयो, तर परमेश्वरको शक्तिमा उहाँ जीवित हुनुहुन्छ। यसरी हामी उहाँसँग दुर्बल हुन्छौं, तर तिमीहरूसँगको हाम्रो व्यवहारमा परमेश्वरको शक्तिद्वारा हामी उहाँसँग जिउनेछौं। 5 तिमीहरू विश्वासमा दह्रिला छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर हेर। आफैलाई जाँच। जाँचमा असफल भएनौ भने येशू ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा हुनुपर्ने हो! 6 म आशा गर्दछु, कि हामी असफल भएका छैनौं भन्ने तिमीहरू थाहा पाउनेछौ। 7 तर हामी परमेश्वरमा प्रार्थना गर्दछौं, कि तिमीहरू केही खराबी नगर। हामी जाँचमा उत्तीर्ण भएका जस्तो देखा पर्ने होइन। हामीहरू असफल भएजस्तो देखिए तापनि तिमीहरूले चाहिँ जे असल छ सो गर। 8 किनकि हामी सत्यको विरुद्धमा केही गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं। 9 किनभने हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी आनन्दित हुन्छौं। तिमीहरूका प्रगतिको निम्ति नै हामी प्रार्थना गर्छौं। 10 तिमीहरूबाट अलग हुँदा म यो लेख्दैछु, यस हेतुले कि तिमीहरूकहाँ आउँदा प्रभुले मलाई दिनुभएको अधिकार कठोरतासाथ मैले प्रयोग गर्नु नपरोस्। त्यो त उहाँले बनाउनका निम्ति दिनुभएको हो, भत्काउनका निम्ति होइन। आखिरी अभिवादन 11 अन्त्यमा भाइ हो, अब बिदा पाऊँ। सिद्धताको लक्ष्य राख। सान्त्वना पाओ। एक-अर्कासँग सहमत होओ। शान्तिमा रहो, र प्रिय र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ। 12 एउटाले अर्कोलाई पवित्र चुम्बनले अभिवादन गर। 13 सबै सन्तहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। 14 प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society