२ कोरिन्थी 11 - नेपाली नयाँ संशोधित संस्करणपावल र झूटा प्रेरितहरू 1 तिमीहरूले मेरो थोरै मूर्खता सहिदिए पनि हुने! कृपया सहिदेओ! 2 ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ। 3 तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ। 4 किनकि यदि कुनै व्यक्ति आएर हामीले प्रचार गरेका भन्दा अर्कै येशूलाई प्रचार गर्यो भने, अथवा तिमीहरूले पाएका आत्माभन्दा अर्कै आत्मा तिमीहरूले ग्रहण गर्यौ भने, वा तिमीहरूले पाएका सुसमाचारभन्दा अर्कै कुनै सुसमाचार ग्रहण गर्यौ भने, तिमीहरू यी सबका सामु सजिलै झुक्दारहेछौ। 5 कुनै कुरामा म ती सर्वोच्च प्रेरितहरूभन्दा कत्ति पनि कम छैन। 6 म सिपालु वक्ता नभए तापनि ममा ज्ञानको कमी छैनँ। यो कुरा हामीले हरकिसिमले तिमीहरूलाई सफासँग देखाइदिएका छौं। 7 आफूलाई होच्याएर तिमीहरूलाई चाहिँ उच्च पारूँ भनी परमेश्वरको सुसमाचार मैले तिमीहरूलाई सित्तैँमा सुनाउँदा के मैले पाप गरें त? 8 तिमीहरूको सेवा गर्न अरू मण्डलीहरूबाट आर्थिक सहायता लिएर मैले ती मण्डलीहरूलाई लुटें। 9 तिमीहरूसँग रहँदा जब मलाई अभाव परेको थियो म कसैको बोझ भइनँ, किनभने माकेडोनियाबाट आएका भाइहरूले मेरो अभाव पूरा गरिदिए। यसैले कुनै किसिमले तिमीहरूमाथि बोझ पर्ला कि भनेर मैले आफैलाई रोकें, र पछि पनि रोक्नेछु। 10 ख्रीष्टको सत्यता ममा छ, र अखैयाका इलाकाहरूमा मेरो यस गर्वलाई कसैले रोक्न सक्नेछैन। 11 किन? के म तिमीहरूलाई प्रेम गर्दिनँ भनेर हो र? परमेश्वर जान्नुहुन्छ, कि म तिमीहरूलाई प्रेम गर्छु! 12 म जे काम गरिरहेछु सो गरी नै रहनेछु, ताकि ती मानिसहरूको दाबीलाई काट्न सकूँ, जुनहरूले धाकसँग गरेका सेवा-कर्मलाई हाम्रै समान छ भनी भन्छन्। 13 किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्। 14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ। 15 यसकारण यो कुनै अनौठो कुरा होइन, कि त्यसका दासहरूले पनि धार्मिकताका दासहरूका रूपमा आफ्नो भेष बद्लन्छन्। तिनीहरूको अन्त्य तिनीहरूका कामअनुसार हुन्छ। पावलका कष्टहरू 16 म फेरि भन्दछु, कुनै मानिसले मलाई मूर्ख नसम्झोस्। तर तिमीहरू त्यस्तो सम्झन्छौ भने पनि मूर्खलाई झैँ मलाई ग्रहण गर, ताकि म पनि केही घमण्ड गर्न सकूँ। 17 मेरो यस घमण्डको निश्चयमा, म प्रभुको अधिकारमा होइन, तर मूर्खझैँ बोलिरहेछु। 18 धेरैले सांसारिक कुराहरूमा घमण्ड गरेका हुनाले म पनि घमण्ड गर्दछु। 19 तिमीहरू आफै यति बुद्धिमान् भएछौ कि खुशीसाथ मूर्खहरूलाई सहँदारहेछौ। 20 किनकि यदि कुनै मानिसले तिमीहरूलाई कमारा तुल्याउँछ, वा तिमीहरूलाई आफ्नो शिकार बनाउँछ, वा तिमीहरूबाट फाइदा उठाउँछ, अथवा धाक जमाउँछ, वा तिमीहरूलाई मुखैमा थप्पड़ लाउँछ भने पनि तिमीहरू सब सहँदारहेछौ। 21 म लज्जित भएर स्वीकार गर्छु, कि हामीले चाहिँ यी सब सहन सकेनौं। तर कसैले कुनै कुरामा घमण्ड गर्छ भने, म पनि ती कुरामा घमण्ड गर्छु। हो, म मूर्खझैँ बोल्दैछु। 22 के तिनीहरू हिब्रू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तान हुन्? म पनि हुँ। 23 के तिनीहरू ख्रीष्टका सेवक हुन्? म अझ असल सेवक हुँ— पागलझैँ म बोलिरहेछु। मैले ज्यादै परिश्रम गरें। कैदमा अझ धेरै पल्ट परें। अनगिन्ती कोर्रा खाएँ। मृत्युको मुखमा बारम्बार परें। 24 पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ। 25 तीन पल्ट मलाई लौराले पिटे। एक पल्ट ढुङ्गाले हाने। तीन पल्ट म चढ़ेको जहाज ध्वस्त भयो। एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु। 26 मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परें, डाँकूहरूका जोखिममा, आफ्नै जातिका मानिसहरूका जोखिममा, अन्यजातिहरूका जोखिममा, सहरको जोखिममा, उजाड-स्थानको जोखिममा, समुद्रको जोखिममा, झूटा भाइहरूबाट आउने जोखिममा। 27 परिश्रममा र कष्टमा, कति-कति अनिदो रातमा, भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परें। 28 अनि अरू कुराहरूबाहेक सबै मण्डलीहरूका फिक्रीको बोझ ममाथि छ। 29 को दुर्बल छ र मचाहिँ छैनँ? को पापमा फसाइएको छ र मचाहिँ व्याकुल हुँदिनँ? 30 मैले गर्व गर्नु नै पर्ने हो भने, म आफ्नो कमजोरी देखाउने कुराहरूमा गर्व गर्नेछु। 31 प्रभु येशूका परमेश्वर र पिता, जो सदासर्वदा धन्य हुनुहुन्छ, उहाँले जान्नुहुन्छ, कि म ढाँट्दिनँ। 32 दमस्कसमा अरितस राजाका हाकिमले मलाई पक्रन दमस्कस सहरमा पहरा राखेका थिए। 33 तर पर्खालको एउटा झ्यालबाट डालोमा राखेर मलाई तल झारिदिएको हुनाले म तिनका हातबाट उम्कें। |
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012
Nepal Bible Society