२ कोरिन्थी 12 - नेपाली नयाँ संशोधित संस्करणपावलको दर्शन र तिनको काँढो 1 मैले गर्व गर्नैपर्छ। तर यसबाट लाभ केही नभए तापनि, प्रभुबाट पाएका दर्शनहरू र प्रकाशहरूका कुरा म गरिरहेछु। 2 ख्रीष्टमा म एक जना मानिसलाई चिन्दछु, जो चौध वर्षअघि तेस्रो स्वर्गसम्म उचालिलगियो। ऊ शरीरमै लगियो कि शरीरविनै, सो म जान्दिनँ, परमेश्वर जान्नुहुन्छ। 3 म यस मानिसलाई चिन्दछु, शरीरमा हो कि विनाशरीरमा, त्यो मलाई थाहा छैन, तर त्यो मानिस स्वर्गलोकमा उचालिलगियो, यो कुरा परमेश्वर जान्नुहुन्छ। 4 र त्यहाँ बताउनु नहुने कुराहरू उसले सुन्यो, जुनचाहिँ मानिसले उच्चारणसम्म पनि गर्नुहुँदैन। 5 यस मानिसको पक्षमा म गर्व गर्नेछु, तर आफ्नै पक्षमा भने मेरो कमजोरीबाहेक अरू कुरामा म गर्व गर्नेछैनँ। 6 यदि मैले गर्व गर्ने इच्छा नै गरे भने पनि म मूर्ख बन्नेछैनँ, किनकि म सत्य बोलिरहेको हुनेछु। तर मानिसले ममा देखेको र मबाट सुनेको भन्दा बढ़ी कसैले मलाई नठानोस् भनेर म गर्व गर्नदेखि थामिन्छु। 7 तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो। 8 यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरें। 9 तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु। 10 यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु। कोरिन्थीहरूका निम्ति पावलको चिन्ता 11 म मूर्ख भएको छु। तिमीहरूले मलाई यसो गर्नु कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्नेथियो। किनभने म केही नभए तापनि सर्वोच्च प्रेरितहरूभन्दा म तुच्छ छैनँ। 12 साँचो प्रेरितका लक्षणहरूचाहिँ पूरा धैर्यसाथ, चिन्हहरू, चमत्कारहरू र शक्तिका कामहरूद्वारा तिमीहरूका बीचमा प्रकट गरिएका थिए। 13 अरू सबै मण्डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगाह पायौ? हो, एउटा कुरामा चाहिँ तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूका निम्ति बोझ बनिनँ। 14 अब तेस्रो पल्ट तिमीहरूकहाँ आउन म तयार छु। म तिमीहरूका निम्ति बोझ हुनेछैनँ, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने आमा-बुबाको निम्ति छोरा-छोरीले होइन, तर छोरा-छोरीका निम्ति पो आमा-बुबाले सञ्चय गर्नुपर्छ। 15 म तिमीहरूका निम्ति ज्यादै खुशीसाथ खर्च गर्नेछु, र स्वयम् आफै पनि खर्चनेछु। यदि मैले तिमीहरूलाई बढ़ी प्रेम गरें भने, के मैले चाहिँ कम्ती प्रेम पाउने? 16 मैले तिमीहरूलाई बोझ बोकाइनँ, यो ठीकै हो, तर मैले चलाकी गरेर तिमीहरूलाई फसाएँ भनी तिमीहरू भन्छौ। 17 मैले तिमीहरूकहाँ पठाएकाहरूमध्येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथें र? 18 मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं? 19 के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्जेल तिमीहरूका सामु हामी आफ्नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्वरको सामुन्ने ख्रीष्टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्ति हो। 20 किनभने म आउँदा मैले इच्छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। शायद त्यहाँ झगड़ा, डाह, क्रोध, स्वार्थ, बदख्वाइँ, निन्दो-चर्चो, अभिमान र गोलमाल हुन्छ होला। 21 मलाई डर लाग्छ, कि म फेरि आउँदा मेरा परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याइदिनुहुनेछ, र धेरै जनाका निम्ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्यभिचार र छाडापनबाट पश्चात्ताप गरेका छैनन् होला। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society